चितवन । आज दिनभरको छलफलबाट निकास नआएपछि नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक भोलि बिहान १० बजे बस्ने भएको छ ।
आज बैठक बस्ने भनिएपनि बेलुका अबेरसम्म अनौपचारिक छलफलबाट संसदीय दलको नेता चयनका विषयमा केन्द्रीय प्रतिनिधिले सांसदहरूबीच सहमति जुटाउन नसकेपछि भोलि १० बजे बैठक बस्ने निर्णय भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार अहिलेसम्म सहमति नभएपछि भोलि १० बजे बैठक बस्ने निर्णय भएको हो ।
उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘९ आज अहिलेसम्म सहमति हुन सकेन । भोलि १० बजे संसदीय दलको नेता चयनको औपचारिक प्रक्रिया थालनी हुनेगरि बैठक बस्ने निर्णय भएको छ ।’
प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरूले आफ्नै मुख्यमन्त्री विरुद्ध दिएको अविश्वासको प्रस्तावपछि संसदीय दलको नेता टुङ्गो लगाउन आज दिनभर अनौपचारिक छलफल भएको थियो ।
प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रवार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
त्यसपछि अन्योल परिस्थितिमा आइतबारदेखि नै छलफल गरेर मिलाउन भनेर केन्द्रीय समितिबाट राजन केसीलाई केन्द्रीय प्रतिनिधि पठाइएको छ । उनको भूमिकामाथि इन्द्र बानियाँ नेतृत्वको सांसदको समूहले आपत्ति जनाएका थिए ।
मुख्य मन्त्री लामाले हस्ताक्षर गरेका सांसदसहित केही पूर्व मन्त्रीलाई नै पुनः मन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने कसरत गरेपनि सफल हुन नसकेको कांग्रेस स्रोतले नै बताएको छ । सांसदहरुबीच अनौपचारिक छलफल भने भइरहने र सकेसम्म अझै सहमतिको प्रयास गरिने पनि तामाङले जानकारी दिए ।
‘१० बजेको बैठकमा भने मिलाउने प्रयत्न गरिँदैन,’ उनले भने, ‘९ सांसदहरूको हस्ताक्षर भेरिफाइ गर्ने र प्रक्रियामा बैठक अघि बढ्छ ।’
बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन् । बहादुर सिंह लामाको मुख्य मन्त्री काल निरन्तर चल्न हस्ताक्षर बुझाउने मध्ये ३ जना सांसदले उनको पक्षमा मतदान गर्नुपर्छ ।

Leave a Reply