काठमाडौं, – नेकपा (एमाले) ले स्थानीय तहका उपनिर्वाचनको समग्र समीक्षा गर्दै आगामी निर्वाचनका लागि सचेत रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ। यही साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि–१२) मार्फत यस्तो निर्देशन दिइएको हो।
अपानिमा स्थानीय तहका उपनिर्वाचनमा एमालेले पहिले जितेका सातमध्ये छ वडामा पराजित भएको विषयलाई कमजोरीका रूपमा आत्मसमीक्षा गरिएको छ। “पहिले जितेका धेरै ठाउँ गुम्नु राम्रो सङ्केत होइन,” अपानिमा भनिएको छ, “यसप्रति सचेत हुँदै जनप्रतिनिधिमूलक निकायको काममा विशेष ध्यान दिनुपर्छ।”
पार्टीले रुपन्देही–३ प्रतिनिधिसभा, मनाङ प्रदेशसभा तथा अन्य रिक्त वडामा हुने सम्भावित उपनिर्वाचनका लागि तयारी थाल्न समेत निर्देशन दिएको छ। एमालेले चितवन, तनहुँ, इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनको विश्लेषण गर्दै अपेक्षाअनुरूप परिणाम ल्याउन नसकेको स्वीकार गरेको छ।
अपानीमा एमालेले पार्टीको मुख्य नेतृत्वलाई विवादित र कमजोर बनाउने उद्देश्यले विधान महाधिवेशनको पूर्वसन्ध्यामा दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषय बहसमा ल्याएको बताइको छ।
“विधान महाधिवेशनको पूर्वसन्ध्यामा दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषयलाई लिएर पार्टीको मुख्य नेतृत्वलाई विवादित र कमजोर बनाउने उद्देश्यका साथ नियोजित रूपमा बहसमा ल्याउने काम भयो। दुई कार्यकालको विषय पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको प्रस्तावमा सर्वसम्मत रूपमा हटाइएको थियो। ७० वर्षे उमेर हदको विषय पार्टी प्रवेशको व्यवस्थापनका लागि केन्द्रीय कमिटीको पाँचौं बैठकको सर्वसम्मत निर्णयबाट स्थगन गरिएको थियो,” अपानिमा भनिएको छ।
पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनरागमन अस्वीकार्य
अपानिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया मिलेन भन्दै नेकपा (एमाले) ले अब उहाँलाई पार्टी कार्यकर्ता नबनाउने स्पष्ट पारेको छ।
“पूर्वराष्ट्रपति राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन,” अपानिमा उल्लेख छ, “सिङ्गै राष्ट्रको नेता भएकी व्यक्तिलाई कार्यकर्ता बनाउनु एमालेको मान्यताविपरीत हुन्छ।”
पार्टी विधानको धारा ८ को उल्लेख गर्दै अपानिमा भनिएको छ कि भण्डारीले स्वेच्छाले पार्टी सदस्यता परित्याग गरेकाले पुनः सदस्यता नवीकरणको प्रक्रिया सदर हुन सक्दैन।
पार्टीले संविधानको मर्म र गणतान्त्रिक मूल्यको रक्षा गर्न उच्च संवैधानिक पदमा बसेका व्यक्तिहरूले दलीय राजनीतिमा फर्किन नहुने मान्यता दोहोर्याएको छ। “पूर्वराष्ट्रपतिका रूपमा उहाँ राष्ट्रको गहना हो। एमालेको पनि गहना हो। त्यसैले उहाँलाई सम्मानपूर्वक गणतन्त्रको गौरवका रूपमा रहन आग्रह गरिएको छ,” अपानिमा भनिएको छ।
पूर्णपाठ:

Leave a Reply