नेपाली कांग्रेस बागमती : साँझसम्म पनि संसदीय दलको बैठक बस्न सकेन, सांसदहरु अझै छलफलमै

चितवन । प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागमती प्रदेशका सांसदहरुले आफ्नै मुख्यमन्त्रीविरुद्ध दिएको अविश्वासको प्रस्तावपछि संसदीय दलको नेता टुङ्गो लगाउन भएको दिनभर लामो छलफलबाट साँझसम्म पनि निकास निस्किन नसकेपछि आज बस्ने भनिएको नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठक कहिले बस्ने नै अन्यौल भएको छ ।

संसदीय दलका सचिव कृष्ण तामाङले बैठकको समय सरेर साँझ ७ बजे बस्ने भनिएपनि पुन: केन्द्रीय प्रतिनिधिसँग छलफल चलिरहेको जानकारी दिए ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध २१ जना कांग्रेस सांसदले शुक्रबार संसदीय दलको कार्यलयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

त्यसपछि अन्यौल परिस्थितिमा आइतबारदेखि नै छलफल गरेर मिलाउन भनेर केन्द्रीय समितिबाट राजन केसीलाई केन्द्रीय प्रतिनिधि पठाइएक‍ थियो । उनको भूमिकामाथि इन्द्र बानियाँ नेतृत्वको सांसदको समूहले आपत्ति जनाएका थिए ।

मुख्यमन्त्री लामाले हस्ताक्षर गरेका सांसदसहित केही पूर्वमन्त्रीलाई नै पुनः मन्त्री बनाउने आश्वासन दिएर आफ्नो पक्षमा पार्ने कसरत गरेपनि सफल हुन नसकेको कांग्रेस स्रोतले नै बताएको छ ।

अहिले सम्म पनि सांसदहरुबीच छलफल चलिरहेको छ । छलफल नमिलेको अवस्थामा सांसदहरूको हस्ताक्षर भेरिफाइ गर्ने र प्रकृयामा गएर संसदीय दलको नेता चयन गर्ने सचिव तामाङले बताए । उनले सहमतिमा भए आज नै संसदीय दलको नेता टुङ्गो लाग्ने हुन नसके तीन चार दिनसम्म प्रकृया लम्बिन सक्ने नेपाल प्रेसलाई बताए ।

बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट ३७ जना सांसद छन् । बहादुर सिंह लामाको मुख्य मन्त्री काल निरन्तर चल्न हस्ताक्षर बुझाउने मध्ये ३ जना सांसदले उनको पक्षमा मतदान गर्नुपर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *