काठमाडौं । ‘कमेडी दरबार’ टीमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ । निर्माण टीमले आज सोमबारको दिन पारी फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे घोषणा गरेको हो ।
पोस्टरअनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ ।
त्यस्तै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीलगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ ।
घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र मेकिंङ टिमको जनरा अनुसार यो फिल्म पूर्ण कमेडी शैलिमा निर्माण हुनेछ ।
फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्दा प्रसाईँले संयुक्त रूपमा गर्नेछन् । निर्माता श्रद्दा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, बिकाश अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन् । फिल्मको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन् ।
फिल्मको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन् । हाल टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टीमको यो पहिलो फिल्मी प्रोजेक्ट हो ।
निर्देशक अग्रवालका अनुसार चलचित्रको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट प्रारम्भ हुनेछ । फिल्मको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन । फिल्म घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, ‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु । ‘क का कि की’ को यस यात्रामा हामीलाई विश्वास छ कि सम्पूर्ण दर्शकहरूको साथ फेरि पनि प्राप्त हुनेछ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो ।’

Leave a Reply