काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनयता सतहमा आएको छ । एक-अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद फेरि छताछुल्ल भएको हो ।
शर्माले गत साता पुष्पलाल स्मृति दिवसको कार्यक्रममा मनमोहन अधिकारीबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्री बिचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको भन्दै पार्टी नेतृत्वमाथि प्रश्न उठाएका थिए ।
शर्माको यो भनाइपछि प्रचण्डले हरेकजसो कार्यक्रममा शर्मालक्षित केही न केही भनिरहेका छन् । दाहालले भनेका छन्, ‘मैले जति पनि सिँगौरी खेल्न दिएको छु, कतिपयलाई अहिले बिचौलिया र दलालले उचालिरहेका छन् ।’
प्रचण्ड र जनार्दनबीच सार्वजनिक मञ्चबाटै दोहोरी चलेपछि आ-आफ्ना तिरका सामाजिक सञ्जालमा विभाजित देखिन्छन् ।
यही सन्दर्भमा शर्माका निकट नेता सुदन किरातीले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकका निर्णयको कार्यान्वयनमा दृढता अपनाउन चारवटा सर्त आवश्यक रहेको बताएका छन् ।
उनले नेतृत्वप्रति प्रश्न उठाउनेलाई दबाउने प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने, चाकडी चाप्लुसीलाई निषेध गर्नुपर्ने र पार्टी शुद्धीकरणमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
‘पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊ, सहिदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ’, सुदनले भनेका छन्, ‘प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ, नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।’
पार्टीभित्र नीति र आचरणमा सुधारको माग तीव्र भइरहेका बेला दुई नेताको अभिव्यक्तिले वैचारिक संघर्ष चर्किने संकेत देखिएको विश्लेषण गर्न थालिएको छ । अहिलेसम्म पार्टीभित्र प्रचण्डको पकड नै छ । उनको निर्णयबाहिर जाने कोही पनि पार्टीमा टिकेको विगत छैन ।
आन्तरिक संघर्षमा एकताका शर्मासँगै देखिएका उपमहासचिव वर्षमान पुनले पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उम्किन नपाउने बताए ।
शनिबार एक कार्यक्रममा शर्मालक्षित पुनको भनाइ थियो, ‘कमरेड प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न गर्नुपर्छ । साथै हामी दोस्रो, तेस्रो तहका नेताहरू अध्यक्षको टाउकोमा सबै हालेर उम्किन पाउँदैनौँ । हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौँ । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौँ ।’
पार्टीलाई राम्रो बनाउने दायित्व सबै जिम्मेवार नेताहरूको हुने उनको तर्क छ ।
पुनले थपे, ‘हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्यौँ ? गर्न हुने र न हुने गर्यौँ ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौँ ।’
कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षितरूपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरू अरूभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।
दोस्रो तहका नेताहरूले पहिलो र पछिल्लो पुस्ताबीच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उनको तर्क छ ।
‘प्रश्नको निकास महाधिवेशनबाट हुन्छ’
सचिव राम कार्कीले पार्टीभित्र देखिएको असमझदारीबारे आगामी स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।
कार्कीले भने, ‘पार्टीको स्थायी कमिटीको बैठक साउन १६ गतेबाट बस्दैछ, त्यसपछि केन्द्रीय समितिको बैठक बस्छ । त्यसपछि हाम्रो महाधिवेशन गर्ने कुरा छ । यो बैठकपछि पार्टीभित्र देखिएको मतभेद बिस्तारै छलफलमा जान्छ ।’
महाधिवेशनमा जाने भएपछि नेतृत्वमाथि बहसका लागि प्रश्न उठ्नुलाई स्वाभाविक रहेको उनले सुनाए ।
सचिव कार्की भन्छन्, ‘महाधिवेशन हुने भएपछि नेतृत्वबारे प्रश्न जनार्दनजीले मात्रै होइन धेरैले उठाउनुहुन्छ । आ-आफ्नो विचार राख्न सबैलाई छुट नै छ, महाधिवेशनमा राख्न पाउँछन् । अहिले बाहिरको हल्ला बैठकको एजेन्डा बन्दैनन् । बैठकमा सबैले आ-आफ्नो विचार धारणा लिखित रूपमा राख्नुपर्यो ।’
उनले अघिल्लो केन्द्रीय समितिको बैठकले नै आगामी मंसिरभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गरे ।
तर, महाधिवेशनबारे उनले थपे, ‘मंसिरभित्र महाधिवेशन गरे नहुने भन्ने त हुँदैन । स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल हुन्छ । कहिले गर्ने भन्ने टुङ्गिएला ।’
अर्का सचिव दिनानाथ शर्मा प्रचण्ड र जनार्दनबीच देखिएको असमझदारीलाई सामान्य रूपमा लिन्छन् ।
उनी भन्छन्, ‘कतिपय विषयहरू सहमति र असहमति हुन्छन् । पार्टी फुटाउने कुरा कसैले गरेको छैन फुटाएर कसैलाई फाइदा पनि भएको छैन । वैद्यजीले पनि पार्टी फुटाएर जानुभएको हो, उहाँभन्दा ठूलो नेता हुनुहुन्थ्यो, एकपटक बादलजीहरू पनि जानुभयो । छाडेर जानेहरूको हालत सबैले देखेकै छौँ ।’
उनले उपमहासचिव शर्माले पार्टी फुटाएर गलत बाटोमा जानेतिर नभई सङ्गठनलाई व्यवस्थित गराउनुपर्यो भन्ने ढङ्गले कुरा उठाएको उनको बुझाइ छ ।
सचिव शर्मा भन्छन्, ‘उहाँले पार्टीलाई विधिअनुसार चलाउनुपर्यो भन्ने कुरा राख्नुभएको छ । त्यसैलाई आधार बनाएर अनेक चर्चा गर्छन् । तर, पार्टी राम्रो बनाउनुपर्छ भन्ने कुरालाई गलत ढङ्गले प्रचार गर्न हुँदैन ।’
उनले आफूहरू पार्टी टुटफुटबाट धेरै हन्डर खाएर आएको उल्लेख गर्दै त्यो स्थिति नभएको जिकिर गरे ।
सचिव शर्माले भने, ‘पार्टीको बैठक बस्दैछ, महाधिवेशन गर्नुपर्नेछ, महाधिवेशनमा विचारहरू विभिन्न कोणबाट आउँछन् । छलफल हुन्छन् । सय फूल फुल्न देऊ, सयथरी विचारलाई चलखेल गर्ने देऊ, भन्ने हाम्रो नीति नै छ । त्यसैले विचार राख्यो भन्दैमा पार्टी फुट्छ भन्दैन ।’
अबको पार्टी बैठकले महाधिवेशनबारे निर्णय गर्ने बताए । पार्टी नेतृत्वमा प्रचण्डको विकल्पबारे उनले भने, ‘नेतृत्वबारे अहिले हामीले भनेर हुँदैन, को हुने महाधिवेशने निर्णय गर्छ ।’
विवादको विन्दु
प्रचण्ड-जनार्दन आन्तरिक शक्ति संघर्ष २०८० फागुनमा भएको महाधिवेशनबाट सुरू भएको हो । शर्मा र वर्षमान महासचिवको आकाङ्क्षी थिए ।
पुन उपचारको लागि चीनमा हुँदा शर्माले अध्यक्षसहित सबै पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित भएर आउनुपर्ने अडान राखेका थिए । तर, प्रचण्डले पदाधिकारी बाहेक केन्द्रीय कमिटी आफू अनुकूल घोषणा गरिदिए ।
पछि पुन र शर्मालाई भिडाएर देव गुरुङलाई महासचिव बनाएको आरोप छ । पार्टीभित्रको आन्तरिक सङ्घर्षमा एकलाई अर्को देखाएर आफू शक्ति केन्द्रित हुने प्रचण्डको स्वाभाव नै भएको माओवादीकै नेताहरू स्वीकार्छन् ।
गुरुङलाई महासचिव बनाएपछि शर्मा र पुन एकैठाउँमा आएर दबाब बढाएपछि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भित्र्याएर महासचिव बनाउने भन्दै उनीहरूलाई साइजमा राख्ने प्रयास गरे । विप्लवसँग वार्ता निरन्तर भएपनि तत्काल एकताको सम्भावना बनेको छैन ।
अहिले आन्तरिक समीकरणमा आफूलाई बलियो राखिराख्न प्रचण्डले उपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाएर पार्टीमा सक्रिय बनाएका छन् । माओवादीमा अहिले प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उपमहासचिवद्वय शर्मा र पुनको गुट देशभर फैलिएको छ ।

त्यसो त गत साउनका बसेको स्थायी कमिटी बैठकमा नै शर्माले प्रचण्डलाई नेतृत्व छाड्न भन्दै लिखित प्रस्ताव नै अघि सारेका थिए । शर्माको त्यो प्रस्तावले माओवादीवृत्तमा ठूलै भुँइचालो ल्याइदियो ।
तर, प्रचण्डले पार्टीले तराई मधेश जागरण र मध्यपछाडि लोकमार्ग केन्द्रित अभियानपछि पार्टी महाधिवेशनमा केन्द्रित हुने भन्दै शर्मालाई मनाएर तत्काललाई सङ्कट टारे । अभियान सकेपछि असारबाट ६ महिना महाधिवेशनमा केन्द्रित भएर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रचण्डको आश्वासन थियो ।
तर, साउन कटिसक्दा समेत अभियान नै नटुंगिएपछि शर्माले फेरि नेतृत्वको बहस सतहमा ल्याइदिएका छन् । यही ढंगले चले मंसिरमा महाधिवेशन हुने निश्चित छ । त्यसो अहिले दुई नेताबीच असहमति बढ्दै जाँदा प्रचण्डनिकट नेताहरूले जनार्दनले पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाएका छन् भने बैठकमै प्रचण्डले शर्मालाई पार्टी छाड्न भनेको चर्चा समेत छ ।
शर्माले पछिल्लो समय पार्टीको भ्रातृ सङ्गठनहरूमा आफ्नो बलियो शक्ति देखाउँदै आगामी महाधिवेशनमा प्रचण्डलाई चुनौती दिनेगरी अघि बढेको कुरा लुकेको छैन । तर, दुई नेताबीच असमझदारी चर्किएको बेलामा शर्माले पार्टीभित्रको अन्तर्विरोधबारे आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको टीका टिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु ।’

Leave a Reply