‘पर्यटन नीति २०८२’ सार्वजनिक, अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने मन्त्री पाण्डेको भनाई   

काठमाडौं । सरकारले ‘पर्यटन नीति २०८२’ ल्याएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन नीति २०८२’ सार्वजनिक गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य: नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराए ।

उनले भने, ‘नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो । यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउनेछ ।’

त्यस्तै, मन्त्री पाण्डेले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै संघीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिए । उनले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गरे ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उनले स्पष्ट पारेका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ । निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ’, मन्त्री पाण्डेले भने ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *