काठमाडौं । चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्थलगत निरीक्षणमा खटिएका छन् ।
चितवनबाट प्राधिकरणले लोडसेडिङ सुरु गर्यो भनेर हल्ला चलाइरहेकाले आफैँ समस्या बुझ्न र तत्काल समाधानका लागि गएको शाक्यले बताए ।
‘मर्मत कार्य जारी छ । प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु । आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत आपूर्तिको अवस्थामा पुग्छौँ , उनले भने ।
चनौली, हर्दीलगायतका ठाउँको समस्या छिटो समाधान गर्ने उनको प्रतिबद्धता छ । आजै भरतपुर वितरण केन्द्र पुगेर जनकपुर जाने तयारीमा रहेको उनले सुनाए ।
शाक्यले डिप बोरिङ जडानमा भइरहेको काम र त्यसले विद्युत आपूर्तिमा देखिन सक्ने प्राविधिक समस्या बुझ्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सुक्खाग्रस्त मधेसमा तत्कालका लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सकेर नयाँ ट्रान्फर्मर चार्ज भैरहेको जानकारी दिए । ट्रान्सफर्मर चार्ज भैसकेपछि सोमबार नै लोड सारिसक्ने र सकेसम्म आजैबाट नियमित विद्युत आपूर्ति हुने उनले आशा जनाए ।
चुनौली वितरण केन्द्रको क्षमता ३०० सय एम्पिएरसम्मको क्षमता भए पनि विद्युत माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको प्राधिकरणको प्रष्टोक्ति छ ।

Leave a Reply