संघीय लोकतान्त्रिक मोर्चा- उपेन्द्रको पार्टी कार्यालयमा बस्ने बैठकमा सीके नजाने

काठमाडौं । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा गठन भएको चार महिना पूरा नहुँदै विवादमा फसेको छ। मधेशका मुद्दालाई प्रभावकारी ढंगले उठाउन उद्देश्यले एकजुट भएका मधेशकेन्द्रित दल आफू अनुकूल स्वार्थमा केन्द्रित हुँदा विवादमा परेको हो।

जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी मोर्चा चैत २१ गते घोषणा भएको थियो।

तर, मोर्चामा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले औचित्यमाथि नै प्रश्न उठाएको छ। उद्देश्यभन्दा बाहिर गएर रुपन्देही ३ को उपनिर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपछि मोर्चाभित्र विवाद उत्पन्न भएको हो।

कात्तिकमा हुने उपनिर्वाचनमा रुपन्देही ३ मा नाउपाको उम्मेदवारलाई सघाउन मोर्चाले निर्णय गरेपछि जनमत बिच्किएको हो। यो निर्णयमा जनमतबाहेक अन्य ६ दल सहमति छन्। मोर्चामा सुरुआतदेखि नै जनमतले आफ्नो दाबी कायम राखेको थियो।

तर, अन्य दल नाउपालाई समर्थन गर्ने पक्षमा उभिएपछि जनमतले औचित्यभन्दा बाहिर गएको भन्दै असन्तुष्टि जनाएर बैठकमा पनि जान छाडेको छ।

मोर्चामा बस्ने कि नबस्ने भन्नेबारे पनि आफूहरूले पुनर्विचार गर्ने जनमतका प्रवक्ता डा. शरद यादवले बताए। मोर्चाको बैठक आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको कार्यालय बालकुमारीमा बस्दै छ।

तर, आफूहरू यो बैठकमा नजाने उनले बताए। मोर्चाको बैठक आबद्ध दलको पार्टी कार्यालयमा आलोपालो बस्दै आएको छ।

मोर्चाप्रति जनमतको असन्तुष्टि कहाँ ? प्रवक्ता यादवको भनाइ जस्ताको तस्तै:

दुई ठुला दल मिलेर सरकार बनाएपछि उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको थियो। संविधान संशोधनको कुरा उठेपछि मधेशी, आदिवासी जनजाति, सीमान्तकृत जनताको पक्षमा धेरै कुरा संशोधन आवश्यक छ।

त्यसका लागि हामी सबै एक ठाउँमा आउनुपर्‍यो, सांसददेखि सडकसम्म हामीले दबाब सिर्जना गर्नुपर्‍यो भनेर मोर्चा गठन गरिएको हो। संविधान संशोधनका लागि दबाब सिर्जना गरेर हाम्रो बाँकी अधिकारलाई संरक्षण र सुरक्षित गर संविधानभित्र भन्ने हाम्रो उद्देश्य हो।

तर त्यसलाई छाडेर कसलाई सांसद बनाउने, कसलाई मन्त्री बनाउने, कसलाई उम्मेदवार बनाउने भन्नेमा केन्द्रित हुन थाल्यो। त्यो हाम्रो उद्देश्य होइन। त्यसमा हाम्रो असहमति छ। मोर्चाको औचित्यअनुसार काम भइरहेको छैन।

अर्को कुरा मोर्चामै भएका दलहरू जनमत सरकारबाट बाहिरिए हामी जान पाउँथ्यौँ भनेर दिनरात खटिरहेका छन्। त्यो सबैले बुझेकै कुरा हो। त्यसैले मोर्चाको उद्देश्यप्रति केन्द्रित नभएर एकले अर्कालाई सिद्ध्याउनतिर लागिरहेका छन्।

रुपन्देही ३ को उपनिर्वाचनको विषयमा पनि हामीले हाम्रो पार्टी त्यहाँ सशक्त छ भनेका छौँ। विगतको चुनावमा हाम्रो पार्टीले राम्रो मत ल्याएको छ, जनमतको राम्रो पकड पनि छ। मोर्चाको निर्णय भनेर भएकोमा पनि हाम्रो असहमति छ। त्यसबारे ६ दल एकातिर जनमत बेग्लै छ। त्यसैले त्यहाँ हाम्रो उम्मेदवार हुन्छ।

अर्को कुरा अशोक राईको पार्टीमा ७ सांसद छन्। मधेश केन्द्रित दलमा सबैभन्दा ठुलो सांसदको हिसाबले त्यही पार्टी हो। तर, उहाँहरूलाई मोर्चामा ल्याइएको छैन। यो पनि हाम्रो प्रश्न हो।

एउटा उद्देश्यका लागि गठन भएको मोर्चालाई अर्को उद्देश्यमा प्रयोग गर्ने, सरकार गिराउने, कसलाई मन्त्री र सांसद बनाउने भन्ने विषयमा केन्द्रित भएकाले हामीले अब रहने वा नरहने भन्नेबारेमा पुनर्विचार गर्दैछौं।

मोर्चाको उद्देश्यमा हिँड्यो भने हामी सँगै हुन्छौँ। मुख्य त संविधान संशोधनको कुरा हो हामीले उठाएको, यो चुनावी मोर्चा होइन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *