काठमाडौं । आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउने लागेको चलचित्र ‘रिमै’को तीन साताअघि पोस्टर सार्वजनिक भयो । ६ दिनअघि टिजर सार्वजनिक भयो । टिजरलाई लिएर दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म टिजरले ६ लाख ९० हजार भ्युज बटुलिसकेको छ ।
‘रिमै’ले यो भ्युज आफ्नै बुतामा पाएको हो । चलचित्रका मुख्य कलाकार दयाहाङ राई र पटकथा लेखक उपेन्द्र सुब्बाले आजसम्म पनि टिजर सेयर गरेका छैनन् । टिजर मात्रै होइन, चलचित्रको पोस्टर समेत सेयर गरेका थिएनन् । चलचित्रबाट दयाहाङले माेटाे रकम लिइसकेकाे निर्माण स्राेतकाे दावी छ । त्यस्तै उपेन्द्रले पनि साइनिङ अमाउन्ट लिइसकेकाे स्राेतले बतायाे ।
चलचित्रको पटकथा उपेन्द्रले लेखेका हुन् । मुख्य कलाकारमा दयाहाङको अलावा रिश्मा गुरुङ, अर्पन थापा, बुद्धि तामाङ लगायत छन् । तर, दयाहाङले थप पैसाकाे माग गरेर पोस्टर र टिजर सेयर नगरेकाे निर्माण पक्षाकाे दावी छ ।
जनजाति समुदायकै कथा भएकाले ‘जारी २’ पछाडि ‘रिमै’लाई प्रदर्शन गर्नुपर्ने जारी टिमको सुझाव थियो । तर, ‘रिमै’लाई भदौ २० मै प्रदर्शन गर्ने तयारीमा निर्माण टिम लागेको छ । ‘रिमै’ प्रदर्शन भएको दुई सातापछि असोज ३ मा ‘जारी २’ प्रदर्शन हुँदैछ । जनजाति समुदायकै कथा भएकाले ‘रिमै’ले ‘जारी २’को व्यापार कमजोर बनाउला कि भन्ने चिन्ता जारी टिमलाई रहेको स्रोतले बतायो ।
‘जारी २’ लिम्बु समुदायमाथिको कथा हो भने ‘रिमै’ गुरुङ समुदायको कथा हो । ‘जारी २’ र ‘रिमै’ दुवैका लेखक उपेन्द्र नै हुन् ।
दयाहाङको अफिसियल फेसबुक पेजमा १५ लाख बढी फलोअर्स छन् । उनले जुलाई २४ मा ‘पूजा सर’को दुईवटा समाचारको लिंक सेयर गरेका छन् भने जुलाई १९ मा ‘हाँस्न पनि सक्नुपर्दो रहेछ’ भन्दै एक तस्बिर सेयर गरेका छन् । तर, जुलाई २२ मा सार्वजनिक भएको टिजर सेयर गरेका छैनन् ।
यस विषयमा बुझ्नलाई ‘रिमै’का निर्देशक खिल बहादुर गुरुङलाई हामीले फोन गर्यौँ । उनले हाँस्दै भने, ‘उहाँहरू दुवै बिजी भएर सेयर गर्न नभ्याउनु भएको होला ।’
‘पोस्टर र टिजर सञ्जालमा सेयर गर्नै नभ्याउने खालको व्यस्तता ?’ भन्ने प्रश्नमा फेरि निर्देशक गुरुङ हाँसे । अनि भने, ‘यस विषयमा हामी छलफलमा छौं । उहाँहरू बिजी हुनुभएकाले नै सेयर गर्न भ्याउनुभएन भन्ने हाम्रो ठम्याई हो ।’

Leave a Reply