बागमतीमा किन बिच्किए देउवा ? बजेट कब्जादेखि गोली हान्ने धम्कीसम्मका अनेक कारण

काठमाडौं ।  पार्टी सभापति शेरबहादुर देउवा रिसाउने खालका गतिविधि मुख्यमन्त्री र अर्थमन्त्रीले लगातार जारी राखेपछि बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता परिवर्तनको प्रयास सफलतानजिक पुगेको छ ।

आज संसदीय दलको नेता परिवर्तनबारे छलफल गरेर मतदानबाटै टुंगो लगाउने गरी हेटौँडामा कांग्रेसको प्रदेश समिति र दलको संयुक्त बैठक बस्दैछ । त्यसका लागि केन्द्रीय प्रतिनिधि राजन केसी हेटौँडा पुगिसकेका छन् । सहमति भएन भने वा नेतृत्वले निर्णायक हस्तक्षेप गरेर रोकेन भने मुख्यमन्त्री बहादुर लामा दलको नेताबाट हट्नेछन् ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले विशेष पहल लिएपछि बानिया अघि बढे पनि देउवासमेत सहमत हुने अवस्था भने मुख्यमन्त्री लामाकै कारण भएको आरोप छ । पछिल्लो समय बागमतीको नेतृत्व परिवर्तन गर्न पूर्णबहादुरले गगन थापाको समेत साथ लिएको कांग्रेस वृत्तमा चर्चा छ । बरु एकाएक बहादुर जोगाउने पक्षमा शेखर कोइराला र कृष्ण सिटौला देखिएका छन् ।

सभापति देउवाकै साथ सहयोग भएपछि प्रदेश सभापति इन्द्र बानियालाई पराजित गरेर संसदीय दलको नेता बनेका बहादुर सिंह लामा पछिल्लो समय बुढानीलकण्ठको ‘गुड लिस्ट’ मा छैनन् । उनलाई ‘ब्ल्याक लिस्ट’ सम्म पुर्‍याउन भने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेका गतिविधि मुख्य देखिएका छन् ।

बागमतीको बजेट निर्माण प्रक्रियादेखि विनियोजनसम्मका घटनामा अर्थमन्त्री काफ्लेले गरेको हर्कतबाट कांग्रेसका प्रदेश सांसदहरू आजित भइसकेका थिए । उनीहरूले बजेट विनियोजन नभएर बिक्री भएको सार्वजनिकरुपमै बताएका थिए ।

काफ्लेले बजेटको आकार बढाउने र नचाहिने योजनामा बजेट हाल्नेजस्ता कार्यमा सहयोग नगर्दा मन्त्रालयका सचिवलगायत कर्मचारीमाथि गुण्डागर्दी गरेको जानकारी पनि देउवाले लिइरहेका थिए । त्यसमाथि प्रिपेड रकम लिएर योजनामा बजेट पारेको विषय स्थानीय जनप्रतिनिधिबाटै कांग्रेस नेतृत्वले नोटिसमा लियो ।

पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ललितपुरका सांसद तथा देउवानिकट नेता उदय शम्सेर जबराले कांग्रेसको एक आधिकारिक कार्यक्रममै बागमतीका अर्थमन्त्रीले कांग्रेसको शीर निहुराएको भन्दै बजेटमा सामान्य ज्ञान नभएका बाहुबलीहरुलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा आलोचना गरेका थिए ।

मुख्यमन्त्री लामाले विभिन्न ठाउँमा आफूलाई हटाएर बानियालाई मुख्यमन्त्री बनाउन आरजु देउवा,पूर्ण खड्कादेखि बिनोद चौधरीसम्मका नेताहरु लागेको भन्दै हिडेपछि बुढानिलकण्ठ थप बिच्किएको छ ।

कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले व्यक्तिगत र सामुहिकरुपमा समेत बजेटमा भएको बलजफ्तीबारे देउवालाई सविस्तार जानकारी गराएपछि उनी झस्किएको भेटमा सहभागीले बताए । अर्थमन्त्री काफ्लेले विरोधमा उभिने मन्त्रीलाई गोली हान्ने धम्की दिएकोसम्मका जानकारी बुढानीलकण्ठमा गराइएको थियो ।

यसअघि नै लामालाई बानिया पक्षले पद छाड्न अल्टिमेटम दिइसकेको थियो । तर उनले बेलायतमा छोरीको दीक्षान्त समारोहबाट फर्किँदासम्मको समय मागेको एक नेताले बताए । बेलायतबाट फर्केपछि पनि लामाले पद छाड्ने संकेत नदिएपछि मन्त्रीहरूले देउवालाई सामूहिक रूपमा भेटेका थिए ।

देउवाबाट सिग्नल पाएपछि उनीहरू हेटौँडा फर्केर सामूहिक राजीनामा दिए । मीनकृष्ण महर्जन, मदुकुमार श्रेष्ठ, सुरज लामिछानेलगायत ४ मन्त्रीले राजीनामा दिए पनि मुख्यमन्त्रीले अर्को पत्रबाट उनीहरूलाई पदमुक्त गरे । लामाले असन्तुष्ट समूहकै केही सांसदलाई मन्त्रीको अफर समेत गरेका थिए ।

कांग्रेसका ३७ मध्ये २१ जना प्रदेश सभा सदस्यले दलका नेता तथा मुख्यमन्त्री लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गरिसकेकाले उनको प्रयास कमजोर भयो । अविश्वास प्रस्तावमा संस्थापन पक्ष र गगन थापाका पक्षका अधिक सांसदको हस्ताक्षर छ । प्रकाशमान सिंह पक्षधर रामकृष्ण चित्रकार र हरिप्रभा खड्गीबाहेक अरूले पनि सही गरेका छन् ।

यसबीचमा बहादुर लामाको पक्षमा कांग्रेस नेता डा. शेखर कोइराला पक्ष भने नरम देखिन्छ । देउवा पक्षको समर्थनमा उनी दलको नेताबाट हटेमा स्वतः आफ्नो पक्षमा आउने शेखर समूहको विश्लेषण छ । मोहन बस्नेतलगायतको पङ्क्ति पनि शेखर समूहमै जोडिएकाले बागमतीमा तुलनात्मकरुपमा कमजोर शेखर पक्ष यस्तैलाई बटुलेर बलियो बन्ने दाउमा छ ।

यता संस्थापन पक्षकै पनि प्रवक्ता प्रकाशशरण महत पक्ष इन्द्र बानियाँको धारमा प्रष्टरुपमा खुलेको छैन । महतको कोटाबाट मन्त्री बनेका श्याम खड्कादेखि अन्य सांसद बहादुरकै पक्षमा छन् । नुवाकोटको सभापति समेत रहेका रमेश महत जिल्लाकै मुख्यमन्त्रीको विपक्षमा उभिन नसक्नुलाई स्वभाविकरुपमा लिइएको छ ।

विशेषगरी बानियाँको पक्षमा पूर्ण खड्काले माहौल बनाएका छन् । कांग्रेसका ७ प्रदेश सभापतिमध्ये बागमती र कर्णालीका सभापति खड्कानिकट मानिन्छन् । यसअघि सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाका कारण बानियाँ दलको नेता बन्नबाट वञ्चित भएका थिए । बानियाले डीनालाई चुनाव हराएको आरोप लागेको थियो ।

पछिल्लो समय डीनाकै सम्बन्ध आरजु देउवालगायतसँग बिग्रेको चर्चाकाबीच बानिया बलियो बनेर आएका छन् । यदि पार्टीले अन्तिममा हस्तक्षेप गरेन भने बानिया दलको नेता बने र मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *