बाँदर नियन्त्रण माग गर्दै अर्घाखाँची कांग्रेसको टोली पुग्यो गृह मन्त्रालय

रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको मागसहित गृह मन्त्रालय पुगेको छ ।

किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृह मन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागि पहल गर्नुपर्ने माग राखेको छ ।

अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनीहरूले तत्काल पहलकदमी लिन आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन सभापति श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधि डा. मुक्ति श्रेष्ठ, सूर्यप्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गीता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारीलगायतको टोली गएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी ‘एक्सन’ लिने भन्नेबारे गृहकार्य भइरहेको बताएका थिए ।

अपनाइएका विधिको प्रभावकारिता र कानुनी जटिलता हेरेर छिटै निर्णयमा पुग्ने उनले बताएको सभापति श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *