काठमाडौं । एचआईभी संक्रमित महिलाहरुको लागि पाँच दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
क्यानडाको युुनिभर्सिटी अफ फ्रेजर भ्यालीले आयोजना गरेको कार्यक्रम दुई दिन हेटौंडा र तीन दिन काठमाडौंमा केन्द्रित भएको थियो ।
शनिबार र आइतबार दरबारमार्गस्थित एक होटलमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुले सम्बन्धित विषयमा रहेर उनीहरुलाई सहजीकरण गरेका थिए ।
नेपालमा एचआईभी संक्रमित महिलाहरुको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुसँगको समन्वयमा आयोजित कार्यक्रमले आफूहरुलाई सकारात्मक बन्न, आफूलाई परेका तनाव र पीडाहरुबारे सम्बन्धित निकायमा बोल्न, आफ्नो खर्च व्यवस्थापन गरी बचत गर्न, लगानी गर्न, मानसिक रुपमा आफूलाई मजबुत बनाउने केही सीपहरु सिक्न सकेको सहभागीहरुले नेपाल प्रेसले बताए ।
कार्यक्रममा आफ्ना भोगाइ र संघर्षसहित जीवनलाई नयाँ मोडमा लैजाना सकिने भन्दै चरिमाया तामाङ, मिरा कुँवरले प्रस्तुति दिएका थिए ।
त्यस्तै, मानसिक स्वास्थ्यबारे मनोविद डा. नरेन्द्र सिंह ठगुन्नाले तालिम दिएका थिए । त्यस्तै, वित्तीय साक्षरतामा माधव ढुंगेल, सकारात्मकतामा अर्पण पराजुली, मनोसामाजिक स्वास्थ्यमा एसपी उप्रेती, नेतृत्व विकासमा मदन विष्ट, वकालत र पैरवीमा यशोदा तिमिल्सिना, मिडियाको भूमिकामा बद्री बिष्टलगायतले सहजीकरण गरेका थिए ।
याे पनि पढ्नुस्/हेर्नुस्:
‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’ (भिडिओ)
महिला सशक्तिकरणका क्षेत्र, संक्रमितहरु महिलाहरुको सीप र क्षमता विकासका कार्यक्रमहरुमा करिब दुई दशकदेखि सक्रिय रहेको सहप्राध्यापक डा. रिता ढुंगेलको पहलमा यो कार्यक्रमले निरन्तरता पाएको हो ।

युनिभर्सिटी अफ फ्रेजर भ्याली, क्यानडा
क्यानडको युनिभर्सिटी अफ फ्रेजर भ्यालीमा सहप्राध्यापक रहेकी डा. ढुंगेलले आफू विद्यार्थी कालदेखि नै अन्याय, अत्याचार र विभेदविरुद्ध बोल्ने गरेका कारण पनि महिलाहरुलाई आफूले सकेको किसिमले सशक्तिकरणमा सहयोग गर्नुपर्छ भन्ने सोचले प्रेरित भएर यस क्षेत्रमा पाइला टेकेको उनको भनाइ छ ।
यस किसिमका कार्यक्रमहरुले महिलाहरुको जीवनमा आफ्ना दुःख सुख बाँड्ने मात्र नभएर कसरी शोकलाई शक्तिमा बदल्ने भन्ने व्यवहारिक ज्ञान प्राप्त हुने पनि उनको बुझाइ छ । त्यसैले पनि कार्यक्रमको आयोजना गरेको ढुंगेल बताउँछिन् ।
आगामी दिनमा भने सीपमुलक तालिम साथै उनीहरुको जीवनयापन र अर्थोपार्जनका कार्यमा कार्यक्रम गर्ने योजना रहेको डा. ढुंगेलले बताइन् ।

Leave a Reply