रुपन्देही । आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे । बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए ।
अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् । यसको कारण विशेष छ । उनी चढेको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुन् । पौडेलले नै डाकेपछि उनी आफ्नो विद्युतीय ट्याक्सी लिएर होटलसम्म आएकी थिइन् ।
पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएका थिए । त्यहीअनुसार आइतबार बिहान ७ बजे वाग्ले बुटवलको मिलनचोकस्थित ड्रिम होटेल अगाडि आइपुगिन् । अर्थमन्त्री होटेलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछि पछि गुड्यो । अर्थमन्त्रीले ओर्लेपछि भाडासहित टिप्स पनि दिएका थिए ।
ट्याक्सी चढेपछि पत्रकारहरुसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए । इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा उनले खुशी व्यक्त गरे ।
‘देवीजीलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुंदैन भन्ने सन्देश आम महिला र युवामा दिन उहाँको ट्याक्सी बोलाएको हुँ,’ पौडेलले भने, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरु गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ । त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’
अर्थमन्त्रीले आफै फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी देखिएकी वाग्लेले भनिन्, ‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गर्छन् । आज अर्थमन्त्रीज्यू चढ्नुभएर हौसला मिलेको छ ।’
वाग्लेले दुई वर्षभित्र लुम्बिनी प्रदेशमा कम्तीमा २५ जना नयाँ महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य समेत लिएकी छन् ।
‘१० वर्षअघि रुपन्देहीमा महिलाले फूल (पुष्प) खेती गरौं भन्दा शुरुमा कसैले पत्याएनन्, म आफैले शुरु गरेपछि रुपन्देहीमा दर्जनौं महिला व्यवसायिक पुष्प खेतीमा आवद्ध छन्’, उनले सुनाइन्, ‘अब आफंै ट्याक्सी चलाएर दुई वर्षभित्र कम्तीमा २५ जना महिला ट्याक्सीचालक उत्पादन गर्ने लक्ष्य छ ।’
वाग्लेले ८ वर्षअघि नै महिलाहरुलाई ड्राइभिङको ट्रेनिङ दिनुपर्छ भनेर स्थानीय तहहरुमा लबिङ गरेकी थिइन् । तर महिलाले तालिम लिएपनि ट्याक्सी खरिद गर्न नसक्दा चालक बन्न नसकेको उनको भनाइ छ । अहिले विभिन्न ई–ड्राइभ कम्पनी खुलेकाले लाइसेन्स भएका महिलाले सजिलै काम पाउने उनी बताउँछिन् ।
‘अधिकारका कुरा गर्दा हरेक क्षेत्रमा आधा हिस्सा खोज्ने महिलाहरुले विभिन्न प्रकृतिका पेशा र काममा पनि पुरुषसँग प्रतिस्पर्धा सक्नुपर्छ, सकिन्छ भन्ने मेरो मान्यता हो,’ वाग्ले भन्छिन्, ‘ड्राइभिङ तालिमपछि लाइसेन्स लिने महिला–पुरुषहरु खाली बस्नुपर्दैन, सके आफैं ट्याक्सी किनेर, नभए अरुको भाडामा लिएर चलाउन पाइन्छ र आम्दानी पनि राम्रो हुन्छ ।’
वाग्लेले दैनिक औसत ५–७ हजार आम्दानी हुने गरेको जानकारी दिइन् । आफू जीविकोपार्जनका लागि नभई अरु महिलालाई उत्प्रेरित गर्नका लागि ट्याक्सी चालक बनेको उनको भनाइ छ ।
वाग्ले लामो समय राजनीतिमा थिइन् । उनी नेकपा एमाले रुपन्देहीकी पुर्वसचिवालय सदस्य हुन् । राजनीति छोडेर उनले यसअघि रुपन्देहीमै फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानको पहिचान बनाएकी थिइन् । त्यसपछि पेट्रोलबाट चल्ने कार बेचेर विद्युतीय कार किनेकी उनले दुई महिनादेखि व्यवसायिकरुपमा इभी ट्याक्सी चलाउंदै आएकी छन् ।

Leave a Reply