काठमाडौं । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।
गीतले रोजगारीको सिलसिलामा विदेसिएका युवाहरूले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेका अवस्थाहरू, र त्यसपछिको घर–परिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ। गीतमार्फत चलचित्रको मुख्य विषयवस्तु ‘वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ।
सार्वजनिक गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन्। मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा सङ्गीत स्वयं काफ्लेकै रहेको छ भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गरेका छन्। चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । साथै, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको यस चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ।

Leave a Reply