प्राधिकरणको प्रष्टीकरण- ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरको काम गर्दा भएको लाइन अवरुद्धलाई लोडसेडिङको हल्ला फैलाइएको जनाएको छ । प्राधिकरणले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारेको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लोडसेडिङको तालिका भनेर फैलाइएको हल्ला भ्रामक रहेको स्पष्ट पारेको छ । चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसन तथा भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ र सो सम्पन्न भएपछि समस्या समाधान हुने समेत प्राधिकरणले जनाएको छ ।

हाल वर्षायाममा अपेक्षाअनुसार पानी नपरेकाले सिँचाइका लागि विद्युतको माग बढेकोले लाइन तथा ट्रान्सफर्मरहरूमा अतिरिक्त भार परेको प्राधिकरणले जनाएको छ । यो प्राविधिक समस्या भएको र यसलाई समाधान गर्न टोली अहोरात्र खटिरहेको प्राधिकरणले बताइएको छ ।

प्राधिकरणले भ्रामक सूचनाहरूबाट आम उपभोक्तामा अन्योल सिर्जना भएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जना यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरूमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको छ ।’

चनौली वितरण केन्द्रमा देखिएको समस्या दुईदेखि तीन दिनभित्र समाधान गरी निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता प्राधिकरणले जानकारी दिएको छ ।

 

Comments

One response to “प्राधिकरणको प्रष्टीकरण- ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो”

  1. bikesh Avatar
    bikesh

    विद्युत प्रधिकरणलाई एउटा प्रश्न, लाइन काटिने तालिकाको समय Pick hour मा रहेको छ। यदी ट्रान्सफर्मरको काम गर्ने हो भने राति गर्दा भई हाल्थियो नि, वा अरु समय जुन समयमा नागरिकलाई कम असुविधा पुग्ने समयमा गर्दा हुन्थ्यो की? जनतालाई बेकुप बनाउने जे हो त्यही भन्नु पर्‍यो। यो लोडसेरिङ नै हो । जिम्मेबार बन विद्युत प्रधिकारण , विद्युत प्रधिकारण प्रमुख अनि सरकार पनि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *