कैलाली । गोदावरी नगरपालिका वडा नम्बर-२ तेघरीका शेरबहादुर विष्टको एक तले घरमाथि २०७५ साल असोज आसपासमा निरीक्षण गर्न आउनेको ताती हुन्थ्यो । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा गोदावरी नगरपालिका-२ र ४ को वन क्षेत्र तोकेपछि आफ्नै घर अगाडि राजधानी बन्ने भन्दै विष्ट मक्ख थिए । सात वर्षपछि अहिले उनी निराश छन् ।
‘यहाँ ६/७ वर्ष पहिले मान्छेहरू राजधानी बनाउने भन्दै आइरहन्थे, मेरो घरमा चढेर राजधानी बन्ने ठाउँ भन्दै हेर्थे ’ उनले भने, ‘अहिले त मान्छे पनि आउन छाडे, राजधानीको विषय पनि हराउँदै गयो ।’
२०७५ माघमै विष्टकै घरअगाडिको ४४४ बिघा क्षेत्रफल राजधानी भोगाधिकारका लागि भन्दै संघीय सरकारलाई पत्राचार गरिएको थियो । तर, सङ्घीय सरकारले भोगाधिकार नदिएर सर्वोच्चमा मुद्दा परेपछि अहिले गोदावरीमा राजधानी बन्न नसक्ने निष्कर्षतिर प्रदेश सरकार पुगेको छ ।
‘यहाँ राजधानी बनाउने भन्दै धेरैले हामीलाई आश्वासन दिए । डोटीबाट आएर कांग्रेस नेता वीरबहादुर बलायरजीले यही नाराले चुनाव जित्नु भयो । तर, सांसद भएर गएपछि गोदावरीमा राजधानी बनाउन कुनै मेहनत गर्नु भएन ’ स्थानीय लालबहादुर खड्काले भने, ‘तोकिएको ठाउँमा नबनाएर अझै सार्ने कुरा गर्दै छन्, यो गलत हुन्छ । ’

सुदूरपश्चिम प्रदेश सरकारले राजधानी तोकेको ठाउँ नजिकैको बस्तीलाई स्थानीयले राजधानी टोल भन्दै नामकरण समेत गरेका छन् । राजधानी तोकिएको क्षेत्र नजिकैको बाटोलाई स्थानीयले राजधानी मार्ग नाम दिएका छन् ।
‘हामीले टोल र सडकलाई राजधानी भन्न थालिसकेका थियौं, तर सरकारले राजधानी बनाउने सूरसार गरेको छैन’ खड्काले भने । उनले राजधानी घोषणा भएपछि एकाएक जग्गाको भाउ आकासिएको तर, अहिले महँगोमा कारोबार भएको जग्गाको भाउ पनि सुस्ताएको सुनाए ।
खड्काले भनेजस्तै स्थानीय इसारा थापाले केही वर्ष पहिले मात्रै यहाँ राजधानी बन्ने भन्दै जग्गा खरिद गरेकी थिइन् । तर, अहिलेसम्म पनि राजधानी निर्माणको सुरसार छैन। ‘राजधानी बन्ने भन्ने सुनेर यहाँ जग्गा किनेको थिए तर, अहिले त हामीलाई बन्दैन कि जस्तो लाग्छ’ उनले भनिन् ।
राजधानी टोलकै पार्वती खडायत वन क्षेत्रलाई किन राजधानी तोकिएको थियो र अहिले किन निर्माण भइरहेको छैन भन्ने बारे अनविज्ञ छिन् ।
‘यस्तो बन क्षेत्रमा कसरी राजधानी हुन्छ होला जस्तो लागिको थियो । तर अहिले सरकारले घोषणा गरेर पनि किन बनाइरहेको छैन भन्ने लागिरहेको छ । हामीलाई अरूले त ठगेकै थिए , अहिले सरकारले पनि ठग्यो,’ उनले भनिन् ।
प्रदेश सरकारले राजधानी तोकेपछि तेघरी टोल र तेघरी मार्गको नाम फेर्दै राजधानी टोल र राजधानी मार्ग बनाइएको थियो । तर, सरकारले घोषणा गरेको ठाउँमा राजधानी निर्माण नगरेर आफूलाई अपमानित गरेको राजधानी तोकिएको क्षेत्र वडा नम्बर २ का वडाध्यक्ष यज्ञ बहादुर महरा बताउँछन् ।

‘दुई तिहाइले तोकेकै ठाउँमै राजधानी बन्नुपर्छ’ उनले भने ‘हामीले राजधानी बन्ने भन्दै टोल र सडकलाई पनि नाम दियौँ सरकारले हामीलाई अपमान गर्यो । ’
अहिले यहाँका राजनीतिक दलदेखि सर्वसाधारण पनि गोदावरीमा राजधानी बनाउन सरकारले गरेको ढिलाइ प्रति असन्तुष्ट छन् ।
राजधानी तोकेको सात वर्षपछि गोदावरीमा स्थायी राजधानी कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित छन् भने मुख्यमन्त्री कमलबहादुर शाह धनगढी सार्ने योजनामा छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग समेत छलफल गरिसकेका छन् ।
धनगढीलाई नै स्थायी राजधानी बनाउने तयारीस्वरूप मुख्यमन्त्री कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको करिब १३ बिघा जमिनमा स्थायी संरचना निर्माण गर्ने सरकारको योजना छ ।
तर, राजधानी फेरबदल गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई तिहाइ गुमाए । आफैले विश्वासको मत लिने बेला राजधानीको विषय ल्याएर थप विवाद सृजना गर्न खोजेको गोदावारीबासीको आरोप छ ।
गोदावरीमा आन्दोलनको तयारी
राजधानी धनगढी सार्ने तयारी हुँदा गोदावरीमा आन्दोलनको तयारी भइरहेको छ । आइतबार गोदावरी नगरपालिका वडा नम्बर- १ स्थित प्रतिभा सामुदायिक पुस्तकालय परिसरमा पहिलो चरणको छलफल सम्पन्न भयो । धनबहादुर बोगटीको संयोजकत्वमा समन्वय समिति बनाइएको छ । उक्त भेलाबाट सङ्घर्ष समिति गठन गरिने जनाइएको छ ।
सरकारले गोदावरीबासी माथि अन्याय गरे जुनसुकै तहको सङ्घर्षमा जान आफूहरू तयार गरेको उनीहरूले प्रदेश सरकारलाई सन्देश पठाएका छन् । स्थानीय युवा अगुवा दीर्घ साउँदले गोदावरीमा स्थायी राजधानी निर्माणको कार्य अगाडि बढाउन नगरवासी जागरूक हुनुपर्ने अवस्था आएको बताए ।

स्थायी राजधानी गोदावरीमै कार्यान्वयन हुनुपर्ने, भोगाधिकार र रुख कटानको अनुमति नपाइएको बहाना बनाएर सरकार पन्छिन नमिल्ने र आवश्यक परे रुख कटानका लागि नगरवासी नै तयार रहेको उनीहरूको भनाई थियो ।
सोमबार बिहान ८ बजे प्रतिभा सामुदायिक पुस्तकालयमा यस विषयमा उनीहरूले थप छलफल गरेर मूर्तरूप दिने बताएका छन् ।


Leave a Reply