‘लुम्बिनी विश्वविद्यालयमा कूटनीति र बुद्धका शिक्षा: विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी

रुपन्देही । लुम्बिनी विश्वविद्यालयमा कूटनीति र बुद्धका शिक्षा: विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तर्राष्ट्रिय संगोष्ठी सुरू भएको छ । आइतबार सुरू भएको यो कार्यक्रममा ६ देशका कार्यपत्र पेश हुने भएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यवहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले गौतम बुद्धका शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको उल्लेख गरे ।

‘बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ,’ मुख्यमन्त्री आचार्यले बताए ।

उनले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा मात्र नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याए । “लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्त्व अझ विस्तार हुन्छ,” उनले भने ।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा अन्योन्याश्रित रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै उनले भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, ‘बुद्ध सर्किट’ अन्तर्गत एकीकृत पर्यटन प्रवर्द्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, संग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलन जस्ता कार्यक्रमहरू अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

संगोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रबाट सहभागी विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिहरूको उपस्थिति रहेको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षामा नैतिकता र मूल्यको महत्त्व औँल्याउँदै बुद्धका शिक्षाले त्यसतर्फ डोर्‍याउने बताए ।

कार्यक्रममा भारतीय विद्वान प्रा. अभयकुमार सिंहले ‘कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन’ विषयमा मन्तव्य दिएका थिए । अन्य वक्ताहरूले शुभकामना सन्देशमार्फत बौद्ध शिक्षाको सान्दर्भिकता र प्रभावबारे धारणा राखे ।

संगोष्ठीको उद्घाटन लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो अवसरमा नेपाल र भारतका विभिन्न विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच आपसी सहकार्यसम्बन्धी सम्झौता पनि गरिएको थियो ।

कार्यक्रममा रजिष्ट्रार डा. तिलक आचार्यले स्वागत मन्तव्य दिँदै बौद्ध कूटनीतिलाई विश्वभर फैलाउनु आवश्यक रहेको बताए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय सेमिनारमार्फत विश्व शान्तिको सन्देश फैलाउने कार्य गरिरहेको जानकारी गराए ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा. ध्रुवकुमार गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयकी प्रा. कविता शाह, पूर्वराजदूत लोकराज बराल, दीपकुमार उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. मणिकरत्न शाक्यले धन्यवाद ज्ञापन गरेका कार्यक्रमको सहजीकरण अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले गरेका थिए ।

विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलका अनुसार संगोष्ठीमा विभिन्न देशका एक दर्जन विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । दुई दिनसम्म चल्ने सेमिनारमा नेपाल र भारतका एक दर्जन विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *