‘सेन्ट्रल कन्ट्रयाक्ट’ त्यागेका सन्दीप लामिछाने बन्द प्रशिक्षणमा पनि छैनन्, अष्ट्रेलिया जालान् ?

काठमाडौं । टि-२० विश्वकप छनोटका लागि ३२ सदस्यीय नेपाली क्रिकेट टीम अहिले बन्द प्रशिक्षणमा रहेको छ । यसमा पनि २० जना खेलाडी दोस्रो चरणको प्रशिक्षणका लागि बैंगलोरमा छन् ।

३२ सदस्यीय स्क्वाडमा रहेका स्टार स्पिनर सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । न उनी बैंगलोर गए, न नेपालमै प्रशिक्षण गरिरहेका छन् । पछिल्लो समय हरेक ठूला प्रतियोगिताअघि सन्दीप उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने चर्चा हुने गर्छ, र यसपालि पनि यस्तै भएको छ ।

सन्दीपले व्यक्तिगत कारणले आफू तत्काल बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने भनेर नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराएका थिए । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सन्दीप क्लोज क्याम्पमा आएर फिटनेस टेस्टहरुमा भने सहभागी भएका छन् । उनी ओमानमा हुने टि-२० विश्वकप छनोटमा उपलब्ध हुनेमा शंका नरहेको लामाले बताए ।

‘उहाँ ३२ सदस्यीय टीममा हुनुहुन्छ र छनोट प्रतियोगिता खेल्नुहुन्छ,’ लामाले भने, ‘अहिले व्यक्तिगत कारणले बन्द प्रशिक्षणमा नआउनुभएको मात्र हो ।’

सन्दीप अहिले क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिर छन् । उनले व्यक्तिगत कारण देखाउँदै सेन्ट्रल कन्ट्र्याक्टमा नबस्ने निर्णय केही समयअघि लिएका थिए । क्यानसँग सम्झौतामा नरहेको हुँदा अन्य खेलाडीहरुले जस्तो नियममा बाँधिनु नपर्ने तथा आफ्नो अनुकुलता अनुसार टीममा समावेश हुन वा छोड्न सक्ने एकथरि तर्क छ ।

क्यान सचिव पारस खड्का भने सेन्ट्रल कन्ट्र्याक्टमा रहँदा वा नरहँदा फरक नियम नहुने बताउँछन् । केही दिनअघि नेपाल प्रेससँगको एक अन्तरवार्तामा उनले सन्दीपलाई सेन्ट्रल कन्ट्र्याक्टमा जहिले पनि ढोका खुला रहेको प्रतिक्रिया दिएका थिए ।

पारस भन्छन्, ‘कन्ट्र्याक्ट बाहिर बस्दाको प्लस र माइनस केही पनि छैन । उहाँले पारिश्रमिक पाउनुहुन्न । टुमा जाँदा भत्ता पाउनुहुन्छ । सम्झौतामा नरहे पनि उहाँले कोड अफ कन्डक्ट पालना गर्नैपर्छ । उहाँले विदेशी लिगमा खेल्न जानुपर्यो भने पनि नो अब्जेक्सन लेटर क्रिकेट संघबाटै लिनुपर्छ । यो सबै कुराहरुमा हामीले उहाँलाई वञ्चित गरेका छैनौं र गर्न पनि मिल्दैन ।’

आफूहरु सन्दीप सम्झौतामा आउन् भन्ने चाहेको पारसको भनाइ छ । आफूले सन्दीपसँग यस विषयमा बसेर कुरा गरेको उनले बताए ।

‘उहाँलाई कन्भिन्स गर्न खोजेको हो । तर, उहाँले अलिकति फ्रि हुन चाहन्छु भन्नुभयो । उहाँको पनि आफ्नो सोचविचार होला । क्रिकेट संघ उहाँ कन्ट्र्याक्टभित्र रहनुहोस भन्ने चाहन्छ । तर हामी तपाईं आउनैपर्छ भनेर दवाव दिन सक्दैनौं । उहाँ जुन समयकालमा कन्ट्रयाक्टमा आउन चाहन्छु भन्नुहुन्छ, क्रिकेट संघले २४ सै घन्टा ढोका खुल्ला राखेको छ,’ पारसले थपे ।

सन्दीप निकट स्रोतले भने उनी अहिले कन्ट्«याक्टमा फर्किहाल्ने सम्भावना नरहेको जनाएको छ । स्कटल्यान्डबाट फर्किएपश्चात क्यानसँग यस विषयमा छलफल नभएको स्रोतले जानकारी दियो ।

नेपालले आगामी अक्टोबरमा ओमानमा आयोजना हुने टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्दै छ । यस्तै, सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टि–२० श्रृंखला खेल्ने तालीका रहेको छ । यी दुवै प्रतियोगितामा सन्दीप सम्भवतः उपलब्ध हुनेछन् ।

यस्तै, टि-२० विश्वकप छनोटको तयारीस्वरुप आउँदो अगष्टमा नेपाली टीम अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा सहभागी हुनेछ । क्यानका अनुसार अगष्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने उक्त सिरिजमा कम्तिमा ६ खेलहरु हुनेछन् । सन्दीपले यो सिरिज खेल्ने वा नखेल्ने प्रष्ट भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *