चितवन । केन्द्रदेखि नेपाली कांग्रेस एमालेबीच सत्ता साझेदारीमा भएको सम्झौता अनुसार बागमती प्रदेशमा २० महिना नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । जसको वर्षदिन यही साउन महिनामा भएको छ । तर, सरकारको नेतृत्व गरेको आफ्नै मुख्यमन्त्री हटाउन नेपाली कांग्रेसका २१ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
संसदीय दलको नेताबाट हटाएपछि मुख्यमन्त्री हट्ने भएकोले मुख्यमन्त्री बहादुर सिंह लामाको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेश सरकार अस्थिर भएको छ । यो घटनालाई कांग्रेसको सत्ता साझेदार दल नेकपा एमालेले कसरी लिएको छ ? नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियासँग गरिएको कुराकानी:
बागमतीमा नेपाली कांग्रेसका सांसदले आफ्नै मुख्यमन्त्री विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमा सत्तासाझेदार दल नेकपा एमालेको धारणा के हो ?
हामीले त यो विषय मिडियाबाट सुनेर थाहा पाएका हौँ । पहिला त हामी आफै अचम्मित भयौँ । सरकार यति चाँडो—चाँडो अस्थिरतामा जानु हुँदैन । हाम्रो दलको धारणा लिनुहुन्छ भने हामीले गरेको सम्झौता बमोजिम सरकार सञ्चालन हुनुपर्छ भन्ने मान्यता हो । तर, अहिलेको विषय नेपाली कांग्रेसको आन्तरिक समस्याबाट सिर्जित विषय हो । नेकपा एमालेले सरकार अस्थिर हुने क्रियाकलाप कतैबाट नहोस् भनेर कामना र सहयोग गर्ने हो । हामी अर्को मुख्यमन्त्रीको नेतृत्व भए पनि अवरोध गर्दैनौँ । समस्या हामी बाहेकको दलका भएको कारण उहाँहरूले सहयोग माग्नुभयो भने हामी सहयोग गर्छौँ ।
नेकपा एमालेसँग सरकार आलोपालो चलाउने सहमति भए पनि कांग्रेस आफैभित्रको यो खिचलोले सरकार गठबन्धन सरकार अस्थिर देखिएको प्रष्ट त बनायो नि, यसले सरकारको काम कारबाहीमा असर पर्दैन ?
अहिले सदनबाट बजेट पास भएको अवस्था छ । हामीले बजेट पास गर्न सहयोग पनि गर्यौँ । अब भदौबाट बजेट कार्यान्वयनमा जानुपर्छ । नेपाली कांग्रेसले २० महिना गर्ने नेतृत्वमा बाँकी भएको ८ महिनाका लागि कसलाई नेता छान्ने भन्ने उहाँहरूको विषय हो । तर, सरकार सञ्चालन साझेदार दल हामी भएकोले सल्लाहमा हुनुपर्छ । अब बजेट कार्यान्वयनमा जानुपर्ने समय आउन लागेको कारण कर्मचारीहरूमा पनि मानसिक रूपमा काम गर्ने वातावरण बनाउनुपर्छ । आन्तरिक समस्यामा सहयोग मागेमा गर्छौँ । त्यसैले हामीले यो विषय चाँडो टुङ्ग्याउन उहाँहरूलाई अनुरोध गरेका छौँ ।
काँग्रेसका सांसदहरूले नै आफ्नै मुख्यमन्त्रीलाई आयोजना बिक्री गरेको, मनोमानी ढंगले बजेट विनियोजन गरेको आरोप लगाइरहेका छन् । तपाईँको दलबाट गएका मन्त्रीहरूले ती विषयमा संसदीय दलमा जानकारी गराएका थिएनन् ?
हो, बजेटमा केही समस्या आएका हुन् । दलको नेताको हिसाबले मैले स्वयं अर्थमन्त्री ज्यूलाई राम्रो बजेट बनाउनु भनेर सुझाव पनि दिएको हो । तर, बजेटमा व्यवहारिक रूपमा धेरै समस्या आए । हामीसँग उहाँहरूको कार्यान्वयनका क्रममा मिलाउने सहमति पनि भएको छ । हामी सत्ता साझेदार दल भएकोले बजेट पास गर्न सहयोग गर्नु हाम्रो कर्तव्य थियो । हामीले सघायौँ । नमिलेका कुराहरू पनि भन्यौँ ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकारको विषयमा उहाँहरूसँग तपाईँको केही छलफल भएको छ ?
मैले अघि पनि भनेँ, यो कांग्रेसको आन्तरिक विषय हो । उहाँहरूले संसदीय दलको नेता टुङ्गो नलगाउँदासम्म बहादुरसिंह जीले नै सरकार सञ्चालन गर्नुहुन्छ । भलै महत्त्वपूर्ण निर्णयहरू गर्न उहाँले मिलेन । यो लोकतन्त्रको अभ्यास पनि हो । सांसदहरूले आफूले मन पराएको नेता छान्न पाउनुपर्छ । त्यसैले हामीले उहाँहरूलाई छिटो यो विषय टुङ्गो लगाएर संसदमा ल्याउन भनेका छौँ । जतिसक्दो चाँडो काँग्रेसले आफ्नो संसदीय दलमा यो विषय टुङ्ग्याएर सरकार सञ्चालन गठबन्धनको स्प्रिटमा चल्ने वातावरण बनाउनुपर्छ । हामी उहाँहरूको आन्तरिक विषयमा हस्तक्षेप गर्दैनौँ । तर, केही सुझाव माग्नुभयो भने हामी सहयोगको लागि तयार छौँ ।

Leave a Reply