‘मर्निङ वाक’मा हात्तीसंग जम्काभेट भएपछि…

झापा । ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिलालाई जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका छन् ।

घाइते हुनेमा दमक –१ ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीसँग उनीहरुको आज बिहान जम्काभेट भएको थियो । उनीहरुलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ ।

उनीहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ ।

घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो ।

झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्ती बस्दै आएका छन् । जङ्गल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् ।

निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *