गढवाका वडाअध्यक्षको घर-आगनबाट ५८ क्यूफिट काठ बरामद

रूपन्देही । दाङ गढवा गाउँपालिका–७ का वडा अध्यक्ष राहुलदेव चौधरीको घर–आगनबाट चिरान गर्दै गरिएको अवस्थामा ५८ क्यूफिट काठ बरामद गरिएको छ ।

वडाअध्यक्षको संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचनाका आधारमा सव डिभिजन वन कार्यालय गढवा, इलाका प्रहरी कार्यालय गढवा र सशस्त्र वन रक्षकको संयुक्त टोलीले छापा मारेको थियो ।

वडा अध्यक्षको घर-आगनमै साल र जङ्गली जातको सिसौं काठ चिरान भइरहेको अवस्थामा उक्त काठ बरामद भएको सव डिभिजन वन कार्यालय गढवाका सहायक वन अधिकृत यमप्रसाद गैरेले जानकारी दिए।

‘हामीलाई वडाअध्यक्षकै संलग्नतामा अवैध काठ चिरान भइरहेको गोप्य सूचना आएको थियो । सोही आधारमा छापा मार्न जाँदा चिरान भइरहेको अवस्थामा काठ फेला पारिएको हो,’ गैरेले भने, ‘वडा अध्यक्षले खोलाले बगाएर ल्याएको काठ भएको दाबी गर्नुभयो । तर काठको कुनै प्रमाण देखाउन सक्नुभएन ।’

वडा अध्यक्षको घर–आगनबाट चिरान काठ बरामद भएको पुष्टि डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले पनि गरेका छन् । उनले काठ चिरानमा संलग्न सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए ।

बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय गढवामा राखिएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा वडा अध्यक्ष राहुलदेव चौधरीको फोन उठेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *