चितवन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरण गर्ने विद्युत् अनियमित भएको करिब महिना दिन नै भइसकेको छ । यस क्षेत्रका ग्राहकहरूले केही दिनयता वितरण केन्द्रमा धर्ना दिएर विद्युत् आपूर्ति नियमित गर्न दबाब पनि दिएका थिए ।
नागरिकका दबाबका बीच केन्द्रले हिजो शनिवार सूचना नै निकालेर आज आइतबारका लागि ६ घण्टा विद्युत् आपूर्ति रोकिने जानकारी दियो । तीनवटा फिडरमा फरक फरक समयमा गरी तीन पटक विद्युत् आपूर्ति रोकिने केन्द्रको सूचना आएपछि लोडसेडिङ तालिका निकालेको भन्दै प्राधिकरण आलोचित बन्यो ।
यही सूचनाको विषयमा चनौली वितरण केन्द्रले भने विद्युतको खपत अत्यधिक भएकोले मर्मत गरेर प्राविधिक समस्या मिलाउन निकालिएको एक दिने सूचनालाई मिडियाले अतिरञ्जित गरेको जनाएको छ ।
केन्द्रका वितरण प्रमुख राजकुमार श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै, विद्युतको अत्यधिक माग र प्रसारण लाइनको क्षमता समायोजन गराउन नसक्दा आपूर्तिमा समस्या आएको बताए ।
उनका अनुसार अहिले पश्चिम चितवनमा ४७ हजार विद्युतका ग्राहक छन् । कुल ग्राहक मध्ये सिँचाइको मात्रै २० प्रतिशत ग्राहक छन् । बसेनी सव स्टेशनबाट ३३ केभी डक कन्डक्टर तारमा ३ सय एम्पियर भन्दा बढी विद्युत् आपूर्ति गर्न मिल्दैन । तर, अहिले एकैपटक खेत रोप्ने समय र गर्मीको समय भएकोले यस क्षेत्रमा ४ सय देखि ४ सय ५० एम्पियर विद्युत् माग रहेको छ ।
यो विद्युत् प्राधिरकरणको प्राविधि समस्या हो । यसलाई मिलाउन टाँडी वितरण केन्द्रबाट लोड सिप्ट गर्ने गरी काम भइरहेको छ । अहिले देवनगर सव स्टेशनबाट पर्सा जाने विद्युतको लोड घटाएर यस क्षेत्रमा मिलाउनको लागि एक साताभित्र व्यवस्थापन गर्नेगरि तयारी भएको छ । सोही मर्मतका कारण विद्युत् आपूर्ति अनियमित हुने जानकारीको लागि एक दिनको सूचना निकालिएको प्रमुख श्रेष्ठले बताए ।
उनले भने, यो नितान्त प्राविधिक समस्या हो । हामीले जनतालाई जे अवस्था छ त्यहि जानकारी गराएका हौँ । तर, अनावश्यक रुपमा लोडसेङिको तालिका भनेर विषयलाई अतिरञ्जित गराइयो ।
अहिले चनौली वितरण केन्द्रबाट चनौलीमा ६ र माडीमा २ वटा फिडरबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यस क्षेत्रमा एक वर्षअघि ४५ हजार ग्राहक भएकोमा अहिले बढेर ४७ हजार पुगेका चनौली वितरण केन्द्रले जनाएको छ ।

Leave a Reply