रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबारदेखि गृहजिल्ला रुपन्देहीमा छन् । नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका मन्त्री पौडेल बजेट निर्माण तथा पार्टीको कामले केही महिनायता जिल्लामा आएर धेरै बसेका थिएनन् । यो पटक भने उनले दर्जनभन्दा बढी कार्यक्रममा सहभागी जनाउन जिल्ला झरेका हुन् ।
अर्थमन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्रसँगै जिल्लाका अन्य क्षेत्रमा समेत केही कार्यक्रमलाई प्राथमिकता दिएर पुगेका छन् । रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको तयारी भइरहेकाले पनि नेता पौडेलले यो बिचमा त्यो क्षेत्रका विभिन्न कार्यक्रममा सहभागिता देखाएका छन् ।
शनिबार मन्त्री पौडेलले रुपन्देहीका विभिन्न आयोजनाको स्थलगत अवलोकनका लागि समय निर्धारण गरे । यही क्रममा शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नं १५ कर्साघाटमा संघीय सरकारको विशेष आयोजनामा निर्माण हुन लागेको कृषि उपज केन्द्रबारे जानकारी लिन दलबलसहित पुगेका थिए मन्त्री पौडेल । प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, पार्टीका विभिन्न तहका नेताहरु तथा सो क्षेत्र वरिपरि रहेका कार्यकर्ता र केही स्थानीयसमेत उनी त्यहाँ पुग्ने सूचना पाएसँगै पुगेका थिए ।
तर गाडीबाट झरेपछि आयोजना नजिकै स्थानीय युवाहरू क्रिकेट खेलिरहेका थिए । अर्थमन्त्री पौडेलले ती खेलाडीहरूलाई ऊर्जा थप्ने गरी हात हल्लाउन थाले । एक छिनमै खेलिरहेका खेलाडीहरू मन्त्री पौडेललाई देखेपछि आफ्नो खेलमैदान बनाउन मागसहित अगाडि सरे ।
त्यो भन्दा अघि नै नेता पौडेलले खेलाडीहरूसँग सामिप्यता बढाउन आफूले खेल्ने रुचि देखाए । आफ्नो मैदानमा शीर्ष तहको नेता र मन्त्री आएपछि उनीहरूले सहजै मैदान प्रवेश गराएको त्यहाँ पुगेका एमाले नेता मेघराज भट्टराईले बताए ।
मन्त्री पौडेलले मैदान प्रवेश गरेर सिधै ब्याट समाए । र उनले बलिङका लागि प्रदेशका पूर्व मन्त्री तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठलाई मैदानमा पठाए । नेता श्रेष्ठले दुई बल पौडेलका लागि हाने तर उनले सहजै रूपमा त्यसलाई ब्याटले हान्न सकेनन् । ‘अलि राम्रो बलिङ गर्नुस् न, यो त सारै कमजोर भयो’ पहिलो बललाई हान्न नसकेपछि पौडेलले श्रेष्ठलाई भने । श्रेष्ठले फालेको दोस्रो बल पनि राम्रो तरिकाले ब्याटमा नलागेपछि मन्त्री पौडेलले एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई बलिङका लागि पडाए । नेता भट्टराईको पहिलो बललाई सामान्य प्रहार गरे पनि दोस्रो बलमा भने मन्त्री पौडेलले चौका प्रहार गरेका थिए ।
मैदान वरिपरि रहेका नेताकार्यकर्ताहरुले छक्का छक्का भनेर हुटिङ गरिरहेका थिए । खेलमा सहभागिता जनाएपछि मन्त्री पौडेलले त्यहाँ रहेका स्थानीय खेलाडीहरुसमक्ष केही समय अन्तरक्रिया गरे । पौडेलले कृषि उपज केन्द्र नेपालको नमुना आयोजना भएकाले यसलाई निर्माणका लागि सघाउन र नजिकै रहेको अर्को स्थानमा क्रिकेट स्टेडियम बनाउन आफूले पहल गर्ने र बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । मन्त्री पौडलको प्रतिबद्धतापछि त्यहाँ रहेका खेलाडीको अनुहारमा खुसी देखिएको एमाले बुटवल अध्यक्ष शोभाखर पोख्रेलले जनाए ।

Leave a Reply