युवा संघले किन गर्‍यो दुई नेतामाथि निलम्बनको कारवाही ?

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालबाट निलम्बनमा परेका २ जना नेताले विद्या भण्डारीलाई समर्थन गरेका कारण कारवाही भएको दावी गरेका छन् ।

तर युवा संघले भने उनीहरुलाई कुनै नेता वा गुटमा लागेको कारण नभई अनुशासन र ठगीको उजुरीका आधारमा निलम्बन गरिएको जनाएको छ । युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई निलम्बन गरेको छ । दुवै जनाले आफूहरुले विद्या भण्डारीपक्षलाई समर्थन गरेका कारण कारवाही भएको दावी गरेका छन् ।

राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले भने दुवै जनालाई राजनीतिक विषयमा कारवाही नभएको प्रष्ट पारेका छन् । खरेललाई अनुशासनहीन र अराजक गतिविधि गरेको कारण पटकपटक सचेत गराउँदा पनि नमानेपछि कारवाही भएको बताए । पौडेलले अनुशासन र आर्थिक विषयमा भएको कारवाहीलाई विषयान्तर गर्न खोजिएको दावी गरे ।

खरेलमाथि राष्ट्रिय युवा संघको महाधिवेशनमा अध्यक्ष मण्डलका नेताहरुमाथि दुव्र्यवहार र अश्लील गालिगलौज गरेको तथा बुबा मेयर भएका आडमा आर्थिक अपराध तथा गुण्डागर्दी गरेको आरोप छ । उनका बुबा ध्रुव खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर छन् ।

त्यस्तै इलामकी युवन्तिका राईलाई भने सरकारी कोटामा विदेश पठाइदिने भनी विभिन्न व्यक्तिसँग पैसा उठाएको उजुरीका आधारमा निलम्बन गरिएको पौडेलले बताए । प्रधानमन्त्रीको छोरी हुँ भन्दै युवन्तिकाले सरकारी कोटामा विदेश पठाउन पैसा लिएको आरोप छ ।

युवा संघका महासचिव महेश चौलागाईले हस्ताक्षर गरेको निलम्बन पत्रमा कागेश्वरी मनहरा नगरपालिकाका नोर्बु लामाको निवेदन र प्राप्त प्रमाणका आधारमा आर्थिक ठगी गरेको पाइएकाले सबै जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

उनीमाथि शोभा राईलाई सरकारी कोटामा विदेश पठाउने भनी ३ लाख ५० हजार लिएको आरोपमा लामाले निवेदन दिएका थिए । सोही आधारमा उनीमाथि कारवाही भएको हो ।

कारवाहीपछि युवन्तिकाले भनिन्– म संसारको सर्वोच्च शिखर चढेर आएकी हुँ । मेरो लागि सानातिना चुनौती, षड्यन्त्र र तगाराका थुम्काहरू त केवल एक जम्पको दूरीमा छन । मेरो उचाइ मापन गर्न खोज्नेहरूले पहिले आफू कहाँ उभिएका छन भन्ने बुझुन् । युवन्तिकाको नागरिकताको मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको संघले जनाएको छ ।

 यसैबीच राष्ट्रिय युवा संघका उपाध्यक्ष महाराज गुरुङले केही दिनयता कतिपय व्यक्तिले आफ्ना गल्ति ढाकछोप गर्न हिँड्दा हिँड्दै ठेस लागे पनि विद्या भण्डारी पक्षमा उभिएका कारण षडयन्त्र भएको भन्ने भाष्य बनाउन थालेको बताए । जबकी विद्या भण्डारी निवास भँगाल नटेकेका र कुनै कार्यक्रममा नगाएकाहरुले पनि यस्तो भाष्यको सहारा लिन थालेका पार्टी पंक्ति र मिडिया समेतले वास्तविकता बुझ्नुपर्ने गुरुङको दावी छ ।

Comments

One response to “युवा संघले किन गर्‍यो दुई नेतामाथि निलम्बनको कारवाही ?”

  1. ksp pyl Avatar
    ksp pyl

    अब त ठग्ने, चोर्ने , विद्यातिर लाग्ने । अनि कारवाही गरेमा विद्यातिर लागेका ले भनिदिने । विद्याले पनि कतिसम्म ठग बोक्न सक्छिन । हेरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *