काठमाडौं । हिजोमात्र जन्मदिन मनाइरहेकी अभिनेत्री बेनिशा हमालका लागि यो महिना विशेष हुनेवाला छ । उनका दुई चलचित्र साउन २३ गते एकैदिन रिलिज हुँदैछन् । दर्शकले जुन चलचित्र छाने पनि बेनिशाकै पक्षमा हुनेछ किनकी दुवै चलचित्रलाई उनैले डोर्याएकी छन् ।
चलचित्रले दर्शकलाई हलसम्ममा डोर्याउलान् कि नडोर्याउलान्, प्रदर्शन भएपछि मात्रै थाहा होला । तर, चलचित्रमा मिहेनतको कुनै कसर बाँकी नराखेको उनी बताउँछिन् । बेनिशालाई अहिले पनि भ्याइनभ्याइ छ । चलचित्रको प्रमोसनमा लगातार खटिइरहेकी छन् । मिडियाहरूमा अन्तर्वार्ता दिँदै हिँडिरहेकी छन् ।
हिजो चलचित्रको सुटिङ, डबिङले थकित हुन्थिन्, अहिले अन्तर्वार्ताले थकित भइरहेकी छन् । अभिनयमा जति जोड लगाएकी थिइन्, प्रमोशनमा डबल जोड लगाइरहेकी छन् । चलचित्र प्रदर्शनअघि दिएका अन्तर्वार्ताले चलचित्रलाई कत्तिको फाइदा पुर्याउँछ ?
बेनिशाको अनुभवले भन्छ, अवश्य पुर्याउँछ । सुटिङको क्रममा सामना गरेका चुनौतीका प्रसंगसँगै रमाइला क्षणहरूलाई दर्शकमाझ पुर्याउँदा, आफूले दर्शकसँग सेयर गर्न चाहेका कुराहरु बोल्दा चलचित्रलाई फाइदै हुने उनको अनुभव छ । सही तरीकाले आफ्नो कुरा नराख्दा भने धेरै बेफाइदा हुने उनको तर्क छ ।
पहिलो चलचित्र ‘स्वर’ देखि हरर चलचित्र ‘घर’ सम्मको प्रमोसनमा सक्रिय भइन् बेनिशा । बितेको डेढ दशकमा वर्षको एउटाको चलचित्रको हिसाबले ठूलो पर्दामा देखिइन् ।
हर-एक चलचित्रमा उनले अभिनय, सुटिङ, डबिङको अलवा प्रमोसनमा पनि पसिना बगाएकी छन् ।
000
उनको व्यवसायिकरूपमा सफल चलचित्र ‘छक्का पन्जा ४’ हो भने समीक्षात्मक रूपले सफल चलचित्र भने ‘कालो पोथी’ । दुवै चलचित्रबारे बेनिशा भन्छिन्, ‘कालो पोथीमा मुख्य पात्र बच्चाहरू भएकाले मैले धेरै श्रेय लिन पाइनँ होला । हलमा पनि चलचित्र राम्रै चलेको थियो । तर, जुन स्तरको अनुभव छक्कापन्जा गर्दाखेरि भयो, त्यो फरक थियो ।’
बेनिशाले करियर सुरू गरेको १३ वर्षपछि हात लागेको ब्लकबस्टर चलचित्र हो, ‘छक्का पन्जा ४’ । यो बीचमा ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’ लगायत थुप्रै चलचित्रमा देखिइन् । यी चलचित्रलाई लिएर अपेक्षित पनि थिइन् । यद्यपि यी चलचित्र बक्स अफिसमा फितलो साबित भए ।
‘सफलता वा असफलताको कथा लेखन, निर्देशन, निर्माण, अभिनय सबैसँग ठोक्किएर आउँछ । कुनै कुनै चलचित्र लक्षित दर्शकसमक्ष पुर्याउन सक्दैनौं,’ बेनिसाको अनुभवले भन्छ, ‘मैले मेरा चलचित्रमा गर्नुपर्ने सबै कोसिस गरेकी छु । कोसिस गर्दा पनि सफल हुँदैन त म के गरुँ !’
उनले अभिनय गरेको ‘मोक्ष’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पायो । ‘ब्लाइन्ड रक्स’ हेर्ने दर्शकसँग प्रत्यक्ष भेटघाट हुँदा अहिले पनि गज्जबको प्रतिक्रिया दिने गरेका छन् । यो चलचित्र सृष्टी केसीको बायोपिकमा आधरिक चलचित्र थियो ।
यी चलचित्र लक्षित दर्शकसम्म नपुगेकोमा बेनिशालाई अहिले पनि थकथक लाग्छ ।
‘हामी बजार व्यवस्थापनमा चुक्यौं जस्तो महसुस हुन्छ,’ बेनिशा थकथकाउँछिन्, ‘धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउन सकेनौं, मार्केटिङ कमजोर भयो ।’
तर, मार्केटिङका क्रममा जुन खालको भ्रम पैदा गर्ने गरिन्छ, त्यस्ता हर्कतप्रति उनको सोझै असहमति छ । यस्ता हर्कतले सृजनालाई नै क्षति पुर्याउने उनको धारणा छ । भन्छिन्, ‘दर्शकमा कौतुहलता जगाउन सक्नु मार्केटिङ होला ।’
अन्तिममा भने दर्शकको रुची निर्णयक हुन्छ । दर्शकलाई यही मनपर्छ भनेर निचोड निकाल्नु हतारो हुने उनको निचोड छ । दर्शकको व्यवहार अनपेक्षित र अविश्वासनीय हुने उनको अनुभव छ । थोरै अपेक्षा राखेको चिजमा धेरै माया दिएको दर्शकले धेरै अपेक्षा राखेको चिजमा थोरै मात्रै माया दिने गरेको अनुभव छ उनीसित ।
000
बितेको डेढ दशकदेखि घरेलु बक्स अफिसको प्रत्यक्षदर्शी हुन् बेनिशा । भुक्तभोगी पनि हुन् । धेरै अपेक्षा गरिएका चलचित्र बक्स अफिसमा खरानी भएको देखेकी छन् । अपेक्षा नै नगरिएका चलचित्रले बक्स अफिसमा आगो बबलेको पनि देखेकी छन् । औसतभन्दा तलका चलचित्रले कमाल गरेको समेत देखेकी छन् । र पनि उनी भन्छिन्, ‘कस्तो चलचित्र चल्छ, कस्तो चल्दैन, मलाई अझैसम्म थाहा छैन ।’
आफूले खेलेका हरेक चलचित्र प्रदर्शनअघि चल्छ जस्तो लागे झैँ उनलाई पनि ‘मोहर’ र ‘सिटामोल’ चल्छ भन्ने नै लाग्छ । यद्यपि चल्छ वा चल्दैनको ठोस जवाफ साउन २३ पछि मात्रै थाहा हुनेछ ।
‘सिटामोल’ पश्चिम नेपालको कथा हो । चलचित्रमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्यालाई तड्कारो रूपमा देखाउन खोजिएको छ । ‘मोहर’ चाहिँ देउकी प्रथामा आधरित छ ।
‘सिटामोल’को तारा र ‘मोहर’को यशोदा पात्र अर्थपूर्ण मात्रै नभएर दर्शकको मनमा बस्ने खालको भएको उनको दाबी छ । प्रस्तुत छ, उनै बेनिशासँग गरिएको कुराकानीको सम्पादित अंश :-
– चलचित्र लगातार असफल हुँदा पनि तपाईंले नियमित काम पाइरहनुभयो है ?
मैले कामले नै जितेको हो जस्तो लाग्छ । जो आउनुहुन्छ, उहाँहरुले ‘तपाईंको काम देखेर मलाई एकपटक तपाईंसँग काम गरौं लागेको थियो’ भन्नुहुन्छ । त्यस्तो प्रतिक्रिया सुन्दा एकदमै कृतज्ञ महसुस हुन्छ ।
– एकदमै मिहेनत गरेको महत्वकांक्षी चलचित्र असफल हुँदा तपाईँलाई कस्तो महसुस हुन्छ ?
नराम्रो लाग्छ । पहिले पहिले त अपेक्षित चलचित्र असफल हुँदा एकदमै नराम्रो लाग्थ्यो, अहिले अलि कम भएको छ । त्यस्तो असफलताले दिने असर अचेल आफूमा पर्नै दिन्नँ, किनभने व्यापार मेरो हातमा हुँदैन नि त !
प्रदर्शनअघि मैले मेरो धर्म इमानदारिताका साथ पूरा गरेकी हुन्छु । प्रमोसनमा जति सक्छु, धेरै दर्शकसम्म पुग्न प्रयास गर्छु । अनि कामको सन्दर्भमा मलाई दिइएको पात्रलाई कसरी हुन्छ न्याय गरौं भन्ने लाग्छ । यति गर्दागर्दै हुँदैन भने त के नै गर्न सकिन्छ र हैन ?
– निर्माता डुबेको देख्दाखेरि तपाईंलाई कस्तो लाग्छ ?
नराम्रो लाग्छ, माया लाग्छ नि ! किनभने उहाँहरुले त्यत्रो सपना देख्नुभएको हुन्छ । उहाँहरूको लगावलाई नजिकबाट देखिएको हुन्छ ।
– मानौं, कुनै चलचित्र प्रदर्शनपछि असफल भयो । र, तपाईंले पारिश्रमिक लिन बाँकी नै छ भने त्यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ?
हाम्रो चार किस्तामा हुन्छ । सम्झौता गर्दा २५ प्रतिशत लिन्छौं । अनि सुटिङको दौरान २५, डबिङको बेला २५ र प्रदर्शनअघि २५ प्रतिशत लिन्छौं । कथंकदाचित अन्तिम किस्ता बाँकी थियो, त्यो रकम नलिँदा हामीलाई खासै समस्या पर्दैन भने छाडिन्छ होला । तर, त्यसरी छोड्नु परेको अनुभव चाहिँ छैन ।
– पहिलो चलचित्र ‘स्वर’ मा कति पारिश्रमिक लिनुभएको थियो ?
अँ, ठ्याक्कै याद आएन । २५ हजार लिएको थियो कि ! खै पचास हजार पो लिएकी थिएँ कि !
– अहिले कति लिनुहुन्छ ?
अब अहिले त भन्न मिल्दैन । कतिपय अवस्थामा स्क्रिप्ट एकदमै मन परेको छ, नयाँ निर्माता आउनुभएको छ, उहाँहरूसँग सीमित बजेट छ, तर एकदम सम्भावना भएको स्क्रिप्ट छ भने न्यूनतम पारिश्रमिकमै काम गरिन्छ । अझ टीम पनि राम्रो छ, उहाँहरूबाट चाहिँ केही नयाँ निस्किन्छ भन्ने लाग्दा पारिश्रमिकमा सम्झौता गरेर पनि काम गरेको छु ।

– ठ्याक्कै नाम भन्नुपर्दा ?
अँ, मैले पछिल्लो समय गरेको ‘द ब्लु लाइट’ हो । यसमा मैले कम पारिश्रमिक लिएँ । म स्वयं कार्यकारी निर्मातामा पनि बसेकी छु ।
– पारिश्रमिकको कुरामा ५०-६० लाखका समाचारहरू आइरहेका छन् । यस्ता समाचारहरू हेर्दा तपाईंलाई कस्तो लाग्छ ?
कलाकारको हिसाबले मैले माग गरे बमोजिम दिने मान्छे तयार छ भने त्यो दुईजनाबीचको कुरा हो । लिन पाइयो । तर, यही चिजलाई बक्री गर्न खोजेर, यी चिजमै रुमल्लियो भने चाहिँ गलत सन्देश जान सक्छ ।
– कति पारिश्रमिक लिँदा चाहिँ ठिक हो ? तपाईंको अनुभवले के भन्छ ?
मैले ठ्याक्कै यति नै पारिश्रमिक लिनुपर्छ भनेर भन्नै मिल्दैन । अँ, ‘पूर्णबहादुरको सारङ्गी’लाई मानक मानेर त्यस्ता खालका चलचित्र १० वटा वर्षमा बन्छन् भने हल्ला भए अनुसार पारिश्रमिक लिन जायज छ । व्यावसायिक हिसाबले कति सिनेमाहरू सफल छन् भनेर हिसाब गरेर हेर्यौँ भने चाहिँ अलिकति अप्ठ्यारो छ ।
– अभिनयको मास्टर भनिने सौगात मल्लसँग ‘सिटामोल’, चकलेटी नायक भनिने पल शाहसँग ‘मोहर’ । यी दुई कलाकारसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
दुवैजनासँग एकदमै राम्रो अनुभव भयो । सौगातजीसँग चाहिँ धेरै सिक्ने मौका मिल्यो ।
– पल शाहसँग मिलेन ?
राम्रो गर्नलाई कुनै कसर बाँकी नराख्ने मान्छे हो उहाँ । अनि स्वाभावको हिसाबले पनि उहाँ एकदम रमाइलो गरिराख्ने मान्छे । सौगातजी चाहिँ एकान्त मन पराउने, सरल स्वभावको हुनुहुन्छ । दुवैजनाबाट मैले सिक्न पाएँ ।
– पल शाहसँग काम गर्दाखेरि अभिनयको सन्दर्भमा चाहिँ कस्तो लाग्यो ?
दुवैजनाको आ-आफ्नै क्षमता छ । नाचको कुरा गर्दा, चकलेटी छविको कुरा गर्दा त्यसमा पल फिट हुनुहुन्छ । अनि गम्भीर र परिपक्व मान्छेको पात्र गर्नुपर्यो भने सौगात फिट हुनुहुन्छ ।
– अपेक्षा धेरै गरेको, तर असफल भएको कुनै चलचित्र ?
मलाई ‘झ्यानाकुटी’को याद छ । ‘झ्यानाकुटी’ बाट मैले एकदमै धेरै अपेक्षा राखेकी थिएँ । मेरो लागि त्यो पात्र पनि एकदमै चुनौतीपूर्ण थियो । अलिकति गम्भीर चलचित्र थियो । तर, सोचे अनुरूपको नुहँदा एकदमै दु:खी भएकी थिएँ ।
– असफलताको त्यो पीडाबाट कसरी बाहिर निस्कनुभयो ?
अब त्यहीँ बसिरहन त सकिँदैन नि ! अरु कामहरू पनि हुन्छन् । केही समय दुखी भएँ, त्यसपछि फेरि अगाडि बढेँ । अरु कामहरू पनि पाउन थालेँ । यसपछि आफैँ अगाडि बढिँदो रहेछ ।
– एकदमै दुःखी वा निराश हुँदा के गर्नुहुन्छ ?
सुत्छु ।
– निद्रा लाग्छ ?
मलाई तनावको बेला एकदमै निद्रा लाग्छ । केही सोच्दिनँ, स्वाइँस्वाइँ सुत्छु । अहिले पनि मलाई एकदमै तनाव भयो भने घर जान्छु, मोबाइल अफ गर्छु, अनि सुत्छु । उठ्दाखेरि तनाव कम भइसकेको हुन्छ ।

Leave a Reply