पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नमिल्ने पार्टी निर्णय उचितः एमाले सचिव अर्याल

रूपन्देही । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नमिल्ने पार्टी निर्णय उचित भएको बताएकी छन् । मुलुकको मुख्य अभिभावक भैसकेको व्यक्ति दलीय राजनीतिमा आउनु उपयुक्त नहुने महशुस गरेर नै पार्टी केन्द्रीय कमिटीले यसबारे निर्णय गरेको अर्यालको भनाई छ ।

नेतृ अर्यालले पार्टीमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेको र अब यसको छिनोफानो विधान महाधिवेशनले गर्ने भएकाले यसमा नअलमलिन आग्रह गरेकी छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापनसम्वन्धी सञ्चालन गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा सचिव अर्यालले यस्तो बताएकी हुन् ।

‘उमेर हद कुनै व्यक्ति लक्षित भएर हटाएको होइन, सोंचीविचारी हटाइएको हो, यो व्यवस्था यसअघि नै निष्क्रिय भैसकेको थियो’सचिव अर्यालले भनिन् । उनले पार्टी नेतृत्वको सरकारले गरेका काम र प्राप्त उपलव्धिहरुलाई जनतामाझ लैजान पार्टी पंक्तिलाई निर्देशन दिएकी छन् ।

एमाले नेतृत्वको गठबन्धन सरकारले मुलुकको असहज परिस्थितिका बाबजुद पनि विकास निर्माणका सवालमा महत्वपूर्ण उपलव्धि हासिल गरेको तर मुलुकमा केही भएन भनेर निराशा र तथ्यहीन तर्क गरेर गलत भाष्य सिर्जना गर्न खोजिएको उनको भनाइ छ । उनले भएका विकास निर्माणका कामलाई जनतामाझ लैजान पार्टीको स्थानीय कमिटीलाई आग्रह गरिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरु आन्दोलनमा रहेको स्मरण गर्दै उनले त्यस्ता समूहलाई वार्ता र संवादको माध्यमबाट व्यवस्थापन गरिएको पनि उनको भनाइ छ ।

‘यो मात्र होइन नेपालमा सुरुङ मार्ग असम्भव छ भन्नेहरुलाई सरकारले सम्भव बनाएर देखाएको छ, काँग्रेसलाई समेत सहमतिमा ल्याएर चीनसँग बीआरआई सम्झौता गरिएको छ’ उनले भनिन् ‘सबै आर्थिक सूचकहरु बढेका छन्, यी महत्वपूर्ण उपलव्धि हुन् ।’

सामाजिक अराजकता मुलुकमा व्याप्त निराशाको प्रमुख कारण रहेको जिकिर गर्दै एमाले सचिव अर्यालले निराशालाई चिर्न कार्यकर्ताले आमजनतामा उत्साह भर्न सक्नुपर्ने बताइन् ।

उनले पार्टीभित्र अनुशासन र सुशासन महत्वपूर्ण विषय भएकाले यसतर्फ सबै सचेत रहनुपर्नेमा जोड दिइन् । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई एउटै विधि र तरिकाले सञ्चालन गर्न सकियोस् भनेर प्रशिक्षण आयोजना गरिएको बताए ।

एमाले प्रदेश उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले एमालेले लिएका नीति, कार्यक्रम र योजना कार्यान्वयनका लागि सबै कमिटी सक्रिय हुनुपर्नेमा जोड दिए । तीनदिने प्रशिक्षणको पहिलो दिन प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन र माइन्युट लेखन र दलवहादुर गुरुङ्ले तालिम व्यवस्थापनवारे सहजीकरण गरेका थिए ।

त्यस्तै दोश्रो दिन पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डीआर घिमिरे, जनसंगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा पार्टी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए ।

त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, माक्र्सवाद र जनताको वहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सामयिक राजनीति र भोलिको एमाले विषयमा केन्द्रीय सचिव एवं इन्चार्ज पद्मा अर्यालले प्रशिक्षण दिएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *