काठमाडौं । बागमतीको मुख्यमन्त्री बन्न कस्सिएका इन्द्र बानियाँले बहादुरसिंह लामामाथि अविश्वासको वातावरण बन्दै गएपछि दलको नेता फेर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले लामाको नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांशको ठहर भएपछि यो कदम चालिएको बताए ।
लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। दलको नेता परिवर्तनपछि बानियाँ मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।
उनले भने, ‘प्रजातन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाली कांग्रेसले नेतृत्व दलको दल जुन विश्वासका आधारमा बहादुरजीलाई दलको साथीहरूको विश्वासमा दलको नेता बनाइयो, त्यसपछि राजनीतिक सहकार्यको सहकार्यको आधारमा दुई दल मिलेर सरकार बनाइयो । त्यसको नेतृत्व उहाँले गर्नुभयो । त्यो नेतृत्वले प्रभावकारी ढङ्गले काम गर्न नसकेको संसदीय दलका अधिकांश साथीहरूको ठहर भयो । त्यसैले विश्वासमाथि अविश्वास पैदा भएकाले हामीले यो दर्ता गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।’
उनले अविश्वासको प्रस्ताव दर्ता गर्दा नै दलको नेतामा आफूलाई चयन गर्नुपर्छ भन्ने उल्लेख भएको बताए ।
केन्द्रीय सभापति शेरबहादुर देउवासँगकै सहमतिमा अघि बढ्नुभएको हो? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो तीन तहको संरचना छ । विधानले दिएको अधिकार अनुसार सबै स्वतन्त्र छन् आफ्नो निर्णय गर्नको लागि, केन्द्रीय सभापति अभिभावक हो । अभिभावकसँग परामर्श छलफल विभिन्न राजनीतिक विषयमा हुन्छन् तर सबै आफ्नो विधानअनुसार गर्ने हुनाले कांग्रेस स्वतन्त्रताको लागि लडेको पार्टी हो त्यसका लागि स्वतन्त्र छ ।’
उनले संसदीय दलको नेता परिवर्तन हुने प्रक्रिया टुंगिएपनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

Leave a Reply