नेकपा (एमाले) ले अंगीकार गरेको नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले पार्टीको आन्तरिक लोकतान्त्रीकरण र प्रतिस्पर्धाको अधिकार आमकार्यकर्तामा रहने गरी सुनिश्चित गरेको छ । लोकतन्त्र प्राप्ति को लागि लामो समय लडेको पार्टीमात्रै नभएर सत्तामा रहँदा जनप्रिय काम गर्ने पार्टी एमाले नै हो ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वमा स्थापित सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने जनसहभागितासहितको विकासको परिकल्ना गर्नेसँगै बृद्ध भत्ता दिने पार्टी एमाले नै हो । तिनै विरासतलाई आजसम्म जनताबीच लिएर यो पार्टी गइरहेको छ ।
तर, आजको दिनमा आमजनतामात्र नभएर पार्टीका नेता, कार्यकर्तामा यो प्रश्न उठ्ने गरेको छ कि, त्यत्तिका पटक सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि यिनै पुरानाबाहेक अरु जनप्रिय काम के के भयो त ?
आहिले त जनताले उल्टो व्यंग्यात्मक प्रश्न गर्छन्, ‘खै त रेल ? खै ग्यास को पाइप ?कहाँ छ, पानीजाहाज ?’ हामी कार्यकर्तासँग एउटामात्र उत्तर हुन्छ, ‘समय लाग्छ ।’ यसो भनिरहँदा विकासका काम हुँदै नभएको भने हैन । भएका छन्, धेरै भएका छन् । त्यो पनि धेरै काम एमालेकै पालामा भएका छन् ।
सुरुङमार्ग, धराहरा पुनःनिर्माणदेखि हुम्लामा राष्ट्रिय सडक सञ्जाल जोडिनेसम्मका काम एमालेले नै गरेको हो । तर, के जनता हाम्रो काममा सन्तुष्ट छन् त ? के हाम्रो क्षमता यतिमात्रै हो ? हैन । हामी योभन्दा धेरै गर्ने सामथ्र्य राख्छौँ ।
अहिले एमालेमा जे भैरहेको छ, त्यो पूर्णतः जबजको मूल्य–मान्यताविपरीत भइरहेको छ । आहिले पार्टी विधि विधानले नभएर अध्यक्षले एक्लै चलाइरहनु भएको छ । पार्टीमा त्याग गर्ने व्यक्ति को मूल्य कम र व्यक्ति पूजकको मूल्य बढी हुन थालेको छ ।
बृन्दा पाण्डेले आफ्नो कितावमा लेखेझैँ भुइँमान्छेको काम अहिले चुनावमा मतदान गर्नेमात्र भएको छ । ती भुइँमान्छेलाई पार्टीले न चुनावअगाडि सम्झिन्छ, न त पछाडि नै । ती भुइँमान्छे पार्टी छोड्न पनि सक्दैनन् । किनभने, उनीहरु मदनलाई धोका दिन सक्दैनन्, मनमोहनलाई बिर्सन सक्दैनन् ।
आहिले एमालेले बृन्दा पाण्डे, उषाकिरणहरुलाई कारवाही गर्छ, भीम रावलहरुलाई निष्काशन गर्छ, एकनाथ ढकाल र गोल्छाहरुलाई सांसद बनाउँछ्र । चुनावको बेला कमल थापाहरुलाई पार्टीको चिह्न सापटी दिन्छ, लिङ्देनहरुसँग गठवन्धन गर्छ र अहिले राजाले शीर उठाए । यस्तो अवस्थामा गणतन्त्रको प्रतीक मानिने पूर्वराष्ट्रपति राजनीतिमा आउनुहुँदैन भनिन्छ ।
आफ्नो गल्तिको परिणामसमेतको गलत फाइदा उठाउँदै पार्टीको सदस्य हुन नपाउने एउटा नारीको अधिकार कुण्ठित पार्ने काम गर्छ । यो केवल एउटा निषेध र निरंकुशताको उपजमात्र हो । यसो गर्दा तत्काल त सबै जितेजस्तो लाग्ला, तर इतिहास र नयाँपुस्ताले त्यसलाई एउटा बिर्सनयोग्य पात्रले गरेको बिर्सनयोग्य कुकार्यको रुपमा लिनेछ ।
त्यसैले समयमा नै सच्चिनुस् । अहिलेको बाटो सक्किने बाटो हो । एउटा पात्रमात्र सक्किँदा त धेरै क्षति नहोला । तर, पार्टी पनि सँगै लिएर सक्किने सम्भावना रहेकाले एउटा समर्थकले दिएको सुझावमात्र हो यो ।

Leave a Reply