चितवन । लामो समयसम्म एमालेमा अध्यक्ष केपी शर्मा ओलीकी सर्वाधिक विश्वास पात्र मानिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उनैलाई नेतृत्वबाट विस्थापित गर्ने घोषित लक्ष्य लिएर अघि बढेकी छन् । ओली-विद्याको यो टकरावले एमालेवृत्त मात्र नभएर राष्ट्रिय राजनीति नै तरंगित बनेको छ र दुवै पक्षका गतिविधिहरूलाई चासोका साथ हेरिएको छ ।
ओली-विद्याको पारस्परिक सम्बन्धलाई पहिल्यैदेखि बुझेकाहरूका निम्ति यो एउटा अविश्वनीय ट्वीस्ट हो । सुरूमा त धेरैले पत्याउँदै पत्याएनन् र यसलाई ओलीकै एउटा ‘प्रपञ्च’ ठाने । ओलीले सीधै विद्यालाई आफ्नो उत्तराधिकारीका रूपमा खडा गर्नुभन्दा राजनीतिक प्रतिद्वन्द्वीका रूपमा उभ्याएर अन्तत्वगत्वा उनैलाई सहजरूपमा नेतृत्व हस्तान्तरण गर्ने रणनीति बुनेको हुन सक्ने आशंका समेत गरियो । तर, आजको विन्दुमा आइपुग्दा सम्म ओली-विद्याबीचको अन्तरसंघर्ष सतहमै छताछुल्ला भइसकेको छ ।
एमालेभित्र ओलीकै छत्रछायामा उदाएकी र फस्टाएकी नेतृ हुन् विद्या भण्डारी । स्वर्गीय महासचिव मदन भण्डारीकी पत्नी हुनुको राजनीतिक लाभ त उनलाई थियो नै ओलीको निरन्तर टेवाले उनलाई सफलताको सिँढी चढ्न धेरै सजिलो भयो । भण्डारीलाई राष्ट्रपति बनाउन पनि ओलीकै प्रमुख भूमिका छ ।
यता, भण्डारीले पनि एमालेमा छँदासम्म पार्टीका हरेक गुटगत लडाईंमा ओलीलाई साथ दिइन् भने राष्ट्रपति भएपछि पनि ओलीकै रबरस्ट्याम्प बनेको आरोप उनलाई लाग्यो । ओली नेतृत्वको सरकारले गरेका कतिपय विवादित निर्णयहरूलाई पनि आँखा चिम्लेर लालमोहर लगाउँदै गुन तिर्ने प्रयास गरेकी हुन् विद्याले । तर, सम्वन्धको यो न्यानोपनमा अब ब्रेक लागेको छ ।
एमालेको केन्द्रीय कमिटीले नविकरण भइसकेको विद्याको पार्टी सदस्यतालाई नै निस्क्रिय तुल्याएर उनलाई एमाले प्रवेशको ढोका बन्द गर्ने कठोर निर्णय लियो । यसको प्रतिवादमा विद्याले आज पत्रकार सम्मेलनको आयोजना गरेकी छन् । ‘माझकिरातकी छोरी हुँ, पछि हट्न जान्दिनँ’ भन्दै आक्रामक अभिव्यक्ति दिएकी विद्याले आजको पत्रकार सम्मेलनमा के भन्छिन् भन्नेमा सबैको चासो छ ।
विद्याले दुई वर्ष अघि नै ७ वर्षको सदस्यता नवीकरण गरिसकेको र त्यसको रसिद पनि आफूसँग भएको बताएकी छन् । केपी ओली निकटकै एक नेताका अनुसार दुई वर्षअघि उनको सदस्यता नवीकरण भएको सत्य हो । महासचिव शंकर पोखरेलले नेपाल प्रेससँगको अन्तर्वार्तामा पनि सदस्यता नवीकरण भएको स्वीकारेका थिए ।
नेकपा एमालेले २०८२ सालको सदस्यता नवीकरण गर्ने क्रममा विद्याको राजनीतिक सक्रियता बढ्दै गयो । उनले गत असार ३ गते बालुवाटारमा ओलीलाई भेटेर सीधा प्रस्ताव राखिन्- तपाइँ देश चलाउनु, म पार्टी चलाउँछु’ । यसलाई ओलीले ठाडै नकारे । यही बिन्दुबाट दुई नेताको फाटो बढेर सदस्यता खारेजीको चरणमा पुगेको हो ।
ओली-विद्याको सम्बन्धको दरार आउनुमा भने दुबै पक्षले आफू अनुकूल फरक-फरक व्याख्या गरेका छन् । भण्डारीले अनपेक्षित राजनीतिक सक्रियता बढाउनुका साथै केही कूटनीतिक सम्बन्धमा समेत प्रभाव पार्नेगरि बालुवाटारमाथि दबाब दिन खोजेको ओली पक्षका एक नेताको आरोप छ ।
ती नेताका अनुसार भण्डारीले सदस्यता नवीकरण गर्ने समयमा ओलीले ‘हुन्छ तपाईँलाई सदस्यतासँग भावनात्मक सम्बन्ध छ भने गर्नुस्, यो बाहिर आउने कुरा होइन’ भनेका थिए ।
‘त्यतिबेला पनि उहाँको राजनीतिक महत्वाकांक्षा बढ्ला कि भन्ने चर्चा भएको हो,’ एमालेका एक नेता भन्छन्, ‘तर, अध्यक्षज्यूले त्यतिबेला हामीलाई सुन्नुभएन, उहाँलाई विद्याले आफूलाई कहिल्यै चुनौति नदिने भरोसा थियो ।’
एमालेको विधान महाधिवेशन नजिकिँदै जाँदा विद्याले आफ्नो सक्रियता ह्वात्तै बढाइन् र ‘ओलीलाई मन नपराउने मानिसहरू’ लाई लगातार भेट्न थालिन् । जसमध्ये एक हुन् काठमाडौं महानगरका मेयर बालेन्द्र साह । सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीविरुद्ध जेहाद छेडिरहेका मेयर साहलाई निवासमै बोलाएर भेटेपछि बालुवाटार उनीप्रति रुष्ट बन्यो ।
त्यतिमात्रै होइन माधव नेपाल, प्रचण्ड, शेखर कोइराला, उपेन्द्र यादवलगायत सत्ता सहयात्रीभन्दा बाहेकका राजनीतिक शक्तिसँग एक्लाएक्लै र समूहमा पनि उनले भेट गरेको सूचनामा ओली अपडेट थिए । ओलीलाई कमजोर बनाउन खोज्ने छिमेकी शक्तिहरूसँग पनि विद्याको भेटघाट बाक्लिएको सूचना प्राप्त गरेपछि ओली अब पार्टीको सदस्यता नै खारेज गर्नुपर्ने निष्कर्षमा यही सातामात्रै पुगेको स्रोतको दाबी छ ।
विद्यापक्षीय स्वरः केपी ओली जबज छोड्ने तयारीमा
एमालेको सदस्यता खारेजीपछि भण्डारीको ठोस प्रतिक्रिया सार्वजनिक भएको छैन, तर आफू निकटका नेताहरूसँग उनले यो निर्णयको परिकल्पना नै आफूले नगरेको बताएकी छन् । एक नेताले उनको भनाइ उद्वृत गर्दै सुनाए- अहिलेसम्म ओलीजीलाई चिन्नै सकेको रहनेछु ।
नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकबाट अनपेक्षित निर्णय आएपछि बुधबार दिनभर पूर्वराष्ट्रपति भण्डारीले आफूनिकट नेताहरूसँग भेटघाट गरिन् । शंकर पोखरेलको दुईदलीय वकालत र ओलीको मदनप्रति ‘घट्दो आस्था’ बाट भण्डारी सशंकित भएको उनीसँग भेटेकी एक महिला नेतृ बताउँछिन् ।
भण्डारीनिकट पोलिटब्युरो सदस्यसहितका केही नेताहरूले उनको निवास भंगालमा बुधबार साँझ ३ घण्टा बिताए । उनीहरूले केन्द्रीय कमिटी बैठकमा भएका कुराको रिपोर्टिङ मात्र गरेनन्, भण्डारीलाई ३ गते बालुवाटार र त्यसपछि च्यासलको भेटमा ओलीसँग छलफल भएका सबै विषय स्पष्ट बताउन भने ।
‘उहाँले सदस्यता नै खारेजी गर्ने निर्णय गर्नुहोला भन्ने चाहिँ सोचेकै थिइनँ भन्नुभयो’, भण्डारीलाई उद्वृत गर्दै ती नेताले भने, ‘तर, आफू राजनीतिमा आउनुको केही गम्भीर विषयबारे भने उहाँले हामीसँग खुलस्त राख्नुभयो ।’
अर्का एक नेताको दाबीअनुसार भण्डारीले अहिले नै राजनीतिमा सक्रिय हुने तयारी गरेकी थिइनन् । तर, एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा अंगिकार गरेको जनताको बहुदलीय जनवाद छोड्न लागेको आशंकापछि मात्रै भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय गरेको उनले बताए ।
यो विषयमा पनि असार ३ को भेटमा पनि ओली र विद्याबीच सामान्य वादविवाद भएको बुझिएको छ । विद्याले ओलीसँग ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘स्थानीय मोडलको समाजवादउन्मुख विकास’सँग जबजको सम्बन्ध सोधेकी थिइन् ।
ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताले बुझ्ने जबजको भाषा हो भनेका थिए । ओलीले जबज मदन भण्डारीको मात्रै सिद्धान्त नभएर आफूहरूको पनि हो भनेर जवाफ दिएपछि भण्डारी थप सशंकित बनेको बताइन्छ ।
ती नेताले भने, ‘प्रचण्डले माओवादीमा प्रचण्डपथ भनेजस्तै एमालेमा ओलीले जबजको मार्गदर्शक सिद्धान्त त्यागेर ओली पथ लगाउने हो कि भन्ने उहाँमा चिन्ता छ । त्यसैले पार्टीको मूल सिद्धान्त जोगाउनकै लागि उहाँले राजनीतिक सक्रियताको निर्णय लिएको बताउनुभयो ।’
ती नेताको भनाइलाई मदनपुत्री उषाकिरण भण्डारीको फेसबुक पोष्टले पनि पुष्टि गर्छ । उनले जबजलाई वृहत् बनाउने कुरामा नै सशंकित भएको अभिव्यक्ति दिएकी छन् ।
भण्डारीले बताएअनुसार उनी आफूलाई अध्यक्ष बन्ने बाटो दिनुस् भनेर असारमा ३ गते बालुवाटार पुगेकी होइनन् । त्यो भेटमा उनले ओलीले नै अघि सारेको लोकतान्त्रिक पद्धती अनुसार बहुपद, ७० वर्ष उमेरहद र २ कार्यकाल अध्यक्षको नीतिगत व्यवस्था पालना गर्न आग्रह गरेकी थिइन् । ‘नेतृत्व तल हस्तान्तरण गरौँ र तपाइँ र म अभिभावकीय भूमिकामा बसौँ’ भनेको भण्डारीपक्षीय नेताको दाबी छ ।
तर, ओलीले अहिले नेतृत्व हस्तान्तरण गर्ने समय भएको नभएको स्पष्ट शब्दमा बताए । त्यसपछि भण्डारीले भनिन्- त्यसो भए पार्टीको जिम्मा मलाई दिनुस्, तपाईँ सरकार चलाउनुस् ।
बालुवाटार स्रोतले भने आफूलाई अध्यक्ष छोड्नेभन्दा अरु प्रस्ताव विद्याको नरहेको दाबी गर्यो । ओलीले भण्डारीलाई ‘तपाईं सम्मानित पदमा बसिसकेको मान्छे, सरकार र पार्टीमा आउन सुहाउँदैन’ भनेर सम्झाइ बुझाइ गरेर पठाएको थप दाबी बालुवाटार स्रोतको छ ।
बालुवाटार स्रोतका अनुसार च्यासल भेटपछि भंगालमा गरेको पत्रकार भेटघाटमा भण्डारीले आफूसँग ‘ब्याकअप’ छ भनेकोलाई पनि ओलीले नोटिसमा लिएका छन् । भण्डारीले वैदेशिक शक्तिलाई व्याकअपका रूपमा लिएको उनको बुझाइ छ ।
ओलीसँग नियमित संवादमा रहेका एक एमाले नेताले भने, ‘पार्टी अध्यक्षको बुझाइमा केही वैदेशिक शक्तिले केपी ओलीलाई ताछेर होइन मुटुमा नै हानेर सिध्याउनुपर्छ र त्यसको लागि विद्या भण्डारी उपयुक्त पात्र हुन् भनेर उनी मार्फत प्रहार गर्न खोजिएको हो भन्ने छ । त्यसैले पनि उहाँ झस्किनुभयो र विद्या भण्डारीको बाटो नै बन्द गर्ने कठोर निष्कर्षमा पुग्नुभयो ।’
पार्टी सदस्यता खारेजीको निर्णय पछि भने ओली-विद्या कुराकानी भएको छैन । नेताहरूले अब के गर्ने भन्ने प्रश्नमा केही समय चुप बस्ने, परामर्श गर्ने मुडमा रहेको भण्डारीले बताएकी छिन् । अन्तिममा ओलीसँगकै संवादबाट सबै विवाद सकिने पनि उनको बुझाइ भएको सहभागी एक नेताले नेपाल प्रेसलाई बताए ।

Leave a Reply