१६५ राष्ट्रिय युवा सांसदले लिए शपथ

काठमाडौं । उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङको प्रमुख आतिथ्यमा बिहीबार काठमाडौँको सभागृहमा राष्ट्रिय युवा सांसदको शपथ ग्रहण समारोह एवं प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।

देशका १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ रहेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने भएकाले स्वास्थ्य शिक्षा पूर्वाधार कृषि लगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कुर्सीको लागि नभई राष्ट्र बनाउनको लागि सम्झौता गर्नुपर्ने बताइन् । सांसदहरू देश बनाउनको लागि क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा क्याप्टेन विजय लामाले कुनै पनि पद वा वर्दिक नक्कली हुन नसक्ने बताए । तर पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले नै दुःख पाउने उनको भनाइ छ ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लिमेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्विसागर मरासिनी र सञ्चारकर्मी राजन कुँइकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरे ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाईँ, नेपाल चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो ।

युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइनमार्फत खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ७ हजारभन्दा बढी आवेदनमध्येबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवको आधारमा चयन समितिले प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो । तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् ।

सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी बिन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *