तराईका खेतमा विषमूलक लुम्बिनीमा नक्कली मलको बिगबिगी, सरकार मौन

रुपन्देही । लुम्बिनी प्रदेशका तराई जिल्लामा खुला सीमा नाकाको फाइदा उठाउँदै मापदण्डविहीन ‘नक्कली’ युरिया र डीएपी मल खुलेयाम भित्रिन थालेका छन् ।

प्राङ्गारिक मलका नाममा समेत अवैध मल आयात भइरहेको खुलासा भएको छ । धान खेतीलाई लक्षित गर्दै भारतबाट भित्र्याइएका यस्ता मल कतिसम्म गुणस्तरीय छन् भन्नेबारे कतै परीक्षण गरिएको छैन । खास गरी रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा नक्कली मल गाउँ गाउँसम्म छ्यापछ्याप्ती फैलिएको किसानहरूको भनाइ छ ।

नेपाल सरकारको मापदण्ड र स्वीकृति नलिई भन्सार नाकाबाटै मल भित्रिरहेको बताउँछन् मल व्यवसायीहरू । भन्सार शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) नतिरी सोइल कन्डिसनहरू, रक फस्फेट प्रोम मल पीटुवोफाइभ-१० प्रतिशतजस्ता मल खुलेआम भित्र्याइएको नेपाली मल उद्योगहरूको दाबी छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका-४ मा अवस्थित नेपालको पहिलो दानेदार प्राङ्गारिक मल उद्योग ‘ग्रोमोर फर्टिलाइजर’ का सञ्चालक सिद्धार्थ अग्रवाल भन्छन्, ‘मापदण्ड र गुणस्तर नपुगेका मल निरन्तर भित्रिरहेका छन्, तर सरकारले आँखा चिम्लिएको छ ।’ कृषि विज्ञहरूका अनुसार यस्ता गुणस्तरहीन मलले माटो अम्लीय बनाउने, खेत कसिलो हुने, उत्पादनमा गिरावट आउने र दीर्घकालमा माटोको स्वास्थ्य बिगार्ने खतरा रहन्छ ।

ग्रोमोरले भन्सार विभागका महानिर्देशकलाई पत्र लेख्दै अवैध मल आयात रोक्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, ‘विगतमा भैरहवा भन्सार कार्यालयबाट भन्सार तिरेर भित्रिएको मल जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर कृषि कार्यालयमा बुझाउँदा मापदण्ड विपरीत भएको पुष्टि भएर जफत गरिएको थियो । यस्ता घटना दोहोरिन नदिन महानिर्देशकलाई प्रभावकारी निगरानी गर्न ग्रोमोरले अनुरोध गरेको छ,’ पत्रमा उद्योगले भनेको छ, ‘नक्कली मलको नाममा राज्य र जनतालाई ठग्ने काम भइरहेको छ । यस्तो अवैध प्रक्रिया रोकिने वातावरण बनाउन सरकारको ध्यान जाओस् ।’

ग्रोमोर नेपालकै ठूलो दानेदार प्राङ्गारिक मल उद्योग हो । लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा सूचीकृत उक्त उद्योगको दैनिक उत्पादन क्षमता २०० मेट्रिक टन रहेको छ । ’माटोको सुरक्षा, उत्पादनको वृद्धि र व्यापार घाटा सन्तुलन ल्याउने हाम्रो उद्देश्य हो’ सञ्चालक अग्रवाल भन्छन्, ‘तर अब मानकविहीन मलका कारण किसान ठगिएका छन् र उत्पादन पनि घटिरहेको छ ।’

उनका अनुसार अहिले भारतीय बजारबाट भित्रिने अवैध मल नेपाली बोरामा प्याक गरिन्छ, त्यसमा ‘स्वदेशी मल’ लेखिएको हुन्छ तर कुनै सरकारी मापदण्ड पालना गरिएको हुँदैन । व्यावसायिक किसानहरू समेत ‘नक्कली मल’ ले बजार भरिएको भन्दै चिन्तित छन् । तर, सुरक्षा निकाय र कृषि कार्यालयहरू मौन बसेका कारण बजारमा झन् नक्कली मलको बिगबिगी बढ्दो छ ।

लुम्बिनीका तराई जिल्लाका गाउँगाउँ र साना बजारहरूमा नक्कली मल विक्रीका लागि स्थानीय डिलरहरू बनाइएको छ । मलको सधैँको अभावकै कारण यस्तो अवसरको फाइदा उठाउँदै व्यापारी र तस्करहरूले मापदण्डविहीन मल भित्र्याइरहेका छन् । अग्रवालले सरकारसँग निगरानी प्रणालीलाई प्रभावकारी बनाउन पनि आग्रह गरेका छन् ।

किसानहरूका अनुसार अहिले गाउँ तथा बजारमा ‘किसान गोल्ड’, ‘गोरखाली शक्ति’, ‘श्री किसान नवरत्न’, ‘एनपीएल सरदार मिश्रित दानेदार मल’, ‘शुभ सरदार’, ‘किसान शक्ति’, ‘किसान मल’ जस्ता नाममा मल खुलेआम बिक्री भइरहेको छ । यी सबै मल भारतमै उत्पादन भएका हुन्, जसलाई मोहिनी ट्रेडर्स, सोमा एग्रो ट्रेडर्स, हरि एण्ड राज इन्टरप्राइजेज जस्ता सप्लायर्सले नेपालमा ल्याइरहेका छन् ।

तर भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरी भन्छन्, ‘सरकारले आयात गर्ने रासायनिक मलबाहेक अन्य मल भित्रिएको तथ्यांक छैन । कुनै ट्रेडर्सले मल आयात गरेको देखिएको छैन ।’

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्ट पनि भन्छन्, ‘कुनै किसिमको अवैध मल आयात भएको छैन, हामीले नाकामा कडाइ गरेका छौं । फेरि पनि जिल्लाहरूलाई निर्देशन दिन्छु ।’

तर सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशका प्रमुख डीआईजी दीपेन्द्र कुँवर भने समस्या स्वीकार्छन् । उनी भन्छन्, ‘मैले अवैध बाटोबाट मल आउन नदिन नाकामा कडाइ गराएँ । तर कपिलवस्तुको बहादुरगञ्जमा किसानहरूले विरोध गरे । वास्तविक किसानले २-४ बोरा मल ल्याउँदा त्यति कडाइ नगरिए पनि कारोबारीलाई भने कडाइ गरिएको छ ।’

उनले थपे, ‘लुकीछिपी कसैले मल ल्याएको हुन सक्छ । तर म फेरि सबै जिल्लाका गणपति र बीओपीहरूलाई निर्देशन दिन्छु । अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरी गम्भीर छ ।’

कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव अर्याल सरकारले आयात गर्ने मलमा आवश्यक पोषकतत्त्व हुने तर खुला नाकाबाट भित्रिएको मलमा नाइट्रोजन, पोटासियम आदि तत्व कति छन् भन्ने थाहा नहुने भएकाले यस्ता मल प्रयोग गर्दा सावधानी जरुरी छ । परीक्षण नगरिएका मल प्रयोग गर्नुहुँदैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *