काठमाडौं । माल्दिभ्समा भएको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबले काश्य पदक जित्यो । माल्दिभ्सको मालेस्थित सोलस सेन्टरमा हिजो तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपालले काश्य पदक हात पारेको हो ।
उक्त लिग चरणको अन्तिम खेलको एक क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त क्लिपमा एक खेलाडीले लिबेरोलाई कोर्टबाट बाहिर निकाल्न खोजेको देख्न सकिन्छ । त्यो क्लिप हेल्प नेपाल र श्रीलंका पोर्ट अथुरिटीबिचको खेलको हो । उक्त खेलमा हेल्प नेपालले अथुरिटीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
सोही खेलको तेस्रो सेटमा देखिएको उक्त दृश्यले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । १४–१२ ले अघि रहेको अवस्थामा हेल्प नेपालबाट खेलिरहेका पाकिस्तानी खेलाडी मोहम्मद काशिफ नभिदले लिवेरो विनोद चन्दलाई कोर्टबाट बाहिर धकेलिरहेको देख्न सकिन्छ । त्यसपछि विनोद बाहिर जान्छन् र अर्का लिवेरो सन्तोष राई कोर्ट प्रवेश गर्छन् ।
सामान्यतया भलिबलमा लिवेरो आवश्यकताअनुसार परिवर्तन भइराखेका हुन्छन् । उक्त परिस्थितिमा विनोद परिवर्तन हुन बिर्सिएको हो या पाकिस्तानी खेलाडी काशिफले विनोदलाई जवरजस्ती कोर्ट बाहिर पठाएको त्यो भने टोलीलाई नै थाहा होला । तर, काशिफले धकेलेको क्लिपले भने धेरैको मनमा कौतलहता जागेको छ । धेरैले काशिफले विनोदलाई जवरजस्ती निकालेको भन्दै आलोचना गरिरहेका छन् । कसैले विनोद निस्कन विर्सिएर काशिफ धकेलेको तर्क पनि गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल (एपिएफ०)घरेलु भलिबल खेल्दै आएका विनोद काभा च्याम्पियनसिपका लागि हेल्प नेपालमा आवद्ध भएका थिए । विनोद राष्ट्रिय टोलीका समेत उत्कृष्ट र भरपर्दा लिवेरो हुन् ।
उक्त विषयमा हामीले हेल्प नेपालसँग बुझ्यौं । क्लबका महासचिव अरुण श्रेष्ठले उक्त विषय सामान्य रहेको बताए । हेल्प नेपालको टोलीमा दुई लिवेरो सन्तोष र विनोद थिए । टोलीले विनोदलाई रिसिभ र सन्तोषलाई डिफेन्सको रुपमा प्रयोग गरेको थियो । ‘टोलीको योजनाअनुसार नै विनोदलाई परिवर्तन गरिएको हो । विनोदलाई रिसिभ र सन्तोषलाई डिफेन्सको रुपमा खेलाएका थियौं । डिफेन्सको पालो आएपछि विनोदलाई परिवर्तन गरिएको हो,’ महासचिव श्रेष्ठले भने ।

Leave a Reply