भारतीय टोलीलाई झट्काः घाइते ऋषभ पन्त इंग्ल्याण्डविरुद्धको बाँकी टेस्टबाट बाहिर

म्यानचेस्टर । ईंग्ल्यान्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले ठूलो झट्का व्यहोरेको छ । टोलीका प्रमुख विकेटकिपर–ब्याट्सम्यान तथा उपकप्तान ऋषभ पन्त दायाँ खुट्टामा फ्याक्चर भएपछि इंग्ल्याण्डविरुद्ध जारी ओल्ड ट्राफोर्ड टेस्टका साथै अर्को हप्ता ओभलमा हुने अन्तिम टेस्टबाट पनि बाहिरिएका छन् ।

पन्तलाई बुधबार खेलको पहिलो दिन ब्याटिङ गर्ने क्रममा चोट लागेको थियो। क्रिस वोक्सको बलमा रिभर्स स्वीप खेल्ने प्रयास गर्दा बल उनको दायाँ खुट्टामा लागेको हो । चोट लाग्नेबित्तिकै उनी निकै पीडामा देखिएका थिए र चोट लागेको ठाउँ तत्कालै सुन्निएको थियो ।

३७ रनमा खेलिरहेका पन्तले ‘रिटायर्ड हर्ट’ हुँदै मैदान छाड्नुपरेको थियो । पछि गरिएको स्क्यानले उनको खुट्टाको मेटाटार्सल हड्डीमा फ्याक्चर भएको पुष्टि गरेको छ । चिकित्सकहरूले उनलाई ६ देखि ८ हप्तासम्म आराम गर्न सल्लाह दिएका छन् । खेलपछि पन्तलाई खुट्टामा सुरक्षात्मक बुट (मुनबुट) लगाएको अवस्थामा टिम होटल बाहिर देखिएको थियो ।

भारतीय टोली व्यवस्थापनले बिसीसीआईको मेडिकल स्टाफसँगको परामर्शपछि उनलाई यस खेलमा पुनः ब्याटिङ गराउने वा नगराउने भन्ने विषयमा निर्णय लिनेछ । यद्यपि, उनले विकेटकिपिङ भने गर्ने छैनन् ।

पन्तको अनुपस्थितिमा ध्रुव जुरेलले विकेटकिपिङको जिम्मेवारी सम्हाल्ने सम्भावना छ । जुरेलले यसअघि लड्र्समा भएको टेस्टमा पनि पन्तको औँलामा चोट लाग्दा वैकल्पिक विकेटकिपरको भूमिका निभाएका थिए ।

इंग्ल्याण्डका स्पिनर लियाम डसनले दिनको खेल समाप्त भएपछि भने, ‘मलाई लाग्दैन कि उनले (पन्त) यो खेलमा थप भूमिका खेल्न सक्नेछन्।’ त्यसैगरी, घटना हुँदा नन–स्ट्राइकरमा रहेका ब्याट्सम्यान बी साई सुदर्शनले भने, ‘उनी साँच्चै निकै पीडामा थिए ।’

पन्तको अनुपस्थितिले इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीको मध्यक्रम र विकेटकिपिङ दुवैमा ठूलो असर पर्ने निश्चित छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *