सक्रिय पार्टी जीवनमा फर्किने पूर्वराष्ट्रपति विद्या भण्डारीका हकमा नेकपा (एमाले) को बहुचर्चित केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयअनुसार ‘च्याप्टर क्लोज’ भएको छ ।
देशको सर्वोच्च पद (राष्ट्रपति) बनिसकेको व्यक्तिलाई राजनीतिमा फर्काएर पार्टी कार्यकर्तामा सीमित गर्दा संविधानको मर्म र भावनाको अपमान हुने तर्क गर्दै एमालेले उनलाई राजनीतिमा सक्रिय हुनबाट रोकेको हो ।
बैठकले आफूमाथि रोक लगाउँछ भन्ने संकेत पाएपछि भण्डारीले उक्त निर्णय बाहिर आउनुअगावै बूढानीलकण्ठस्थित ठूलो भंगालको निजी निवासमा केही निकटस्थ पत्रकारलाई बोलाउनुभयो र ‘चुप लागेर नबस्ने’ उद्गार प्रवाहित गराउनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब पुगोस् भन्ने ध्येयका साथ भन्नुभयो, ‘म अघि बढी सकेँ, माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।’ ठूलो भंगालबाट सुनाइएको उक्त सन्देश पार्टी अध्यक्ष तथा ओल्लो किराँतका छोरा केपी शर्मा ओलीको कानमा पुग्यो, पुगेन अर्को कुरा । तर, उहाँचाहिँ केन्द्रीय सदस्यको धारणा सुन्दै मध्यरातसम्म च्यासलमै रहनुभयो ।
कमिटी प्रणालीमा आधारित नेतृत्वले सुन्ने नै कमिटीको कुरा हो, राजनीतिको कुरा हो । व्यक्तिको पद हुन्छ र पदको मर्यादा हुन्छ । कतिपय पदहरुको अवधी सकिन्छन्, तर त्यसको महत्त्व, गरिमा र संवेदनाहरू जीवनपर्यन्त रहन्छन् । र, नेतृत्व ‘भंगाल’ का चुनौतीसँग हैन, कमिटीको म्याण्डेडसँग निर्भर हुन्छ । त्यही आधारमा पार्टी सदस्यता कायम नरहने सर्वसम्मत निर्णय आएको छ ।
यसप्रकार पूर्वराष्ट्रपतिले त्यही पदका आधारमा जुन मान, सम्मान, मर्यादा र उच्चासन हासिल गर्नुपर्ने हो, त्यो पाउने । तर, पार्टी सदस्यका रूपमा वा नेताका रूपमा अगाडि बढ्ने कुराको ‘च्याप्टर क्लोज’ हुने निर्णयका साथ बैठक सम्पन्न भएको हो । उहाँनिकट केही नेता राजनीतिक र कानुनी प्रतिवादमा जाने बताउन थालेका छन् । सारमा भन्नुपर्दा विद्याको तत्काल एमालेको अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्ने बाटो बन्द छ ।
राष्ट्रपतिबाट बाहिरिँदै गर्दा विद्या भण्डारीले नेपालका राजनीतिक दलका शीर्ष नेतालाई दिएको बिदाइ भोजमा प्रचण्ड माधवहरूले ‘सक्रिय राजनीतिमा आउनुस्, उमेर र सक्रियता छँदैछ’ भनेर उक्साएका थिए । आजको घटनाक्रमलाई उक्त पृष्ठभूमिबाट अलग गर्न सकिँदैन । त्यसमाथि उहाँका अभिव्यक्ति हेर्दा निकै उकुसमुकुसपूर्ण देखिन्छ ।
अब भण्डारीले सक्रिय राजनीतिमा फर्किने भए नयाँ बाटो रोज्नुपर्ने हुन्छ या चुपचाप बस्नुपर्ने हुन्छ । कुन बाटो समात्ने ? त्यसको छनौट स्वयं उहाँको विवेकमा निर्भर छ । उहाँ एमाले राजनीतिमा फर्किन चाहेको, त्यो पनि पार्टी र नेतृत्वसँग सल्लाह नगरी एकाएक हावा–हुण्डरीको शैलीमा…। यस्तो कि भयो होला ? यसरी केही गम्भीर र महत्त्वपूर्ण प्रश्न सतहमा आएका छन् ।
पूर्वराष्ट्रपतिका हैसियतले राज्यले दिने सुविधा फिर्ता गर्दासम्म पनि पार्टी नेतृत्वसँग कुनै औपचारिक सल्लाह गर्नु जरुरी ठान्नुभएन । यी कुरा एमालेपंक्तिले गहिरोसँग बुझ्नु जरूरी छ । त्यो आँट उहाँलाई कसरी आयो ? यो कुरा निकै सन्देह र अर्थपूर्ण रहेको बुझ्न सकिन्छ । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, काठमाडौंका मेयर बालेन, माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता शेखर कोइरालालगायतका नेता र केही नागरिक समाजका अगुवासँग उहाँले गरेको साउतीको रहस्य के हो ? क्रमशः पटाक्षेप हुँदै जानेछ ।
मिशन ८४ को अभियानका साथ अघि बढिरहेको एमालेलाई विद्या भण्डारीरुपी प्रकरणले तीव्र गतिमा हिँडिरहेको गाडीलाई एक्कासी ब्रेक लगाएजस्तै भएको छ । यसले एमालेजनलाई दुःखित् बनाएको छ । नीति र नेतृत्वप्रति एकतावद्ध एमालेलाई कमजोर बनाउने काम भएको छ ।
एउटा कोही मान्छे एमालेको राजनीतिमा फर्किन्छु, पार्टीको सदस्यता नवीकरण गरेँ भन्दैछ । तर, त्यसको उत्साह, उमंग एमालेभित्र छैन । एमालेबाहिर भने भव्य उत्सव चलेझैँ खुसीयाली छ । कतै पार्टीभित्र उहाँलाई सक्रिय गराउनै पर्छ, उहाँ आउनै पर्छ भन्ने स्वर पो छ कि भनेर अध्यक्ष केपी शर्मा ओली सचिवालय, पोलिट्व्युरोदेखि केन्द्रीय कमिटी बैठकमा पूराका पूरा समय आफैँ बसेर, सबैका एक–एक कुरा सुन्नुहुन्छ । अहँ, कोही, कसैले पूर्वराष्ट्रपति त्यसरी आउनुपर्छ, सदस्यता नवीकरण गरिहाल्नुपर्छ भन्दैनन् । नवीरकण भएको भनिएको सदस्यता नवीकरण नगर्ने र सम्मानका साथ राख्नुपर्छ मात्रै भन्छन् ।
यहाँनिर माओवादी पृष्ठभूमिका विद्वान अधिवक्ता रामनारायण विडारीले फेसबुक स्ट्याटसमा व्यक्त गर्नुभएको हरफ स्मरणीय हुन्छ । लेख्नुभएको थियो, ‘एमालेभित्रको आन्तरिक कुरामा अरू दलका लठुवाको चिन्तन, चासो र जबजको वकालत किन रु जवाफ चाहियो ।’
यसको जवाफ हो कि, एमालेको आन्तरिक आवश्यकता, कार्यकर्ताको माग वा चाहनामा हैन, अरू नै कसैको आवश्यकता वा चाहनामा उहाँको आकांक्षा आधारित थियो । त्यसैले एमालेभित्र उहाँको चाहनामुताविकको वा उहाँको पक्षमा उति बहस नहुने, बाहिरचाहिँ दशैंका पिङ मच्चिएझैँ उपबुज्रुकहरु मच्चिरहेका छन् ।
हैन, सक्रिय राजनीतिमा आउने इच्छा नै थियो भने पहिल्यै नेतृत्वसँग परामर्श गरेर, सबै चाँजोपाँजो मिलाएको भए आजको परिस्थिति फरक हुने थियो । त्यसविपरीत अनेकन शंकाका सुविधा दिँदै जसरी अगाडि बढ्नुभयो, त्यसकारण आज बजारमा उहाँका विषयलाई लिएर राम्रा–नराम्रा टिकाटिप्पणी चलिरहेका छन् ।
राष्ट्रपतिबाट बाहिरिँदै गर्दा विद्या भण्डारीले नेपालका राजनीतिक दलका शीर्ष नेतालाई दिएको बिदाइ भोजमा प्रचण्ड माधवहरूले ‘सक्रिय राजनीतिमा आउनुस्, उमेर र सक्रियता छँदैछ’ भनेर उक्साएका थिए । आजको घटनाक्रमलाई उक्त पृष्ठभूमिबाट अलग गर्न सकिँदैन । त्यसमाथि उहाँका अभिव्यक्ति हेर्दा निकै उकुसमुकुसपूर्ण देखिन्छ ।
तर जे होस्, मुलुकको प्रथम नागरिक, प्रथम महिला राष्ट्रपति भएको व्यक्तित्व, देशको साझा अभिभावक भएको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्केर तिनै दलका नेतासँग सिँगौरी खेल्नु कत्तिको उपयुक्त हुन्छ ? उहाँजत्तिको सुझबुझयुक्त मानिसले विचार गर्नुपर्ने कुरा हो । सक्रिय राजनीतिमा फर्केर वा नेपालको आजको राजनीतिक माहौलमा हेलिएर तल झर्दै टीकाटिप्पणी उत्रनु कत्तिको सुहाउँदो कुरा हो ? यी र यस्ता विषयको बेलिविस्तार अहिले नलगाउनु नै उहाँका लागि हितकर हुन्छ । शायद धेरै ताहुरमाहुर नगरी ‘लाहुरेले गुण्टा उफारे’ झैँ नउफारी, शालीन ढंगले बसेको भए परिस्थितिको आवश्यकताले भनौँ वा वा ‘कथा’, समयले उहाँलाई माग्नसक्थ्यो । तर, सग्लो र एकतावद्ध एमालेमा उहाँकै नाममा हुँडलो मच्चाएर चौतर्फी आक्रमणमा परेको एमालेलाई थप धक्का पुगेको यथार्थ हो ।
मिशन ८४ को अभियानका साथ अघि बढिरहेको एमालेलाई विद्या भण्डारीरुपी प्रकरणले तीव्र गतिमा हिँडिरहेको गाडीलाई एक्कासी ब्रेक लगाएजस्तै भएको छ । यसले एमालेजनलाई दुःखित् बनाएको छ । नीति र नेतृत्वप्रति एकतावद्ध एमालेलाई कमजोर बनाउने काम भएको छ ।
दुईपटक राष्ट्रपति, सेनाको परमाधिपति, संविधानको पालक र रक्षक भइसकेको पात्र अवकाशपछि निजी रहर र केही अदृश्य व्यक्ति, समूह वा शक्तिको उक्साहटमा लागेर दलीय राजनीतिमा आउने र फेरि ‘कमरेड’ बन्ने रहर संसारकै संसदीय लोकतन्त्रका लागि लज्जाशरणमको नमुना हो ।
फेरि उहाँसँग को–को बढी अग्रसर भएका छन् भन्ने पनि हेरौँ । हिजो जतिबेला प्रचण्डको मतियारी गर्दै एमाले पृष्ठभूमिका नेता एमाले नै खानका लागि डुक्रिँदै थिए, पछि माधव नेपालाई नै लात मारेर एमालेमा फर्किए । त्यस्ताले विद्यालाई ‘पार लगाउलान्’, ‘वैतरणी तार्लान्’ भन्ने सोचिएको छ भने त्यो अर्को महाभूल हुनेछ । उहाँलाई रुचाउने, उहाँको साथ, सारथी बन्ने एवं उत्तरोत्तर हित, उन्नति र प्रगति चाहने पंक्ति आज पनि उहाँको साथै छ । त्यो पंक्तिले भन्दैछ, ‘जुन सम्मानमा बस्नुपर्ने हो, त्यही सम्मानमा हामी राख्र्छौं । आउनुस्, हाम्रो सम्मान स्वीकार्नुस् ।’
हैन, सक्रिय राजनीतिमा आउने इच्छा नै थियो भने पहिल्यै नेतृत्वसँग परामर्श गरेर, सबै चाँजोपाँजो मिलाएको भए आजको परिस्थिति फरक हुने थियो । त्यसविपरीत अनेकन शंकाका सुविधा दिँदै जसरी अगाडि बढ्नुभयो, त्यसकारण आज बजारमा उहाँका विषयलाई लिएर राम्रा–नराम्रा टिकाटिप्पणी चलिरहेका छन् । त्यस्तो सुनेर उहाँका सघन हितैषी, सहयोद्धा र सहकर्मी बेखुश छन् । कांग्रेस राजनीतिमा डा. रामवरण यादवको इतिहास र योगदान एमाले राजनीतिमा विद्याको भन्दा धेरै माथि थियो । तर, उहाँ मुलुकको प्रथम राष्ट्रपतिकै सम्मानमा बस्छु भन्दै हुनुहुन्छ । उहाँका पार्टीमा पनि राम्रा, नराम्रा कुरा छन् । तर, ‘मैँ सम्हाल्छु’ भन्दै अगाडि बढ्नुभएको छैन । फलतः उहाँ एउटा सम्मानका साथ, केवल कांग्रेस समर्थक वा शुभचिन्तकका निम्तिमात्र हैन, देशभरका गणतन्त्र पक्षधर जनताको एकछत्र सम्मानका साथ बस्नु भएको छ । एमालेका नेतादेखि कार्यकर्तासम्मले विद्या भण्डारी एक त्यस्तै सम्मानयुक्त व्यक्तित्व चाहेका थिए, अझै चाहेका छन् ।
शीतल निवास भएर कुनै पनि बाटो सिंहदरबार वा कुनै पार्टीको कार्यालय पुग्छ भन्ने कसैले सोचेकै थिएन । अहिले जे भयो, त्यसले उहाँको व्यक्तिगत जीवनमा पनि क्षति पुर्याएको छ भने उहाँको कदलाई खुम्च्याउन पुगेको छ । अझ पनि उहाँलाई उकास्नेको कमी छैन ।
उहाँका सामु दक्षिण अफ्रिकाको जस्तै नेल्सन मण्डेला बन्ने अवसर थियो वा सर्वोच्च कमाण्डर गणेशमान सिंह बन्ने अवसर थियो । सिंह कांग्रेसको सभापति बनेनन् । न त कुनै उच्च पदमा रहे । तर जनआन्दोलनको बेला कांग्रेसको मात्र नभएर सबैको नेता बने । यो सुविधा महामहिम विद्या भण्डारीलाई थियो । यस मामिलामा उहाँ चुक्नुभएको छ । यो त्यो इतिहास, यो वर्तमानले दिएको सत्य र यथार्थ कुरा हो । लोकतन्त्रमा कतिपय परम्परा र अलिखित कानून यति बलिया हुन्छन्, तिनलाई लेख्नैपर्दैन । ती यसै बुझिन्छन् । एकपटक सोचौँ त, राष्ट्रपति बन्दा नै भण्डारीले ‘म पछि फेरि सक्रिय राजनीतिमा फर्किने हो’ भन्नुभएको भए आम मानिसको के प्रतिक्रिया हुन्थ्यो ?
जहाँसम्म मुलुकको सर्वोच्च पदमा पुगेर फेरि दलीय राजनीतिमा फर्किने भण्डारीको अभीष्ट थियो वा छ्, त्यो सबै दृष्टिले गलत र अनुपयुक्त छ नै । यसर्थ, दुईपटक राष्ट्रपति, सेनाको परमाधिपति, संविधानको पालक र रक्षक भइसकेको पात्र अवकाशपछि निजी रहर र केही अदृश्य व्यक्ति, समूह वा शक्तिको उक्साहटमा लागेर दलीय राजनीतिमा आउने र फेरि ‘कमरेड’ बन्ने रहर संसारकै संसदीय लोकतन्त्रका लागि लज्जाशरणमको नमुना हो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा एमालेले जोखिम मोलेर पूर्वमहामहिमको उल्टो आकांक्षामा रोक लगाउने निर्णय गरेको छ । संविधान र व्यवस्थाको पक्षमा सत्तारुढ एमाले र प्रधानमन्त्री ओलीको यो अहिलेसम्मकै सुल्टो र ‘बोल्ड’ निर्णय हो । लामो बहस र छलफलमा विविधता- निर्णयमा एकता, नेकपा एमालेको विशेषता हो । ‘वादेवादे जायते तत्वबोधः’ भने जस्तै ।
दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले सचिवालय र पोलिट्व्युरो बैठकको स्प्रीट समाउँदै प्रस्तुत विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा निर्णय गरेको छ । बैठकले पार्टीलाई एकतावद्ध रूपमा अघि वढाउने संकल्पसमेत गरेको छ । यो आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण फैसला हो ।
एमालेले पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो । यस्तो व्यक्ति राजनीतिक दलको नेता, कार्यकर्ता हुने कुरा स्थापित मूल्य-मान्यताअनुसार हुँदैन । यो संविधानको मर्म र भावनाविपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।
सक्रिय राजनीतिमा धीत नपुगेको भए उहाँले राष्ट्रपति नै बन्नुहुँदैन थियो । त्यसबेला राष्ट्रपति बन्न उपयुक्त र इच्छुक पात्र एमालेमा नभएका पनि होइनन् । झलनाथ खनाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ त इच्छुक नै थिए । महिलाबाटै छान्दा उहाँभन्दा सिनियर अष्टलक्ष्मी शाक्यहरु नै हुनुहुन्थ्यो । शायद भण्डारी राष्ट्रपति बन्दा फेरि सक्रिय राजनीतिमा फर्किने प्रयत्न गर्नुहोला भन्ने कसैलाई लागेको थिएन ।
शीतल निवास भएर कुनै पनि बाटो सिंहदरबार वा कुनै पार्टीको कार्यालय पुग्छ भन्ने कसैले सोचेकै थिएन । अहिले जे भयो, त्यसले उहाँको व्यक्तिगत जीवनमा पनि क्षति पुर्याएको छ भने उहाँको कदलाई खुम्च्याउन पुगेको छ । अझ पनि उहाँलाई उकास्नेको कमी छैन ।
अब चुपचाप बसेर, सम्मानित भएर महिला सशक्तीकरण वा वातावरणीय र जलवायु परिवर्तनका क्षेत्रमा पहलकदमी लिएर अघि बढ्नुमै उहाँ स्वयंका लागि, देशका लागि र गणतन्त्रका लागि हितकर हुनेछ । उहाँ निकटका केही नेताले भनेझैँ यो विवादको भूँमरीमा पर्दै राजनीतिक र कानूनी प्रतिवादमा लागे ‘किन रुन्छस् मंगले, आफ्नै ढंगले’ भन्ने उखानसँगै ‘भिरबाट खस्ने गाईलाई राम राम’ भन्नुबाहेक अर्थोक के भन्न सकिन्छ र ?
उदाहरणका लागि भारतलाई हेरौँ । त्यहाँ पनि धेरै राजनीतिज्ञ राष्ट्रपति बने । कुनै पनि भारतीय पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल सकेर सक्रिय राजनीतिमा फर्किने चाहना राखेनन् ।
राष्ट्रपति पद भनेको एउटा नागरिक पुग्नसक्ने सबभन्दा सर्वोच्च र राजनीतिक विवादभन्दा माथिको पद हो भन्ने उनीहरूलाई थाहा थियो । त्यसैले राष्ट्रपति हुँदा पनि उनीहरूले त्यो पदको मान राखे र त्यहाँबाट उत्रिएपछि पनि । यस्ता कुरा छिमेकी देश भारतबाट पनि सिक्न सकिन्छ ।
(लेखक प्रेस चौतारीका पूर्वअध्यक्ष तथा गुल्मी एमालेका नेता हुन् ।)

Leave a Reply