भव्य अँध्यारो र उज्यालोमा एकदिन

“हेर्नु न ! केही दिन हाइकिङ जान पाएन भने खुट्टै कट्कट् गर्ने, जिउ नै दुख्ने भइसक्यो भन्या !”

कसले कसलाई भनेको ठान्नु भएको होला । यो मैले यहाँहरू पाठकलाई नै भनेको । लगभग एक महिना भैसकेको थियो हाइकिङ नगएको पनि ।

यो पाला कहाँ जाने भनेर सोचिरहेको बेला ह्याप्पी हाईकर्सको ग्रुपमा मेसेज आयो “सप्तकन्या गुफा र झरनामा जाने भए नाम लेखाउनुस् ।”

ओहो सातवटा र गुफा अनि झरना रहेछ कि क्या हो भन्ने मनमा आयो । एकछिन सातमा घोत्लिन मन लाग्यो ।

सात कन्या, सात ऋषि भएको देश । पाश्चात्य दर्शनमा लक्की सेभेन भनेको सम्झेँ । पूर्वीय दर्शनमा सातलाई बेजोड अङ्क मानिने रहेछ । सात महासागर, सात महादेश । पृथ्वीबाट देखिने सात ग्रहहरू । अनि जीवनका सात बार । सात रङ्ग । सात सुर । सौर्य मण्डलका सात प्लानेट छन् । मान्छेभित्रको सात चक्र । हाम्रो सप्तकोशी नदी ।  विवाहको ढोका उघार्दा लगाइने सात फेरो । भाइटीकाको सप्तरङ्गी टीका । सुन्दर फूलको सात पत्र ।

कति हो कति सात देखेँ । सा मा त पछि आउने थ थपौँ न त भन्ने लाग्यो । र, सात हेर्नको लागि साथ दिन मन लाग्यो । ह्याप्पी हाईकर्सको हेड सर मित्र राजाराम फुयाँललाई भने “मेरो नाम हाल्दे न त !”

साउने पानी छल्न नवदुलहीहरू माइत गइरहेको यो समयमा म भने साउनको पानीमा खेल्न मन लागेर यता लागिरहेको थिएँ । मित्र सुरेन्द्र फुयाँलले फेरि सुतिसकेपछि राति म्यासेज पठाएछ ।

कहाँ जाने यो पाला ? चुज वन ।

हात्ती झरना दोलखा ।

धेरै झरनाहरू धुन्चे

सुन्दरीजलका झरना हेर्दै धाप डयाम्प नागमती हुँदै आउने ?

दुवै फुयाँलहरू मुलपानीका बालसखा । किशोरकालमा हामी पाँचजना मिलेर मुलपानी भित्ते समाचार भनेर चलाउँथ्यौँ । पाँचमध्ये सुरेन्द्र र राजारामसँग क्लब, लाइब्रेरीहरूमा सँगै काम गरेको लगायतका थुप्रै यादहरू छन् । राजारामलाई बेलुकै नाम टिपाइसकेको । सुरेन्द्रलाई रिप्लाई म्यासेज पठाएँ “झरना र गुफा नै जाऊँ न त हिँड् ।”

भन्यो “मेरो मिल्दैन यार ! अर्को बिहानै ५:०० बजे उठेर जुलुसमा हाइक गर्न अलिक सक्दिनँ ।”

यता नाम टिपाइसकेको । धोका दिन मन लागेन । फेरि सुरेन्द्रले लेखेछ “धोकेबाज हौ तिमी.. धोकेबाज हौ तिमी” भन्ने गीत । साथी भनेको यही त हो । उसले उताबाट लेख्यो धोकेबाज, म यताबाट मुस्कान लिएर मस्किरहेँ ।

                      ०००

गुगल सर्च गरेँ । दामी फोटो रहेछ । सातवटा हैन गुफा अनगिन्ती रहेछ झरना भने एकै । लाग्यो, एकै ठाउँमा गुफा र झरना भएको पृथ्वीको कति ठाउँ होला र  ! नेपाल सम्झँदा गर्व लाग्यो । यस्तो ठाउँ पनि छ । जहाँ झरनाबाट छिरेर गुफा जानु पर्दछ । कहिले पुग्ने होला त्यो ठाउँ भनेर खुट्टा उचालेर बसेँ ।

भव्य अँध्यारो र भव्य उज्यालोको बीचको । गुफा र झरना बीचको । एक दिन कस्तो होला ? आफैँलाई अलौकिक लाग्यो । सम्झेँ, मान्छे उज्यालोका खोजीमा संसार विचरण गर्दछ । तैपनि कतिले उज्यालो पाउँछन् र ?

म एकै ठाउँमा उज्यालो र अँध्यारो हेर्न जाने भएँ । शनिबार कहिले आउला जस्तै उत्साहित भएँ । ह्याप्पी हाइकर्सको बाध्यता धेरै मान्छे एकै गाडीमा लैजानु पर्ने टाढा जानुपर्ने भएकोले बिहान ५ बजे नै गाडी गुडाउँछ । यसरी गुड्न एकदिन त रमाइलो हुन्छ । हरेक हप्ता अलिक अफ्ठयारै लाग्छ । एक दिन त हो भन्ने पनि हुन्छ, तर शनिबारको दिन बिहानै ५ बजे नै उठ्दै आँखा मिच्दै गाडीमा जान बिहान ढिला उठ्ने मजस्तो अल्छीलाई भने हम्मे-हम्मे पर्दछ ।

शरीर फेरि गज्जबकै छ । मन परेपछि र उसले जरुरी सम्झेपछि दिमागलाई आदेश दिएर राति नै दुईपल्ट ब्यूँझाइदिन्छ । कुनै कुरा जरुरी ठानेपछि समय जाला भनेर हामी धेरै जना धेरैपल्ट उठेका छौँ । म पनि ४:३० मै ब्यूँझिएँ । चप्पल कारखानाबाट साउन ३ को शनिबार ५:३० मा गाडी चढियो । ओहो ! अँध्यारो र उज्यालो हेर्न अँध्यारैमा हिँडियो उज्यालैमा आइन्छ भन्ने लाग्यो ।

उपत्यका बाहिर गाडी जाँदा पटके कर काट्नु पर्ने रहेछ । २४ घन्टै बस्नुपर्ने पटकेको लागि मान्छे नभएर ढुङ्गे अड्डामा गाडी ड्राइभरको ताँती लाग्यो । कर तिर्ने ठाउँमा मान्छे नहुने । कर काटेन भने अर्को एक हजार जरिवाना तिराउने रहेछ । यता मान्छे छैन । उता नतिरेको भनेर जरिवाना पनि तिराउन मिल्छ भनेर कराउँदै थिए ड्राइभरहरू भन्दैथे- “सिस्टममा देश चल्ने भन्ने त सपना भइसक्यो !”

बिहानको समय सूर्य एक-एक मिनेटमा बदलिन्छ । मान्छेको आधा घण्टा समय गइसकेको थियो । हामी पनि टाढा पुग्नु थियो । साथीहरू सबै ओर्लिए । मन शान्त भएपछि बाहिरकोले अशान्त केही गर्दैन । कोही चिया खान थाले कोही पानी वा कोही फोटोमा । एक छिनपछि पटके खुल्यो र चिट काटेर गुड्यो गाडी ढुङ्गे अड्डाबाट ।

ढुङ्गेअड्डा , नैकाप , गोदामचौर , चन्द्रगिरी केबलकार,  चित्लाङ, वज्रवाराही, कुन्छाल, ओखरपाखर, पालुङ, भुङ्धुल खोला, घर्ती खोला, भालचौर, बाघ खोला, बन्द भकारी ढुङ्गा दामगडी हुँदै टुप्पो गाडीमा चार घण्टा बसेपछि डाँडाबास पुगियो ।

त्यहाँ हाम्रो ब्रेकफास्ट थियो- सेल, तरकारी, चिया र अण्डा । सेलले एसिडिटी बढाउने सम्झेर हामी तीन ढकाल दाजुभाइ तरकारी चिउरामा लाग्यौँ । दूधको नभई कालो चिया खायौँ- लामो बाटो हिँड्नु छ, अमिलो पानी मुखमा आयो भने झ्याउ हुन्छ भनेर । त्यहाँ कोही साथीले प्यान टप हालेर सेल खानुभयो ।

डाँडामा बास बसेको डाँडाबासमा चिटिक्क मिलेको गाउँ रहेछ । विकसित भएको ठाउँमा घरहरू जोडिएको हुन्छ । त्यहाँ पनि पङ्क्तिबद्ध भएर घर जोडिएर बजार बनेको रहेछ । नौ पोखरी होटेल एन्ड लजमा खाजा खानुअघि मलाई चारजना बच्चाले आकर्षित गरे ।

म र मेरो भाइहरूले दशैँमा एकै लुगा लगाएजस्तै एकै स्विटर र प्यान्टमा दुई दाजुभाइ थिए । विनय गुम्बा, रुविन गोले एभिन्यू गोले, लियान, नेशान र लियानसँग कुरा गरेँ । पालुङकै श्री पालुङ माविमा यूकेजी र एक कक्षामा पढ्ने बच्चाहरूसँग रमाइलो लाग्यो । तीमध्येको सानो मान्छेले आँखामा ठूलो चस्मा लगाएको देखेर कुरा गर्न मन लाग्यो ।

सोधेँ “किन चस्मा लगाएको ?”

एभिन्यूले भने “बाथरुममा जान्छ भनेर ममीले फोन दिएको अनि चस्मा लगाउनुपर्‍यो ।”

पाँच वर्षीय एभिन्यूले वर्तमान जीवन दर्शन बोलिरहेका थिए । आजकलका बच्चालाई बाबुआमाले रुन्छ भनेर, खाना खाँदैन भनेर, बाथरुममा पानी खेल्न जान्छ भनेर मोबाइल दिँदा हुने असर एभिन्यूको जवाफबाट बुझिन्थ्यो । केही समय सजिलोको लागि लाग्दा लामो जीवन गाह्रो हुने दर्शन नबोलीकनै बोलिरहेका थिए ।

डाँडाबासमा बास बस्ने कुरो थिएन । घाम चर्कँदै थियो । डाँडाबास स्मारक हेरियो । स्मारकमा उभिएर स्थानीय पदमबहादुर थिङ्गले भने “तपाईँहरू अहिले वडा नम्बर ७ थाहा नगरपालिका डाँडाबासमा हुनुहुन्छ, तपाईँ पुग्ने ८ नम्बर वडा हो, तपाईँलाई एकजना साथी दिएर पठाउँछौँ लगभग दुई घण्टा लाग्छ, जानुस् ।”

१०:०० बजे खाना खाने नेपाली समयमा ब्रेकफास्ट लिएर हामी ओर्लियौँ । हामी डाँडाबाट गुफा पुग्नु थियो । गाउँगाउँमा बनेका कच्ची बाटोमा धुलाम्मे गाडी उडाएर लैजाने चलन चलिसकेको छ । बाटोमा गाडी भेटियो, काठमाडौं पकली हेटौंडा लेखिएको । छतमा समेत मान्छे बोकेर हिँडेको गाडीको हर्न यति चर्को थियो कि नजिकै भए कानको सुन्ने डेसिमल नै उड्थ्यो होला !

अलिक पर पुगियो । रोकिरहेको ट्रकको सायरीले तान्यो-

पढाई किन बीचमै छोडिस् भनेर

पछुतो नगरी दिनुस् महोदय 

परीक्षामा गरिब भन्ने विषय लाग्यो 

कटाउनै सकिनँ, यथार्थ जिन्दगीमा ।

बाटोमा फूलेका फूलहरू । मकैको बोटहरू । मकैको बोटमा बेरिएका बोडी सिमीहरूसँग स्पर्श गर्दै ओरालो ओर्लँदै गयौँ । डाँडाबाट हामी गुफा पुग्नु थियो । लगभग २२ सय हाइटबाट ७/८ सयमा झर्नु थियो । प्रकृतिका रङ्गहरू साउने हरियोका फरकहरू हेर्दै रातो, पहेँलो हेर्दै हिँडिरह्यौँ । डाँडाबासबाट नौ किलोमिटर ओर्लँदा सुन्दर गाउँहरू भेटियो । राम्चे, सल्ले, ऐँसेलुखर्क, हाँडी खोला, किटिया आइपुग्यो ।

किटिया चउरमा सप्तकन्या गुफाबाट तामा झिकेर चउरमा ल्याएर पगालेको भन्दै थिए स्थानीय धिरज कार्की । भने “सात पुस्ता अगाडि रे तामा पगालेको, संवत् थाहा भएन कहिले निकालिएको भन्ने ।”

किटियाबाट केहीबेरमै सप्तकन्या झरना र गुफा आइपुग्यौँ । ओहो ! २ घण्टा १५ मिनेट सम्म हिँड्न मिल्ने गुफा छ भने स्थानीय कार्कीहरूले यहाँ सुतार कार्कीहरू ३ सयभन्दा बढी घर रहेछन् । बाटोमा धेरै कार्कीहरू भेटियो । जसको पनि थर सोध्दा कार्की भन्दथे ।

                      ०००

कानले झरना आयो भन्यो । झरनाको आवाजमा थपियो घन्टको आवाज । घन्टको आवाजले सङ्केत गर्‍यो देवीदेवताको मन्दिर । सबैभन्दा पहिले आयो सप्तकन्या देवीको मन्दिर । लौ दर्शन गरौँ भनेर गरियो । त्यही दिन भव्य पूजा रहेछ त्यहाँ । हामी पुग्दा लगभग दिनको दुई बज्न खोज्दै थियो ।

नवदुर्गा मन्दिर र खानीखोलाको निर्माण समिति रहेछ । जुन २०७० सालमा बनेको रहेछ । आग्रा ८ मकवानपुर भनेर लेखिएको बोर्डमा परिवार र टोल पढेँ । जुन रुचिकर लाग्यो । बिसाउनी डाँडाका थिङ्हरू । जामुन्ने डाँडाका भुजेलहरू । चापाखोल्ची पुछारघरका र जडीटोलका रुम्बाहरू । आग्राका लामा, परियार , खड्का, रुम्बा, घलापन, विश्वकर्मा, सेन्चुरीहरू ।

खानीखोला र बाहुन गाउँका अर्यालहरू ।

किटिनी, थरी, साहू टोल, ठूलोघर, डाँडाघर, भन्ज्याङ, कार्की गाउँका कार्कीहरू मिलेर त्यो ठाउँ बनाएको रहेछ । देवतालाई नमस्कार गर्दा उहाँहरूको टोल र थरलाई पनि नमस्कार गरे झैँ लाग्यो । मान्छे ठाडो ओरालोमा नलडुन् भनेर रेलिङ हालिएको थियो । मन्दिर पछि पनि ओरालो ओर्लियौँ । कानमा बजेको सप्तकन्या झरना आँखामा आइहाल्यो । साथीहरू लुगा खोल्न थालिहाले । गर्मीले सताइरहेको थियो । ठाडै ओरालो ओर्लँदा चर्केको घामले तालु सेकाउँदा ज्यानले भने चिसो खोजिरहेको थियो ।

                 ०००

झरनासँगै थियो पोखरी । चरा झैँ पोखरीमा पौडी खेल्न थालिहाले साथीहरू । झरनामा फोटो लिन थाले । लुगा खोलेर आफू पनि पोखरीमा पखालिन थालेँ । पहिले गुफा जाउँ भनेपछि पो थाहा भयो । गुफाको द्वार त त्यही पोखरीसँगैको दाहिनेपट्टि रहेको कालो प्राकृतिक ढोका पो रहेछ ।

केही गुफाभित्र छिरिसकेका थिए । कार्कीको जुलुस भएको गाउँमा पुगेका हाम्रो टोलीका नवीनजङ्ग कार्की भाइ जुत्ता लिन दौडँदै आएपछि गुफामा जुत्ता लगाएर जानुपर्ने थाहा भयो । लुगा खोलेर पखालिन सुरू गरेको मान्छे जुत्ता लिएर पहिले गुफा हेरौँ अनि नुहाउँ भन्ने भयो । हो रहेछ हिँड्नै गाह्रो हुने ढुङ्गाको छेस्कोले घोचेर । जुत्ता लगेको राम्रै भयो । गर्मीमा नुहाउन छिरेको त्यही लुगा लगाएर गुफा छिरियो ।

ओहो ! तामा झिकेर मान्छेले बनाएको गुफा कति ठूलो रहेछ ! भित्र त फुटसल खेल्न मिल्ने खालकै । हजार लाख चमेराहरू कराउँदै उडेका । भित्र एक ठाउँमा कचक्कै कुल्चियो । के भनेको त हाम्रो गाईको गोबरजस्तो जमेको चमेराको लिदी !

यत्तिकैमा स्थानीय एक भाइले चमेरा समातेर ल्याए । नजिकबाट देखेको थिइनँ । चमेराको पखेँटा चमेराभन्दा धेरै ठुलो हुने रहेछ । बेला बेला आएर ठोक्किउँला झैँ गर्दथे । टाउकोमा टर्च बालेर हिँडेको अँध्यारोमा बस्ने चमेरोलाई मन परेको थिएन । त्यही भएर उनीहरू उडेर यता उता गर्दथे । कहिले आएर ठोक्किन्थे । हामी चमेरासँग डराएको थियौँ । चमेरा हामीसँग डराएको थियो ।

जहाँ जहाँ आउँछ तामा झिक्दै गएकोले होला । गुफाको मुख्य गेटबाट छिरेपछि अनेक गेटहरू देखिए । दायाँ बायाँ सबैतिर जान मिल्ने थियो ।

एकजना मात्र छिर्न मिल्ने दुलोबाट अलिक भित्र छिरेपछि स्थानीय भाइले ठ्याक्कै नागको नक्शाजस्तै ढुङ्गा देखाए । म तीन छक परेँ । हुबहु नाग । नाग वा सर्प आइ हाल्छ कि भनेर डर नै लाग्यो ! पानी पनि बगिरहेको थियो नक्शामा । नागको नक्शाबाट बगेको पानी चिसो मीठो थियो । एकपल्ट चमेरालाई सर्पले लखेटेको बताउँदै थिए स्थानीयहरू । डरमाथि डर थपिन्थ्यो । धेरै मान्छे छौ के त होला भन्ने पनि लागिरहेको थियो ।

तल ढुङ्गामाथि ढुङ्गा बीचमा हामी हिँडिरहेको ढुङ्गा । ढुङ्गै ढुङ्गाको गुफामा थियौँ । बत्तीको पुतली झैँ चमेराहरू चम्किरहेका थिए । ककारोबाट हामी निस्किरहेका थियौँ । स्थानीय मान्छेहरू पनि पूरै नछिरेको र धेरै ठूलो गुफा भएको बताउँदैथे । हराउँछन् मान्छेहरू भन्दैथे । अक्सिजन पुग्दैन भन्दैथे । यकिन नै भएको थिएन । गुफा कता हो कता ।

सोच्नेले अनेक सोच्छन् । यही बेला भूकम्प आयो भने के गर्ने होला भनेर एकजना चिच्याए । एक अँध्यारोको डर थियो । अर्को डरमाथि डर थप्ने कुराहरू । कोही चितुवा लुकेको हुन्छ भन्थे । हामी ३० जना भएको मान्छे त एकैछिनमा को कता, को कता भयौँ । दुई-तीनजना मात्रै सँगै । तीखो ढुङ्गाले च्वास्स हुँदा केही साथीको खुट्टामा रगत आएको थियो । कहीँ ठूलो, कहीँ एक जना मुस्किलले छिर्ने ठाउँ । धेरै टाढा जान डर लाग्यो । फोटो भिडियोहरू लिएर लगभग ४५ मिनेट गुफामा टहलिएपछि निक्लियौँ ।

                       ०००

गुफा छिरेर निस्केपछि लाग्यो । मान्छे आफैँभित्रको डर जित्न गुफा छिर्दछ । अँध्यारो कालोमा छिरेर आफैँभित्रको उज्यालो खोज्न मान्छे गुफाभित्र छिर्दछ । डरबाट जितेर साहस पैदा गर्न छिर्दछ । ध्यान योग प्रणायाम गर्न ऋषिमुनिहरू हिमाली र पहाडी गुफामा तपस्या गर्ने गरेको सुनेथेँ, पढेथेँ । उहाँहरूले पनि आफैँभित्रको उज्यालो खोज्न अँध्यारो गुफामा छिर्नुभयो भन्ने लाग्यो ।

एक दिन अँध्यारो र उज्यालोको भव्यतामा दिन बिताएँ भन्ने लाग्यो । प्रकृतिको विराट क्यानभासमा आफैँ आफ्नै चित्र खोजिरहेँ । फूलमा , फलमा , बोटमा , चरामा , जरामा , जङ्गलमा , खोलामा , नालामा , झरनामा आकाशमा र गुफामा सबै सबैमा आफैँलाई अलिअलि देखेर दङ्ग परे ।  प्रकृतिको बाहिर र भित्र आफैँ पो रहेँछु झैँ लागिरह्यो ।

प्रश्न आयो मनमा । पृथ्वीमा झरना र गुफा दुवै एकै ठाउँमा भएको दिव्य अलौकिक ठाउँ कति होला ?  अझ गुफामात्रै कति होला सिङ्गो पृथ्वीमा ? अनि झरनामात्रै कति होला ? नेपाललाई कत्ति दिएको प्रकृतिले भनेर फेरि एकपल्ट प्रकृतिलाई ढोग्न मन लाग्यो ।

सोचेँ,  धनी मान्छेले गुफा किने कतिमा किन्न सक्ला ? कृत्रिम गुफा बनाउन पर्दा कति पैसा लाग्ला ? संसारमा कति कहाँ के-के होला नदेखिएको । नभेटिएको । यो पनि नदेखिएको नभेटिएको एक चिज भेटिए झैँ सन्तुष्ट भएँ ।

                     ०००

ओरालो मात्र आजको हाइकिङको विशेषता थियो । खुट्टाले आज ओर्लिएको ओर्लियै गरेको सङ्केत देखाइरहेको थियो । मोरियामा खाना खान आउँदा मधु दाइले खुट्टा टेक्न गाह्रो मानेको देखेर सोधेँ- के भयो ?

भन्नुभयो “आज ओरालो मात्रै पर्‍यो हाइकिङ्‍मा खुट्टा दुःखेछ यार !”

हल्का सबैलाई दुःखेको थियो । खुट्टा दुखाएर मन खुशी पारेका थिए सबैले । एकदिन भए पनि प्रकृतिको दिव्यतामा भव्यतामा भएकोमा आफैँलाई भव्य ठानेँ । भित्र अँध्यारो, बाहिर उज्यालो त्यो सप्तकन्या जस्तै हामी त छैनौँ भन्ने लाग्यो । हामीभित्र उज्यालो भए बाहिरको अँध्यारोले केही गर्दैन । तर, भित्रै उज्यालो भएन भने बाहिरको उज्यालोको के काम भन्ने लाग्यो ।

रङ्ग हेर्दछौ रङ्गीन हुँदैनौ भने ! लाखौँ उज्यालो बत्ती हेर्दछौ, लाखबत्ती बाल्दछौँ, तर मनभित्र बलेन भने ! यस्तो गुफा हेर्दछौँ भित्र उज्यालो आएन भने ! झरनामा नुहाउँछौ त्यो उज्यालो चहक र शीतलता मनमा प्रवेश गरेन भने ! वर्षौँदेखि चाडबाड बनाउँछौ मनमा चाडबाड लागेन भने !

सप्तकन्या गुफा र झरना हेरेर फर्केपछि यो भने भन्ने धेरैपल्ट आयो  र गयो पनि । गरेन भने हटाउनै पर्ने र हुन्छ, बल्दछ, आउँछ, गर्दछ , लाग्दछ जस्तो सकारात्मकता शब्द सप्तकन्याले हामी सबैलाई दिनेछ भन्ने त्यो दिनको हाइकर्स टोलीले अठोट गरे । यो प्रतिबद्धता जाहेर गर्नेहरू राजाराम फुयाँल , भुवन ढकाल, मधुसुदन ढकाल, किशोर थापा , प्रदीप कँडेल , निराकार श्रेष्ठ , सनत रेग्मी , नवीनजङ्ग कार्की , सौरभ कँडेल , जय दाहाल , कमलविक्रम विष्ट , बाबुकाजी महर्जन, मनोज प्याकुरेल , राम श्रेष्ठ , भोला खनाल, अशोककुमार श्रेष्ठ, बद्री अर्याल , प्रमिला सापकोटा, सुमन अर्याल , हिमाली बतास , बमबहादुर थापा, कृष्ण थापा, राजन बराल, विदुर खड्का, राजेन्द्र भण्डारी, शंकर आचार्य, हरिहर रेग्मी, राम थापा, खड्क पाण्डे र म ।

प्रति व्यक्ति ११ सय तिरेर ह्याप्पी हाइकर्स बन्न हिँडेका थियौँ हामी । यसैमा बिहानको ब्रेकफास्ट , पानी र खाना र आतेजाते थियो । सस्तो यात्रामा महँगो अनुभव लिएर बिहान ५:३० देखि बेलुका ९:३० सम्मको यात्रा समाप्त भयो ।

तस्वीरहरू: निराकार श्रेष्ठ ।

Comments

One response to “भव्य अँध्यारो र उज्यालोमा एकदिन”

  1. Laxman Saud Avatar
    Laxman Saud

    सप्तकन्या गुफा र झरना घुम्दा जुन किसिमको अविस्मरणीय अनुभूति भएको थियो, हजुरको यो लेख पढ्दा सबै यादहरू फेरि पनि ताजा भएको अनुभव भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *