नेकपा एमालेमा विधान महाधिवेशनमात्र नभएर ‘नीति तथा विधान महाधिवेशन आयोजना गर्नु उचित हुन्छ । किनभने विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनमा पनि छलफल र निर्णय हुन्छ । केन्द्रीय कमिटीको संख्या नघटाएर ३०१ नै कायम गर्नु उचित हुन्छ । जिल्ला कमिटी नै कार्यकारी कमिटी हुनुपर्छ किनभने जिल्लामा कामको विशिष्टतालाई जिल्ला कमिटीले संयोजन गर्न सक्छ । दुईथरी सदस्यता मध्ये पार्टी प्रवेश पत्रको रुपमा ‘पार्टी सदस्य’ लाई प्रयोगमा ल्याई अघि बढाउनु व्यवहारिक हुनेछ । जिम्मेवारीविहीन व्यक्तिहरूलाई अविलम्ब जिम्मेवारी प्रदान गर्ने गरी अघि बढ्नु पर्दछ ।
पाँचौ महाधिवेशन पछिका प्रायः महाधिवेशनहरूले पार्टी पंक्तिलाई भयानक त्रास दिएर गएका छन् । पार्टीको एकताबद्ध र सबल हैसियत सुनिश्चित गर्ने भन्दा विवाद, विभाजन र फेरि विवादको अन्त्यहीनजस्तै शृंखला चल्दै आएको छ । यतिबेला सरकारको नेतृत्व गरिरहेको पार्टीको नीति र नेतृत्व निर्माण खासमा राष्ट्रिय आवश्यकतामा आधारित र तदनुरूपको भूमिकाकेन्द्रित भएर नै गर्नुपर्छ । त्यस दृष्टिले आज हामीले गर्नुपर्ने के हो ? हाम्रो राजनीति र विधानले यो कुरा आत्मसात् गर्न सक्नुपर्छ ।
पहिले राष्ट्रपति निर्वाचित गरेर पठाउँदा पुनः पार्टी जिम्मेवारीमा नफर्किने ढंगको छलफल भएको होइन ? मैले सम्झिएसम्म अध्यक्ष कमरेडले राष्ट्रपति बन्नको लागि पहिलो प्रस्ताव माधवकुमार नेपाललाई गर्नुभएको थियो ।
आज पार्टीमा सिद्धान्त, नीति, विचार र कार्यदिशामा कुनै समस्या छैन । नेतृत्वमा होडबाजी पनि खासै ठूलो छैन । एकहिसाबले प्रचण्डको कब्जामा पुगिसकेको पार्टीलाई जोगाएर आजको जनमत र राजकीय जिम्मेवारीको केन्द्रभागमा उपस्थित, सुरक्षित र स्थापित गर्ने कामको नेतृत्व कसले गरेको हो ? कसको नेतृत्वमा त्यो सब भएको हो ? एमालेविरोधी गठबन्धनको सामना गरेर जनमतमा पहिलो र निर्वाचित संख्यामा देशकै दोस्रो ठूलो पार्टी बनाउने कार्यको मियो र मुख्य नेतृत्वकर्ता को हो भनेर हामीले यहाँ बहस र छलफल गरिरहनै पर्दैन ।
अनि विधान महाधिवेशनको सम्मुखमा हामीले कस्ता विषयमा छलफल गरिरहेका छौं ? यो किन गरिरहेका छौं ?
पराजित भएपछि नेतृत्वको निन्दा भर्त्सना
हिजो चीनमा ६५/७० वर्ष र दुई कार्यकाल कार्यकारी नेतृत्वको अभ्यास थियो । सायद हामी त्यसबाट बढी प्रभावित भयौं र आठौं महाधिवेशनबाट त्यसैलाई अपनाउन पुग्यौं । त्यसको पालना मोदनाथ प्रश्रित, वाचस्पति देवकोटा र महेन्द्रबहादुर पाण्डेलगायत केही सिमित नेताहरूले गरेर नेतृत्वबाट अवकाश लिनुभयो । जबकि आज चीन स्वयं त्यस अभ्यासबाट टाढा भइसकेको छ । भारतीय अभ्यास पनि भिन्न भएको देखिन्छ । खासमा त्यस सुन्दर ठानिएको प्रबन्धले व्यवहारमा हामीलाई कुनै सुन्दर परिणाम दिएको देखिएन ।
हामी आज चौतर्फी घेराबन्दीमा छौं । यसको सामना पार्टीलाई आन्तरिक रूपमा एकजुट र सुदृढ गरेर मात्रै गर्न सक्छौं । त्यसका निम्ति बलियो र सबैलाई स्वाभाविकरूपमा नेतृत्व गर्नसक्ने पार्टीको मुख्य नेतृत्वको क्षमता हुनैपर्छ । हाम्रो मुख्य नेतृत्वले पार्टीभित्र सबैलाई योग्यता र क्षमताअनुसार काममा सक्रिय बनाउनुपर्छ र हामी सबैले आआफ्नो परिभाषित जिम्मेवारीलाई तमाम चुनौती र घेराबन्दीका बीच पनि सफल रिजल्ट निकालेर कामचाहिँ फत्ते गर्नैपर्छ । यस हिसाबले हामी हरेकले आ-आफूलाई ऐनामा हेर्दै कठोर संकल्प गर्नु आज पार्टीव्यापी रूपमा आवश्यक भएको छ ।
पूर्वराष्ट्रपति वा पार्टीको नेतृत्वपंक्तिका हरेक व्यक्तिको व्यवस्थापन र परिचालनको मुख्य जिम्मेवारी पनि तपाईंकै हो । यो गुरुत्तर जिम्मेवारीलाई बहन गरेर नै यस पार्टीलाई मिसन- ८४ मा राष्ट्रको प्रमुख एवं निर्णायक शक्तिका रुपमा स्थापित गर्न सम्भव हुनेछ ।
मेरो विचारमा नेतृत्वको हिसाबले हामी गर्व गर्नलायक स्थितिमा छौं । मेची पनि हाम्रै हो, महाकाली पनि हाम्रै हो । तराई, हिमाल, पहाड, चुरे, भावर र महाभारत सर्वत्र हाम्रै आशा छ । तर, पार्टीको अग्रगतिको बाधक आज हाम्रा प्रतिस्पर्धी र विरोधी नभएर हामी आफैँ भइरहेका छौं । हामी घेराबन्दीविरूद्द दृढतापूर्वक र एकताबद्ध प्रतिवाद– मुकाबिला गरिरहेका छैनौं । नाइस टु अल बन्न लालायित देखिन्छौं । नेता-नेता, कार्यकर्ता-कार्यकर्ताबीच न्यूनतम समझदारी, संस्थागत कार्य प्रवृत्ति र सहकार्य एवं कमरेडली हार्दिकताको भावना छैन । नेतृत्वमाथि अनुचित आक्रमण र हमला भइरहँदा अति न्यानो मान्छौं र रमिते भइदिन्छौं ।
प्रतिस्पर्धा गर्छौं, तर पराजय स्वीकार्न सक्दैनौं । हानथाप गर्दै उम्मेदवार बन्छौं, पराजित भएपछि उल्टै नेतृत्वको निन्दा÷भत्र्सना गर्दै सुरक्षाको छाता खोज्न भौतारिन्छौं । खासमा हामी सिद्धान्तनिष्ठ, एकजुट र कमरेडली छैनौं, क्यारियरिष्ट भइरहेका छौं । र, अवसरदेखि अवसरको तृष्णामा छौं । मैले के पाएँ भनेर आत्मनिन्दामा जुटिरहेको भेटिन्छौं । जुनसुकै पार्टीको नेतृत्व रातारात बन्दैन र स्थापित हुने पनि होइन । आज हेरौं न पार्टी निर्माणका बेला नेतृत्व गर्नुभएका सीपी मैनाली , माधव नेपाल , झलनाथ खनाल कहाँ हुनुहुन्छ?किन आज त्यती टाढा पुगेको होला ? पार्टीले दिन बाँकी केही थियो त ? पार्टीले राष्ट्रपति, प्रधानमन्त्री र सयौं मन्त्रीहरू बनाउने क्षमता त देखायो । तर, जिम्मेवारीले अनुभवी भएका सबैलाई कहाँकहाँ राखेका छौं ?
विद्या भण्डारीको बारे
पूर्वराष्ट्रपति फेरि पार्टीमा सक्रिय हुने कि नहुने ? संविधान र कानुनले कहीँ रोकेको छैन । तर, सर्वोच्च स्थानबाट फर्केर किन आउनुपर्यो ? पार्टी नेतृत्व संकटमा छ भने केन्द्रीय कमिटीले छलफल गरेर एकताबद्ध रूपमा ल्याउन पनि सक्छ होला । तर, त्यसो गर्न हामी आज सहमत छौं ? सामान्यरूपमा संवैधानिक राष्ट्रपति भएपछि फेरि पार्टी जिम्मेवारीमा फर्किनु हुँदैन । माओवादीले उपराष्ट्रपतिलाई सायद उपाध्यक्ष बनाएको छ, उसले किन त्यसो गरेको होला ? ऊ स्वयं जवाफदेही होला ।
हामीकहाँ अध्यक्ष कमरेड र नेतृत्वले पूर्वराष्ट्रपतिज्यूसँग छलफल गरेर संस्थागत निर्णयमा पुग्नु अनिवार्य छ । प्रतिस्पर्धाको हानथाप जरुरी छैन । दुई बर्षअघि हामीले उहाँलाई सर्वोच्च गणतन्त्र सम्मानले सुशोभित गरिसकेका छौं, अब प्रतिस्पर्धाको मैदानमा सामना गर्नुपर्ने हो? अध्यक्ष कमरेड छलफल गर्नुहोस् र सम्मानजनक रूपमा चर्किन लागेको समस्याको सेटल गर्नुहोस् ।
पहिले राष्ट्रपति निर्वाचित गरेर पठाउँदा पुनः पार्टी जिम्मेवारीमा नफर्किने ढंगको छलफल भएको होइन ? मैले सम्झिएसम्म अध्यक्ष कमरेडले राष्ट्रपति बन्नको लागि पहिलो प्रस्ताव माधवकुमार नेपाललाई गर्नुभएको थियो । उहाँले मेरो उमेर छ, पार्टीमै काम गर्छु भनेर लालबाबु पण्डित, शान्ता चौधरी र महेश चौधरीका नाम प्रस्ताव गर्नुभएको थियो । र, अन्तिममा तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय भएको थियो ।
यतिबेला सरकारको नेतृत्व गरिरहेको पार्टीको नीति र नेतृत्व निर्माण खासमा राष्ट्रिय आवश्यकतामा आधारित र तदनुरूपको भूमिकाकेन्द्रित भएर नै गर्नुपर्छ ।
हामी र सिंगो पार्टीपंक्ति तपाईं र उहाँको बीचमा निर्वाचन नभएर सर्वसम्मत नेतृत्व निर्माणको व्यग्र प्रतीक्षामा रहेको निवेदन गर्न चाहन्छौं । विवाद र अन्तर्संघर्षको बेला केके हुन्छ र विगतमा केको भएको छ ? उहिले मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार र निर्मल लामालाई सीआईडी भनेर पुस्तक र लेख नै लेखे, मृत्युपछि पुस्तकको नामै बदले भने निर्मल लामालाई अस्पतालको शय्यामा पुगेपछि आखिरी समयमा सायद चेतना गुमाइसकेपछि भेट्न पुगेर गलत आरोप लगाएको रहेछु भनेर माफी मागे । हामी त्यसखाले आरोप-प्रत्यारोपबाट मुक्त भएर राष्ट्र र पार्टीको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्न सक्नुपर्छ ।
हेक्का राखौं- हामीलाई अरू पार्टीले पछ्याउँदै अघि बढेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धीहरू हायलकायल छन् । सँगसँगै उहाँका सहयोद्धाहरुले नेतृत्व, अभिभावकत्व, न्यायोचित व्यवहार, मूल्यांकन र संरक्षणको अनुभूति गर्न पाउनुपर्छ । यसो गर्दा सिंगो देशमा नै समकालीन नेपाली राजनीतिमा तपाईंको हाराहारीको अर्को कोही प्रतिस्पर्धी नेतृत्व छैन भन्ने कुरालाई पनि विशेषरूपमा मनन गर्न जरुरी छ । तर, पूर्वराष्ट्रपति वा पार्टीको नेतृत्वपंक्तिका हरेक व्यक्तिको व्यवस्थापन र परिचालनको मुख्य जिम्मेवारी पनि तपाईंकै हो । यो गुरुत्तर जिम्मेवारीलाई बहन गरेर नै यस पार्टीलाई मिसन- ८४ मा राष्ट्रको प्रमुख एवं निर्णायक शक्तिका रुपमा स्थापित गर्न सम्भव हुनेछ । त्यसनिम्ति एकजुट भएर अघि बढौं ।
(एमाले पोलिटव्युरो सदस्य सूर्य थापाले ३ साउन २०८२ मा पेश गरेको प्रस्तावको सम्पादित अंश)

Leave a Reply