सुरेन्द्र पाण्डेले स्टालिन र ख्रुश्चेभको प्रसंग पूरा नगर्दै एमाले बैठकमा किन भयो होहल्ला ?

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा समापनको बेला केहीबेर होहल्ला भएको छ । होहल्ला भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा रोक्ने निर्णय सुनाउँदा होइन, त्यसको विपक्षमा बोल्नेहरूका विरुद्धमा भएको हो ।

बैठकका एक सहभागीका अनुसार विद्यालाई रोक्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले सुनाउँदा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उठेर असहमति जनाएका थिए ।

विद्या भण्डारी पक्षधर भनेर चिनिएका अरु सदस्य भने चुपचाप लागेका थिए, किनकी यो हुन्छ भन्ने उनीहरूलाई थाहा थियो । उनीहरूलाई यो पनि थाहा थियो कि, विरोध गर्दा अध्यक्ष ओलीको निशानामा परिन्छ ।

समापनअघि असहमत उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई ओलीले ५ मिनेट बोल्न दिएका थिए । अर्का उपाध्यक्ष ज्ञवालीलाई पनि बोल्न दिइयो । दुवैले विद्या भण्डारीलाई सदस्यताबाटै रोक्ने कुराले गलत सन्देश जाने र पार्टीलाई ठूलो क्षति हुने भन्दै थप छलफल गर्न अध्यक्षलाई नै सुझाव दिएका थिए ।

सोही क्रममा उपाध्यक्ष पाण्डेले शोभियतकालीन रुसी कम्युनिस्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभको प्रसंग ल्याउन थालेपछि बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्यले होहल्ला गरेका थिए । पाण्डेले विनाप्रसंग ख्रुश्चेभ र स्टालिनको कुरा ल्याएको उनीहरूको भनाइ थियो ।

स्टालिनको मृत्युपछिको बैठकमा ख्रुश्चेभले स्टालिनको आलोचना गरेको प्रसंग ल्याउन थालेपछि तलबाट ‘यस्तो कुरा किन ल्याउने ? अहिले त्यो परिस्थिति हो ? ’ भन्दै हल्ला भएपछि उनले सो प्रसंगलाई पूरा नगरी रोकेको एक पोलिटब्युरो सदस्यले बताए ।

पाण्डेले पूरा गर्न नपाएको ख्रुश्चेभको प्रसंग भने इतिहासमा बेला बेला चर्चा हुने गर्छ । त्यो प्रसंगको नेपालीकरण यस्तो छ,

सोभियत संघका संस्थापक लेनिनको निधनपछि सन् १९२४ देखि ५३ सम्म शासन गरेका जोसेफ स्टालिनको मृत्युपछि निकिता ख्रुश्चेभ सोभियत संघको राष्ट्रपति र कम्युनिस्ट पार्टीको महासचिव भए । ख्रुश्चेभले एक दिन ठूलो भेलामा भाषण गर्दै भने- स्टालिनको निरङ्कुशता र क्रूरताको कारण रूसी कम्युनिष्ट पार्टीलाई धेरै क्षति भयो ।

दर्शकदीर्घाबाट एक श्रोताले कराउँदै भने- तिमी स्टालिनका समकालीन हौ । सँगै काम गर्दैथियौ । तर, स्टालिन भइन्जेल केही भनेनौं । अहिले स्टालिन छैनन्, अनि उसको विरोध गर्दैछौ !

ख्रुश्चेभले भने- को बोल्दै हुनुहुन्छ ? कृपया उठ्नुहोस् त । बोल्नेको अनुहार हेरौं । तर, ती व्यक्ति उठेनन् । आफ्नो नाम पनि बताएनन् । गुपचुप रहे ।

ख्रुश्चेभले भने- तिमी अहिले किन चुप बस्यौ ? हो, तिमी अहिले चुप भएजस्तै त्यसबेला मैले चुप लाग्नु परेको थियो ।

पाण्डे र ज्ञवालीले विद्यालाई रोक्ने र सदस्यताबाटै बन्चित गर्ने निर्णयले ठूलो क्षति हुने दोहोर्याए पनि निर्णय भइसकेको थियो । पाण्डेले स्टालिन शैलीको पार्टी सन्चालन गरेको आशय व्यक्त गर्दै खु्रश्चेबको कुरा उठाएपछि अध्यक्ष ओली आक्रोशित भएको एक सदस्यले बताए ।

उनले स्टालिनको बुटको आवाज सुन्दा रुसी कम्युनिस्ट पार्टीका सदस्यहरु थरथर काम्ने गरेको प्रसंग उठाएपछि ओलीले आफूमाथि स्टालिन बन्न खोजेको आरोप लगाएको भन्दै रोकेका थिए । तलबाट ओलीकै पक्षमा हुटिङ भएपछि उनी रोकिएका थिए ।

मध्यरातमा समापन भएको बैठकमा यस्तो निर्णय हुन्छ भन्ने कतिपय नेतालाई पूर्वानुमान थियो । तर, धेरैले विद्या भण्डारीलाई निषेध नै गर्ने निर्णय भइहाल्छ भन्ने सोचेका थिएनन् । उनीहरू यो निर्णयबाट चिन्तित भएर निस्किए । यद्यपि तीन नेताबाहेक कसैले फरक मत दर्ज गरेनन् ।

मंगलबारको बैठकमा विद्या भण्डारीलाई निषेध गर्न नहुने पक्षमा कैलाश ढुंगेल, युवराज बास्कोटा, पार्वती रावल, शिव सुवेदी, रामलाल साहलगायतका नेताहरू उभिएका थिए । यद्यपि उनीहरूले नेतृत्वको विकल्प भने खोजेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *