कलैया । बाराज जिल्लाको डुमरवानास्थित हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष विकल्प भट्टराई पक्राउ परेका छन् । भट्टराईलाई जिल्ला प्रहरी कार्यालय बाराले जीतपुरसिमरा उपमहानगरपालिका– १६ का वडाध्यक्ष हरिदेव खरेलमाथि उनकै घरमा गई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनाको कारक भने एक विवाह दर्ताको विषय थियो ।
जीतपुरसिमरा–४ का वडासचिव झलकनाथ भट्टराईले मापदण्डविपरीत गराई दिएको विवाह दर्तापछि उत्पन्न घटनाका कारण वन समितिका अध्यक्ष पक्राउ परेको जिल्ला प्रहरी बाराले जनाएको छ ।
वडा सचिव भट्टराईले एक प्रेम विवाहको विषयमा मापदण्डविपरीत काम गरेका थिए । मकवानपुरको मनहरि गाउँपालिका घर भई जीतपुरसिमरा–१६ मा बसोबास गर्दै आएकी प्रेम प्रजाकी छोरी बबिता प्रजा र कलैया उपमहानगरपालिका–१६ निवासी धर्मजीत महतो कोइरीका छोरा रोशन कुमार कुशवाहाबीच प्रेम विवाह भएको थियो । रोशन कुशवाहाको स्थायी ठेगाना कलैया –१६ हो । विवाह दर्ता पनि त्यहीँ हुनुपर्ने हो । तर, वडासचिव भट्टराईमार्फत् जीतपुरसिमरा–४ मा विवाह दर्ता गराइयो ।
वन समितिका अध्यक्ष भट्टराई वडासचिव भट्टराईका आफ्नै हुन् । त्यसरी विवाह दर्ता हुनुमा वडाध्यक्ष खरेल दोषी भएको भन्दै वन समितिका अध्यक्ष उनीमाथि खनिएका थिए । तर, वडा सचिव भट्टराईको कार्यशैलीलाई वडाध्यक्ष खरेलले स्वीकारेका थिएनन् ।
जिल्ला प्रशासन कार्यालय, बाराले विवाह दर्ताको विषयमा गरेको अनुसन्धानबाट वडा सचिव दोषी ठहरिएका थिए ।
अनुसन्धानका क्रममा पीडित बबिता प्रजाले पाउनुपर्ने क्षतिपूर्तिको ३३ लाख रकम मध्ये १५ लाख पाउँदा १८ लाख बीचमै गायब भएको खुलेको थियो ।
विवाहपछिको समय रमाइलो भन्दा बढी तनावपूर्ण रह्यो । केटा पक्षका अभिभावकले उक्त विवाह अस्वीकार गरेपछि सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्यो । विवाहपछि उत्पन्न पारिवारिक विवाद अन्ततः जिल्ला अदालत, बारामा २०८१ साल चैत ११ गते कानुनी रूपमा सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।
सम्बन्ध विच्छेदका क्रममा बबिता प्रजाले पाउनुपर्ने क्षतिपूर्ति रकम ३३ लाख रुपैयाँबाट घटेर १५ लाखमा सीमित भयो । सोही सन्दर्भमा आर्थिक लेनदेनमा मध्यस्थकर्ताको भूमिकामा रहेका केही व्यक्तिको संलग्नता देखिएको छ । घटनाले नयाँ मोड तब लियो, जब प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले घटनाको विस्तृत जानकारी लिन वडासचिव भट्टराईलाई कलैयामा बोलाए ।
सम्बन्धित पक्षले आफू निर्दोष रहेको दाबी गरिरहे पनि विवाह दर्ता प्रक्रिया, आर्थिक लेनदेन, विचौलियाको भूमिका र अभद्र व्यवहारको मुद्दाले यो घटनालाई निकै संवेदनशील बनाएको छ । यस घटनाले स्थानीय प्रशासन, न्याय प्रणाली र स्थानीय नेतृत्वको भूमिकाप्रति समेत प्रश्न खडा गरिदिएको छ ।
हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष भट्टराई, उनका आफन्त रामचन्द्र भट्टराईलगायत व्यक्तिले बिचौलियाका रूपमा संलग्न व्यक्तिहरूको गतिविधिमा शंका गहिरिएको छ । घटनाको तहमा पुग्ने प्रयास हुँदै गर्दा विवाद निकै जटिल बन्दै गयो ।
हाल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारा दुवैले घटनाको अनुसन्धान अघि बढाएको छ । अनुसन्धानबाट दोषी प्रमाणित हुने जो–कोही माथि कडा भन्दा कडा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन् ।
यसैबीच भट्टराईले आफूमाथिको आरोप निराधार भएको बताएका छन् ।
‘यथार्थमा म वडा अध्यक्षले घर बनेको र हाल वन कार्यालयले निर्माण हुन नदिएकाले, म साझेदारी बनको अध्यक्ष भएकाले छलफलमा बोलाएर उहाँको घारमा गएको र त्यसपश्चात मलाई हातपात र गालीगलौज गरेपश्चात म ज्यान बचाइ त्यहाँबाट उम्किन सफल भएको हुँ । म पीडित क्षतिपूर्तिबारे जोडिएको छैन’, भट्टराईले भनेका छन् ।

Leave a Reply