सतुंगलबाट हराएका किशोर ‘कमेडी दरबार’ मा भेटिए, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं । भर्खर एसईई सकेका एक किशोर आज बिहानै काठमाडौंको सतुंगलबाट हराए । घरबाट निस्किएको केही समयपछि उनको मोबाइल स्वीच्ड अफ भएको थियो ।

१५ वर्षका किशोर बिहान करिब साढे ८ः१० मा घरबाट निस्किएका थिए । परिवारले उनी निस्किएको थाहा पाएनन् । केही बेरपछि फोन गर्ने प्रयास गर्दा मोबाइलको स्वीच अफ भइसकेको थियो । त्यसपछि परिवारका सदस्यहरु आत्तिए र सबैतिर सोधखोज गर्न थाले । तर केही पत्तो लागेन । त्यसपछि उनीहरु प्रहरीमा गए ।

सुरुमा थानकोट प्रहरी वृत्तमा गएर जानकारी गराइयो । घटना विवरण सुनेपछि अपहरणको आशंकामा प्रहरीले काठमाडौं महाशाखामा उजुरी दिन सुझायो । त्यसपछि उनीहरु महाशाखा पुगे । महाशाखाले पनि तत्काल प्रहरी परिचालन गर्यो ।

महाशाखामा कार्यरत सई राजन खड्कासहितको टोली अनुसन्धानका लागि सुरुमा बालकको घरमा पुग्यो । त्यहाँ वरिपरिको सीसीटीभी फुटेजहरु हेरिए । परिवारका सदस्यहरुले बालकले केही दिनदेखि कमेडी दरबारको सुटिङ हेर्न जाने कुरा गरेको सुनाए । त्यसपछि महाशाखाले प्रहरीकै अर्को टोली कमेडी दरबारको सुटिङ स्थल रहेको पुतलीसडकस्थित स्टार मलमा पठायो ।

आज कमेडी दरबार सुटिङको दिन भएकाले स्टारमलमा भिडभाड थियो । किशोरका एक आफन्तसहित प्रहरी हलभित्रै प्रवेश गर्यो । र, दर्शक दिर्घामा भेटिए किशोर जो कलाकारहरुको प्रस्तुतिमा मजा लिइरहेका थिए । प्रहरीले पछाडि ढोकाबाट छिरेर किशोरलाई बाहिर निकाल्यो । अनि आफन्तले उनलाई लिएर हिँडे ।

किशोरले आफू कमेडी दरबार हेर्न आएकाले मोबाइल स्वीच्ड अफ गरेको बताएका छन् । प्रहरीले मोबाइलको ट्रयाकिङ गर्दा अन्तिम लोकेसन सतुंगल नै देखाएको थियो ।

काठमाडौं महाशाखाका प्रहरी सई राजन खड्काले परिवारजनले बालक हराएको उजुरी लिएर आएपछि खोजतलास गरिएको बताए । घटनामा बालकमाथि अपहरणजन्य कुनै पनि क्रियाकलाप नपाइएको उनको भनाइ छ ।

पछिल्लो समय कमेडी दरबार सर्वाधिक लोकप्रिय रियालिटी शोमा पर्छ । प्रत्येक हप्ताको मंगलबार कमेडी दरबारको सुटिङ हेर्न बाक्लै भिड लाग्ने गरेको छ । हेर्न आउने दर्शकलाई कुनै पनि शुल्क लिने गरिएको छैन । पछिल्लो समयमा भिड थाम्न गाह्रो परिरहेको निर्माण पक्ष बताउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *