क्यानको बोर्ड बैठक बोलाइयो, एनपीएलको हिसाबकिताब पेश हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक यसै महिना बस्ने भएको छ । अध्यक्ष चतुरबहादुर चन्दसितको परामर्शमा सचिव पारस खड्काले साउन १५ गतेका लागि बोर्ड बैठक डाकेका हुन् ।

बोर्ड वैठकमा गत वर्ष आयोजित नेपाल प्रिमियर लिगको आम्दानी–खर्चको प्रतिवेदन पेस गरिने क्यान स्रोतले बतायो । क्यानभित्रको असन्तुष्ट पक्षले नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगरिएको भन्दै नेतृत्वको आलोचना गरिरहेको थियो । बोर्ड वैठकबाट पारित गरेसँगै पत्रकार सम्मेलनमार्फत सबै हिसाब सार्वजनिक गर्ने क्यानको तयारी छ ।

क्यानले गत वर्ष एनपीएलको पहिलो संस्करण आयोजना गरेको थियो, जसको नेतृत्व सचिव पारस खड्काले गरेका थिए । एनपीएलमा क्यान नाफामा रहेको उनले बताएका छन् । यद्यपि, यसको विस्तृत विवरण भने बोर्ड वैठकमै प्रस्तुत गर्ने उनको भनाइ छ ।

बोर्ड वैठक बोलाइएसँगै असन्तुष्ट पक्ष भने आफ्नै रणनीति बनाउन जुटेका छन् । बोर्ड वैठक बहिस्कार गर्ने वा वैठकमा उपस्थित भएर पनि हस्ताक्षर नगर्नेसम्मका विकल्पमा छलफल भइरहेको स्रोत बताउँछ । क्यानका अध्यक्ष चन्द र सचिवले भने सदस्यहरुलाई बोर्ड वैठकमा भाग लिएर वैधानिक तरिकाले आफ्नो कुरा राख्न आग्रह गरेका छन् ।

बोर्ड वैठकका एजेन्डाहरु तय हुन बाँकी रहेको प्रवक्ता छुम्बी लामाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *