काठमाडौं । यही साउन १३ गते ३१ औँ कार्गो दिवस मनाइने भएको छ । नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको हायात रिजेन्सी होटलमा कार्गो दिवस मनाउने लागेको जानकारी दिएको हो ।
३१ औँ कार्गो दिवसको संयोजक समेत रहेका नेफाका वरिष्ठ उपाध्यक्ष नरेश कुमार अग्रवालका अनुसार संघबाट प्रत्येक वर्ष २९ जुलाईको दिनलाई कार्गो दिवसको रूपमा मनाउने गरेको छ । यसैलाई निरन्तरता दिँदै नेफाले नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्य तथा विभिन्न एयरलाइन्स, व्यवसायीक संस्था तथा विभिन्न क्षेत्रको सहयोगमा यस वर्ष ३१औँ कार्गो दिवस विविध कार्यक्रम गर्दै मनाउन लागेको हो । उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथी रहने भएका छन् ।
कार्गो दिवसको अवसरमा यस क्षेत्रको विभिन्न समस्या, चुनौतीहरू तथा यसमा रहेका सम्भावनाहरूको विषयमा छलफल हुँदै आएको छ । कार्गो दिवसले व्यापारिक छलफल मात्र नभई देशको समग्र आपूर्ति शृङ्खलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा गहन विचार विमर्श गर्ने अवसर प्रदान गर्ने गरेको अग्रवालले जानकारी दिए ।
यस वर्ष मनाइने ३१ औँ संस्करणले नेपालको समग्र ढुवानी क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य राखेको छ । यस कार्यक्रममा नीति निर्माताहरूसँग संवाद, उद्योगका चुनौती र सम्भावनाहरूको पहिचान तथा आर्थिक प्राथमिकतासँग मेल खाने अन्तर्राष्ट्रिय व्यापार अभ्यासहरूबारे छलफल गरिने महासचिव हरि ढकालले बताए ।
कार्यक्रममा सरकारका विभिन्न मन्त्रालय तथा विभाग/बोर्डका उच्च अधिकारीहरूको उपस्थितिका साथ फ्रेट फारवाडिङ्ग, लोजिस्टिक्स, गोदाम व्यवस्थापन, आपूर्ति शृङ्खला लगायतका क्षेत्रका उच्च पदस्थ निर्णयकर्ता, आयात/निर्यात व्यवसाय, उत्पादन उद्योग, व्यापारिक प्रतिष्ठान तथा वाणिज्य संघ/संस्थाका प्रतिनिधिहरू सहभागी रहेको छ ।
कार्यक्रममा अन्र्तराष्ट्रियस्तरबाट समेत विमान सेवा, समुद्री ढुवानी, अन्तर्राष्ट्रिय व्यापार संस्थाहरूका प्रतिनिधिहरू तथा पर्यटन, बैंकिङ, बिमा र प्रविधि जस्ता सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थित रहने आयोजकले जनाएको छ ।
यस दिवसको अवसरमा फ्रेट फरवाडिङ्ग उद्योगको विकास, प्रवर्द्धन, सहजीकरण तथा विस्तारमा योगदान पुर्याउने कार्गो व्यवसायी, सरकारी गैर सरकारी संघ/संस्था, एयरलाइन्स तथा व्यक्तित्वहरूलाई नेफा वार्षिक अर्वाडबाट सम्मानित गरिने भएको छ । यस दिन विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएको छ । जसमा फ्रेट फरवाडिङ्ग उद्योगका चुनौती र अवसरहरूबारे छलफल, कार्यशाला, सम्मान कार्यक्रम र नेटवर्किङ अवसरहरू लगायत छन् ।

Leave a Reply