हरि भट्टराई आफ्नो टिमलाई अलपत्र पारेर मलेसिया भागेको विशाल भण्डारीको आरोप

काठमाडौं । कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी र उनको व्यापारिक साझेदार हरि भट्टराईबीचको आर्थिक विवाद सामाजिक संजालमा छताछुल्ल भइरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनीहरु दुवै आरोप प्रंत्यारोपमा भिडिरहेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कम्पनीमा साझेदारको रुपमा भित्रिएका भट्टराईले आर्थिक शोषण र मानसिक यातना दिएको अरोप लगाएका थिए । भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका छन् ।

अर्कातिर भट्टराईको अर्कै दावी छ । प्रेस विज्ञप्ती जारी गरेका उनले भण्डारीले मापसे गरेर गाडी दुर्घटना गराएको र त्यसको ५० लाख क्षतिपूर्ति कम्पनीलाई भराएपछि आफू अलग भएको बताएका छन् ।

यसैबीच भण्डारीले सामाजिक संजालमा अर्को स्टाटस लेख्दै आफ्नो टिमलाई अलपत्र पारेर भट्टराई मलेसिया भागेको दावी गरेका छन् ।
भट्टराईलाई सम्बोधन गर्दै भण्डारीले लखेका छन्, ‘तपाईंले वर्ष दिन टर्चर दिँदा म नेपाल नै बसेँ । समस्याको सामना गरेँ । कानुनी लडाइँ सुरु गरेँ । म भागिरहँदा तपाईंले लखेटको लखेट्यै गर्नुभयो । एकपटक फर्केर पलटवार गरेको, तपाईं त मलेसिया कुदिसक्नुभएछ ।’
भण्डारीले भागेर समस्याको समाधान नहुने समेत बताएका छन् ।

उनले थप लेखेका छन्, ‘हाम्रो टिमलाई यसरी अलपत्र पारेर हिँड्न, भाग्न सुहाउँछ रु व्यवहार मिलाउनु पर्दैन ?’ तर, भट्टराई भने आफू नभागेको बताउँछन् । आफूले दशकौंदेखि मलेसियामा व्यवसाय गर्दै आएको र व्यवसायकै सिलसिलामा मलेसिया आएको उनको भनाइ छ ।

भट्टराईले भने, ‘अदालतमा मुद्दा छ । अदालतले पेसी तोकेको बेला उपस्थिति भइरहेको छु । म नभए पनि मेरो प्रतिनिधि उपस्थित हुन्छ । कामको सिलसिलामा आउँदा कसरी भागेको भयो  ? यति सजिलै अदालतले भाग्न दिन्छ ?’

एक सातापछि नै आफू नेपाल फर्कने पनि उनले बताए । मुद्दा अदालतमा विचाराधीन भएको र फैसला आएपछि सबै छिनोफानो हुने भट्टराईले उल्लेख गरे ।उनले भने, ‘मुद्दा अदालतमा छ, अहिले मिडिया ट्रायल नगर्दा राम्रो हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *