कांग्रेस ‘७ भाइ’ले बुढानीलकण्ठ पुगेर उठाए सरकारमाथि प्रश्न, देउवाको जवाफ- प्रधानमन्त्रीसँग कुरा गर्छु

काठमाडौं । नेपाली कांग्रेस संस्थापन सात भाइको भेलाले एमालेसँगको सत्ता सहकार्य प्रभावकारी नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

हिजो उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेर सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्ने भनेका हुन्।

हिजो चाक्सीबारी भेलामा सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए। तर आज कोइराला र निधि कार्य व्यस्तताले गर्दा पुग्न भ्याएनन्।

बुढानीलकण्ठ पुगेका नेता श्रेष्ठले नेपाल प्रेससँग भने, ‘सरकार प्रभावकारी बन्न सकेको छैन, हाम्रा मन्त्रीहरूले पनि राम्रो काम गर्नुपर्‍यो। भ्रष्टाचार काण्डमा मन्त्रीहरू मुछिरहेका छन् तिनीहरूलाई कारबाही हुनुपर्‍यो। नियुक्तिको विषयमा पनि राम्रो सरसल्लाह भएको देखिँदैन। यी सबैको कुरामा तपाईँले प्रधानमन्त्री कुरा गर्नुस् भनेका छौँ।’

उनले यो समीकरण ०८४ को चुनावसम्म जानुपर्ने भएकाले त्यसको वातावरण बनाउनुपर्ने बताए। उनले आफूहरूले रुपन्देही ३ सहितको उपनिर्वाचन, उम्मेदवार चयनको विषयमा पनि सभापतिको ध्यानाकर्षण गराएको बताए। उनले पार्टी नेताहरू कार्यकर्ताकहाँ मात्रै नभई जनताकहाँ पनि पुग्नुपर्ने कार्यक्रम अघि सार्नुपर्नेबारे पनि ध्यानाकर्षण गराएको सुनाए।

आफूहरूको कुरा सुनेपछि सभापतिले प्रधानमन्त्री ओलीसँग सरसल्लाहमै अघि बढिरहेको जवाफ दिएको बताए। उनले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘हामी सल्लाह गरेरै अघि बढ्दैछौं। विस्तारै सुधारको काम हुँदै छ, धेरै प्रश्न उठाउँदा राम्रो सन्देश पनि जाँदैन। मैले प्रधानमन्त्रीसँग कुरा गरिरहेकै पनि छु।’

उनले उपप्रधानमन्त्री सिंहमार्फत आफूहरूले सन्देश पठाएको पनि बताए। संविधान संशोधनको विषय दुई दलबीचको सहमतिमा भएकाले त्यसलाई पनि प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *