विदेश छाडेर गाउँमा जैविक कृषिमा रमाएका ‘कुमार’

भोजपुर । कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् ।

भोजपुर नगरपालिका- ५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष बिताएका उनी व्यावसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुटेका हुन् ।

विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यावसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ, अहिले विदेश छाडेर यहाँ नै व्यावसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु’, उनले भने ।

‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यावसायिक रूपमा कृषि पेसामा जुटेको उनको भनाइ छ । राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ ।

आफ्नो बारीमा अहिले एक हजार ४०० बोट खुर्सानी लगाएको उनले जानकारी दिए । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उनले बताए ।

‘हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ, राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवारलाई राम्ररी चलाएको छु’, उनले भने ।

आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सयदेखि तीन सयमा बिक्री हुने गरेको उनले जानकारी दिए । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाण्डौँलगायत सहरमा जाने गरेको उनी बताउँछन् ।

पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उनको भनाइ छ ।

खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताए । मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उनको भनाइ छ ।

‘मैले अग्र्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु’, उनले भने, ‘मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अग्र्यानिक खेतीमा जोड दिएको हुँ ।’ करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उनले बताए ।

व्यावसायिक कृषिमा लागेका किसानलाई तालिमसँगै प्राविधिक सहयोग भएमा थप सहजता हुने उनको भनाइ छ । राज्यले किसानलाई उनीहरूको व्यावसायिक योजनाको आधारमा अनुदानसँगै आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *