एमाले बैठक- अध्यक्ष ओलीको पक्षमा बोल्न प्रतिस्पर्धा, ४९ मा ५ जना मात्र फरक सुनिए

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अर्को एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुपर्ने पक्षमा बोल्न केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीति शान्त तलाउमा ढुंगा हानेको अवस्थाको बनेको केन्द्रीय कमिटी बैठकमा देखिएको छ ।

विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेका छन् । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।

तीनवटै बैठक भोगेका एक पदाधिकारीले भने- सचिवालय बैठकमा १० घण्टासम्म छलफल हुँदा नेतृत्वको विकल्प खोज्नुपर्छ, विद्या भण्डारीलाई स्पेस दिनुपर्छ, २ कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्छ भन्ने आवाज बलियो थियो । १९ सदस्यीय सचिवालयबाट ९९ सदस्यीय पोलिटब्युरोमा पुग्दा त्यो आवाज बढ्नुपर्नेमा निकै घट्यो । ६,७ जनाबाहेक कसैले पनि बोलेनन् । अब ३ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त झनै त्यो आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा पो चलेको देखियो ।

बैठकमा सहभागी नेताहरूका अनुसार मूलतः तीनवटा विषय देखिएका छन् । एकः केपी शर्मा ओलीको विकल्प खोज्न हुँदैन र सकिँदैन । दुईः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले संस्थागत निर्णय गरेरै रोक्नुपर्छ । तीनः विद्या भण्डारीको व्यवस्थापन र सम्मानजनक सक्रियताको लागि केपी शर्मा ओलीले नै समाधान निकाल्नुपर्छ भन्ने झिनो मत ।

सोमवारको बैठकमा ४९ जना केन्द्रीय सदस्यले तीन तीन मिनेट बोलेका थिए । तीमध्ये ५ जना मात्र फरक सुनिए, अरु सबैले केपी ओलीको निरन्तरता,विधानमा प्रस्तावित विषय जस्ताको तस्तै पारित गर्ने र विद्या भण्डारीलाई रोक्नुपर्ने कुरा नै उठाए । ओलीले पनि यसपटक सबैका कुरा सुन्ने र केन्द्रीय कमिटीको आवाज कस्तो छ भनेर आफ्नो विकल्प खोज्ने नेताहरूलाई सुनाउन खोजेको देखिन्छ ।

सोमवारको बैठकमा रचना खड्का,इन्द्रलाल सापकोटा,रमेश पौडेल,अरविन्द सिंह र सीमा क्षेत्रीले मात्र अलिकति फरक ढंगले आफूलाई प्रस्तुत गरेका थिए । रचनाले विधान महाधिवेशन केन्द्रित बहस हुनुपर्नेमा नेतृत्वले अर्कै विषयमा छलफल गराएको भन्दै असन्तुष्टि जनाइन् । उनले विषयवस्तुमा प्रवेश नै गरिनन् ।

अरविन्द सिंहले नेतृत्वमाथि प्रश्न मात्र उठाए । इन्द्रलाल सापकोटा र रमेश पौडेलले विद्या भण्डारीको विषयलाई पनि नेतृत्वले समाधान गर्नुपर्ने भन्दै अरू सदस्यहरूको भन्दा केही पृथक् शैलीमा प्रस्तुति दिएका थिए । यद्यपि कसैले पनि केपी शर्मा ओलीको विकल्प अर्को नेतृत्व आउनुपर्छ भनेनन् ।

एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी छ । आज हिजोको भन्दो तेब्बर अर्थात् करिब डेढ सय केन्द्रीय सदस्यले बोल्दैछन् ।

Comments

3 responses to “एमाले बैठक- अध्यक्ष ओलीको पक्षमा बोल्न प्रतिस्पर्धा, ४९ मा ५ जना मात्र फरक सुनिए”

  1. ksp pyl Avatar
    ksp pyl

    दलाल, गद्दारहरूको त कुरै नगरौं । पैसामा बिकेकाले त सन्तान पनि बेच्छ भन्छन् । नत्र ओलिजस्तो स्वाभिमान र सम्वृद्विका नायकको पक्षमा सबैले बोल्नुपर्छ । देशले नै बोल्नुपर्छ । ५ जना पनि बोल्छन् । नबोलेर कसको पक्षमा बोल्नु ? ओलिजस्तो नेता देशले पाउनु त हाम्रो ठूलो भाग्य हो । अब १० वर्ष ओलिलाई देश र पार्टी सुम्पिनुपर्छ । मलाई पूर्ण विश्वास छ यो देशमा आमूल परिवर्तन आउनेछ र संसारमा हामी शिर ठाडो पारेर र चिनिएर हिडन पाउँछौ । त्यसैले सबैले ओलिलाई साथ दिउ ।

    1. samir Avatar
      samir

      पुराना भ्रष्टहरुलाई पुरा बहिष्कार गर्दै २०८४ मा रबि-बालेन-हर्कलाई देशको नेतृत्व सुम्पन नेपाली जनता आतुर छन् ।

  2. Kumar rai Avatar
    Kumar rai

    Yehi parale emale ma aafno lai kakha arkolai pakha garyo vane aba aaune chunap ma kati bidroha hunxa herdai jau.emale ma yeti dherai asantusti kahile pani dekheko thiyana kharab vaneko ghamanda le variyako mahasachip shankar pokhrel hun

Leave a Reply

Your email address will not be published. Required fields are marked *