काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग रुष्ट सुनिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला केही दिनयता सक्रियता बढाएका छन् । ओली सरकारले कांग्रेससँग भएको ७ बुँदे सहमति अनुसार काम गर्न नसकेको भन्दै सार्वजनिक रूपमै चर्को आलोचनमा उत्रिएका कोइलालाको खुमलटारदेखि भंगालसम्मको दौडधुपले गठबन्धन र कांग्रेसभित्रै पनि तरङ्ग ल्याएको छ ।
कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटेलगत्तै आइतबार नै आफू निकट नेताहरूको दुई बेग्लाबेग्लै भेला राखे । कोइरालाको यो सक्रियतालाई कतिपयले नयाँ सत्ता समीकरण बनाउने कसरतको रूपमा चर्चा गरेका छन् ।
शेखरसँग खुमलटार पुगेका स्वतन्त्र सांसद अमशेरकुमार सिंहले नयाँ समीकरणको गृहकार्य भइरहेको दाबी गरेपछि धेरैका कान ठाढा भएका थिए । उनले शेखरलाई प्रधानमन्त्री बनाउने गरी छलफल अघि बढेको र सकारात्मक ढङ्गले कुराकानी भइरहेको नेपाल प्रेससँग बताएका छन् । नयाँ सरकारलाई प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव, विद्या भण्डारीसम्मको समर्थन रहने उनको भनाइ छ ।
यो विषयमा एमालेको बैठकमा पनि कुरा उठेको थियो । पोलिटब्युरो सदस्य महेश बस्नेतले भनेका थिए, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेशकुमार सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट बाक्लिने र वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्त्व सल्बलिएका छन् ।’
कोइरालाले आफू निकट नेताहरूसँग हिजो विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । कोइरालासँग भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सुनिल शर्माले तत्काले सत्ता समीकरण फेर्नेगरी आफूहरूले छलफल नगरेको बताए । तर, आफू निकटका नेताहरूलाई केन्द्र र प्रदेश सरकारबाट फिर्ता बोलाउनेबारे छलफल भएको उनको भनाइ छ ।
कोइरालाले बैठकपछि भने, ‘हाम्रा जति पनि साथीहरू केन्द्रीय स्तरमा वा प्रदेश स्तरमा मन्त्रीमण्डलमा हुनुहुन्छ, उनीहरुलाई ब्याक बोलाउने भन्नेसम्म पनि जान सक्छ । त्यसैको निम्ति एक–दुई दिन हामीलाई समय लाग्छ ।’
कोइरालाले चाहँदाखेरि संसदीय दलमा सम्मानजनक अवस्था रहेको दाबी गरेका छन् । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्ने उनको भनाइ छ ।
तर, संसदीय दलको नेता परिवर्तन गर्नको लागि तत्काल शेखरले बहुमत पुर्याउन सक्ने अवस्था भने देखिँदैन । अहिले संस्थापन इतर पक्षका नेताहरु पनि एक ठाउँमा छैन् । महामन्त्री गगन थापासँग पछिल्लो समय कोइरालाको दूरी बढेको छ । शेखर–गगन समूह एक ठाउँमा रहेको बेला दलको नेतामा भिड्दा गगनले २५ मत मात्रै पाएका थिए । उनीहरूले अहिले कम्तीमा ३५ भन्दा धेरै सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
अर्का, सांसद राजेन्द्र बजगाईँले कोइरालाले पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नराखेको जिकिर गरे । उनले हिजोको बैठकमा आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेको जानकारी दिए ।
उनले भने, ‘समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको हो । डा. शेखर कोइरालाले पार्टी फुटाउने चाहना गर्नुभएको होइन । संसद्मा उठेको भिजिट भिसा लगायतका राष्ट्रिय मुद्दामा आफ्नो फरक मत छ भन्ने अन्य दलका नेताहरूसँग कुरा राख्नुभएको हो ।’
राष्ट्रिय दलका कुनै नेताले अर्को दलका नेताहरूसँग कुरा गर्नुलाई सामान्य रूपमा लिनुपर्ने उनको मत छ ।
यता, माओवादीका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेसका नेता डा. शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावनालाई नकार्न नसकिने अभिव्यक्ति दिएका छन् ।
अहिलेको राजनीतिमा असम्भव भन्ने कुरा केही नरहेको भन्दै एक कार्यक्रममा उनले भने, ‘असम्भव भन्ने केही हुँदैन राजनीतिमा, अर्को कुनै पनि पात्र हुनसक्छ । त्यसको मुख्य कारण भनेको नेपालको राजनीतिक अस्थिरता हो । अस्थिर राजनीतिको परिणाम के आउँछ भनेर अहिले हामीले भन्नै सकिँदैन । नसुत्नुभन्दा अगाडिको स्थिति एउटा हुन्छ भने भोलि बिहानको स्थिति अर्को भइसकेको हुन्छ ।’
शेखरको असन्तुष्टि
कोइराला देशमा स्थायित्व दिनको लागि दुई ठुला दल मिल्नुपर्छ भनेर वकालत गर्नेमध्येमै पर्छन् । तर एमालेसँग मिल्दा सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने उनको अडान पहिलेदेखि थियो, जुन हालै बसेको केन्द्रीय समितिको बैठकमा पनि राखेका थिए ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति शेखरले सुरुआतदेखि नै असन्तुष्टि जनाउँदै आइरहेका छन् । एमाले आगामी चुनावको प्रतिस्पर्धी दल भएकाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको तर्क उनको छ । सरकारमा भएका मन्त्रीबाहेक अरूले एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने र एमालेबाट भएका नराम्रा काम जनतामा लानुपर्ने उनले बताउँदै आएका छन् ।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको, विद्युतको बक्यौता नउठाएको, उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको, सरकारले ल्याएको बजेट, निजामती विधेयकबाट कलिङ पिरियड हटाउने प्रयाससम्मा सेखरले असहमति राख्दै आएका छन् । उनी सरकारको मात्रै होइन पार्टीभित्रै पनि विपक्षीको भूमिका देखिन्छन् ।
नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन प्रस्तावमा उनको आपत्ति छ । एमालेका ५ सांसदले कलिङ पिरियड नराख्ने गरी संशोधन प्रस्ताव राखेर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका भएको आरोप उनले लगाएका छन् । अहिले भूमि विधेयकको विषयलाई लिएर पनि कांग्रेस र एमालेबीच असहमति बढ्दो छ ।
सरकारसँग मात्रै होइन, शेखरको पार्टी नेतृत्वसँग पनि चर्को असन्तुष्टि छ । उनले १५ औँ महाधिवेशनको मिति तोक्न पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाइरहेका छन् । सहमति बेगर आफू निकटका नेताहरूमाथि कारबाहीको डन्डा चलाएकोप्रति उनको चर्को आक्रोश छ ।
देशको पनि कार्यशैलीप्रति रुष्ट कोइराला संसदीय दलको नेता फेर्नेसम्मको आन्तरिक गृहकार्यमा रहेको उनी निकट नेताहरू स्वीकार्छन् ।
उनी निकट एक नेताले भने, ‘संख्यामा त अहिले शेरबहादुर दाइको स्पष्ट बहुमत छ । तर, प्रयास नै नगर्ने भन्ने हुँदैन । यस्ता गृहकार्य गर्दा बाहिर हल्ला गर्न आवश्यक पनि छैन । आन्तरिक खेल चलिरहेका छन्, हेरौँ कतिको सफल हुन्छ ।’
ती नेताले सरकारसँग असन्तुष्टिको विषयमा कोइरालाले प्रचण्ड र पूर्वराष्ट्रपति भण्डारीसँग कुरा गरेको स्वीकारे । कोइरालाको यो रणनीतिबाट प्रष्ट हुन्छ, उनी देउवालाई एमालेसँग भएको सहमतिअनुसार प्रधानमन्त्री बन्ने बाटो छेक्न खोज्दैछन् ।
इतर पक्षले अहिले आफूअनुकुल बनाउन जोडबल गरिरहे पनि तत्काल कांग्रेस देउवाको निर्णयभन्दा बाहिर जाने परिस्थिति छैन । सरकार ढाल्न लामो समयदेखि गृहकार्य गर्दा पनि देउवाले भाउ नदिएपछि अहिले प्रचण्डले कोइरालालाई उक्साउन केन्द्रित भएको चर्चा पनि छ ।
पछिल्ला दौडधुपको अन्तर्य
कोइरालाको पछिल्ला दौडधुपको अन्तर्य सरकार र पार्टी नेतृत्वको कार्यशैलीप्रति नै केन्द्रित रहेको उनी निकट नेता गुरुराज घिमिरे बताउँछन् । पछिल्लो समय बढेको सक्रियताबारे उनको यस्तो विश्लेषण छ ः
जनता र अन्तराष्ट्रिय जगतले हेर्दापनि अस्वभाविक लाग्ने गठबन्धन हामीले गत वर्ष ग¥यौँ । शेखर दाइले नै यो गठबन्धनको प्रस्ताव अगाडि बढाउनुभएको थियो । साना दलसँग मिलेर काम गर्दा प्रभावकारी नभएकाले यो प्रयोग गरौँ भन्नुभएको थियो ।
पार्टीभित्र कुनै सल्लाह नै नगरी शेरबहादुर दाइ र केपी ओलीबीच सहमति पनि भयो । सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ भन्ने कोइरालाको आशय थियो । सामान्यतया पहिलो पार्टी दोस्रो पार्टीको नेतृत्वको सरकारमा जाँदैन, त्यो पनि लोकतान्त्रिक पार्टी कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारमा जाने संसारकै लागि आश्चर्यजनक करा हो । नहुनु भइसकेपछि पनि मुलुक अगाडि बढ्ला भन्ने अपेक्षा राखिएको थियो । त्यही अनुसार समर्थन पनि पार्टीले ग¥यो ।
तर, एक वर्षमा उपलब्धि शून्य भयो । संविधान संशोधनको बहस भएन, सुशासनमा सुधार पनि आएन । विकासमा कुनै प्रगति भएन, सबै दललाई मिलाएर राष्ट्रिय सहमतिको सरकार गठन पनि भएन । छिमेकीसँगको सम्बन्ध सुधार पनि गर्न सकेको छैन । जनतालाई उत्साहित गर्ने कुनै काम भएन । सरकारका लागि सरकार बनेर समय कटायो, त्यसबाहेक अरू कुनै काम भएन ।
सुरुको बुँदाअनुसार एमालेको नेतृत्वमा सरकार बन्ने सहमति कार्यान्वयन भयो, त्यसपछि देउवा प्रधानमन्त्री बन्ने अर्को सहमति कार्यान्वयनको लागि कुरिरहेको मात्रै छ । अरू कुनै प्रगति भएको छैन । त्यो पनि कार्यान्वयन होला नहोला । त्यसैले शेखर दाइले सरकारको काम प्रभावकारी बनाउनुपर्छ भनेर जोड दिइराख्नुभएको छ । तर मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिरहेका छन् । यो सरकारले कुनै सन्तोषजनक काम गर्न सकेन । त्यसैले विगतको कार्यशैली सुधार गरेर गतिशील भएर काम गरौँ भन्नुभएको हो ।
अर्कोतिर पार्टीमा चुनाव भएको तीन वर्षपछि कारवाहीको कुरा अगाडि बढाइएको छ । पार्टी सभापति र अनुशासन समितिसँग भएको सहमति विपरीत, पार्टीको विधान विपरीत निर्णय गरिएको छ । त्यो पनि व्यक्ति छानिछानी बेमौसमी बाजा बजाइएको छ । बाहिर हल्ला भएजस्तो अविश्वासको प्रस्ताव ल्याएर दलको नेता हटाउने कुरा चर्को रूपमा उठेको छैन । कुनै कुरामा सुधार नआउने हो भने त्यो कुरा पनि जोडिएला । तर अहिले त्यो कुरा आएको छैन ।
‘दलको नेतामा देउवाको विकल्प छैन’
शेखरले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य गरेको चर्चाबीच आज संस्थापन पक्षका ७ नेताको बैठक बस्यो । कांग्रेसबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंहको निवासमा बसेको बैठकले यही गठबन्धनलाई ०८४ सम्म लानुपर्ने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।
उनले भने, ‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ, जानेगरी विश्वासको आधारमा काम गर्नुपर्छ ।’
यो बैठकले पनि संविधान संशोधनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री ओलीसँग कुरा गर्ने निष्कर्ष निकालेको उनले सुनाए । यस्तै, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पनि अहिले गठबन्धन र पार्टी संसदीय दलको नेता परिवर्तनको कुनै सम्भावना नरहेको दाबी गर्छन् । नेता कोइरालाको सक्रियतालाई स्वभाविक रूपमा लिन्छन् ।
उनले नेपाल प्रेससँग भने, ‘संसदीय दलको नेता अहिले सभापति देउवा हुनुहुन्छ, फेर्नको लागि अविश्वासको प्रस्ताव लैजानुप¥यो कि उहाँले राजीनामा दिनुप¥यो, दुइटैको सम्भावना छैन । शेखर दाइले पनि अहिलेसम्म सार्वजनिक रूपमा भन्नुभएको छैन । तयारी गर्न जसले पनि पाउला, तर देउवाको विकल्प छैन ।’
उनले सत्ता गठबन्धन केही नहुने भन्दै एमालेसँगको सहमति अनुसार आगामी असारमा देउवा नै प्रधानमन्त्री बन्ने जिकिर गरे ।
इतर पक्षले आपत्ति जनाएपनि पार्टी अनुशासन आयोगको कारबाही स्वभाविक भएको यादव दाबी गर्छन् ।
उनले भने, ‘२१ सय उजुरीमाथि छानबिन गरेर डेढ दर्जन जतिलाई कारबाही गरिएको छ । त्यो सकारात्मक कुरा हो, यसले अर्को अब नेताले उक्साएर अन्तर्घात गर्ने प्रवृत्तिको अन्त्य हुन्छ । यो पार्टी र कार्यकर्ताको हितमै छ ।’

Leave a Reply