काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । साङबुङले तीनकुने वृत्तमा राजेशपायलविरुद्ध उजुरी लिएर गएपछि प्रहरीले दुवैलाई राखेर हिजो मिलापत्र गराएको हो ।
दुवैले आपसमा कुरा मिलाएर सहमति गरेको तीनकुने प्रहरी वृत्तका डीएसपी हरि खतिवडाले बताए । प्रहरीमा उजुरी दर्ता नभएको उनको भनाइ छ ।
साङबुङको लिखित उजुरीमा राजेशपायलले आफूलाई अप्ठेरो पर्ने खालका क्रियाकलाप र हातपात गरेको तथा धाकधम्की दिएको भन्दै जीउज्यानको सुरक्षा माग गरिएको थियो । उनले पूर्वपतिलाई पनि प्रहरी कार्यालयमा झिकाउन माग गरेकी थिइन् । त्यसैबमोजिम प्रहरीले राजेशपायललाई बोलाएर छलफल गराएको हो । छलफलपछि दुवैले एक-अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिवद्धता जनाएका छन् ।
केही दिनअघि साङबुङ र राजेशपायलबीच विवाद भएको थियो । राजेशपायलको अनामनगरस्थित घरमा बच्चा लिन जाँदा जाँदा राजेशपायलले आफूलाई दुर्व्यवहार गरेको आरोप साङबुङले लगाएकी थिइन् । त्यसबेला पनि विवाद प्रहरीसम्म पुगेको थियो ।
राजेशपायलले भने साङबुङको आरोप अस्वीकार गर्दै आएका छन् । आफू स्वयम् पूर्वपत्नीबाट पीडित बनिरहेको उनको गुनासो छ ।
राजेशपायल र साङबुङबाट एकमात्र सन्तानका रूपमा नाबालक छोरा छन् । छोरा साङबुङसँग भए पनि उनको सबै खर्च राजेशपायलले गर्छन् । छोराकै कारणले उनीहरू बेलाबखत एक-अर्काको घरमा आउजाउ गर्ने गरेका थिए । अब भने यसरी आउजाउ नगर्ने सहमति भएको छ । छोरालाई एक-अर्काको घरबाट ल्याउनु परेमा परिवारका अन्य सदस्यलाई पठाउने समेत समझदारी दुवैले गरेका छन् ।

Leave a Reply