२ सातादेखि केरुङमा फसेका डेढ सय बढी नेपालीले गरे उद्धारको याचना (भिडिओ)

नुवाकोट । ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल-चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भयो । बाढीले चीन जोड्ने मितेरी पुल नै बगाएपछि दुई देशबीच सम्बन्ध टुट्दा चिनियाँ भूमिमा फसेका नेपालीको अहिलेसम्म उद्धार हुन सकेको छैन ।

यातायात क्षेत्रका मजदुर, सवारी चालक, सहचालकलगायतका १६० भन्दा बढी नेपाली केरुङको तानसिङमा फसिरहेका छन् । उनीहरुले उद्धारको अपिल गरेका छन् ।

‘हामीलाई यहाँ बस्न गाह्रो भएको छ, बिरामी भएका छौँ र चीन पक्षले डकुमेन्ट नभएकाले उद्धारमा नेपाल सरकारले नै चासो दिनु पर्छ भनेको छ,’ तानसिङमा रहेका ईश्वर आचार्यले भने, ‘हामी एक/दुई दिनको काम भनेर यहाँ आएका हौँ, फस्यौँ, कपडा, पैसा केही पनि छैन । सुगर, प्रेसरका औषधि पनि छुट्यो, यहाँको हावापानी र खानपान फरक भएकाले बिरामी परेका छौँ ।’

आचार्यले सोमबार र ९ दिन पहिले पनि फेसबुकमा हाम्रो उद्धारमा पहल होस् भन्दै यस्तो लेखेका छन्-

असार २४ गते ल्हेन्दे खोलामा आएको भिषण बाढीका कारण रसुवागढी र चाइना जोड्ने मितेरी पुल बगायो, सैयौँ सवारी चालक र कामदार केरुङतर्फ रोकिए । त्यसपछि सबै नेपाली दाजुभाइले हामीलाइ नेपाल लैजाने वातावरण बनाइदिन पर्‍यो भनेर जिल्ला प्रशासन, प्रहरी, स्थानीय निकाय, राजनीतिक दलका नेता सबैमा हारगुहार भयो र सान्त्वना पनि पाइयो । प्रकृया हुँदैछ, १-२ दिनमा नेपाल ल्याउने भनेर । तर आज १४-१५ दिन भयो । कुनै कुराको सुनुवाइ छैन । यता कति साथीहरु यहाँको खाना, पानी र हावापानीका कारण बिरामी छन्, कुनै साथीको परिवारलाई हस्पिटलले निको हुँदैन घर लैजानु भनेर डिस्चार्ज गरेको र घरमा साना नानीबाबु मात्र अलपत्र अवस्थामा छन्, कुनै साथीको घर पहिरोले भत्काएर बिजोग छ । यताबाट ल्हासास्थित वाणिज्य दूताबासका कर्मचारीलाई सम्पर्क गर्दा हामीबाट केही हुँदैन भन्ने जानकारी आउँछ । के नेपालीहरुले नेपाल फर्किन पाउँ भन्नु गलत थियो ? समस्यामा परेका नेपालीलाई उद्धार र नेपाल फर्काउनु राज्यको दायित्व हुँदैन ? यतिबेला कता छ परराष्ट्र, कता छ कुटनीतिक नियोग, कता छ राजदुतावास। छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यान जाओस् ।

रसुवाकै उत्तरगणका आचार्यले धेरै साथीहरु बिरामी भएको, घरपरिवारमा चिन्ता बढेको बताए । केरुङ र पाङ्सिङमा १५० बढी चालक र कैयौँ कामदारहरू र १-२ दिनका लागि घुम्न आएकाहरू अलपत्र अवस्थामा रहेको उनको भनाइ छ ।

रसुवा, कालिकाका सरोज लोप्चनले पनि उद्धारका लागि पहल गरिदिन आग्रह गरे ।

उनीहरू रहेको केरुङको तानसिङबाट नेपालपट्टिको रसुवा भन्सार ३० किलोमिटर दूरीमा छ ।

यता, रसुवाका सांसद मोहन आचार्यका स्वकीय सचिव अर्जुन पौडेलले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र सांसद आचार्यबीच केरुङमा रहेकालाई फर्काउन भइरहेको पहल, अस्थायी पुल निर्माण, मितेरी पुल पुनःनिर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायतका विषयमा छलफल भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *