काठमाडौं । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, सङ्गीत र कफी क्याफे रहेका छन् ।
पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । अझ भनौँ पोखरा पुग्ने हर कोही एक पटक लेकसाइड पुग्ने र फेवातालमा डुङ्गा सयर गर्छन् ।
अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूति गर्न पाउने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ ।
वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम उद्देश्यसहित लेसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ ।
साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुङ्गा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुनः प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् ।
नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृति प्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए ।
बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकूलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्याउनेछौ ।’
यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैँचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ ।
तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैँचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शीतलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैँचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ ।
रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ ।

Leave a Reply