एमालेको अबको अध्यक्ष को ?

‘एमालेको अबको अध्यक्ष को ?’ राजनीतिक क्षेत्रमा मात्र हैन, टोल-चोकमा पनि आजकल यही प्रश्नको वरिपरि रुमल्लिएको छ । जबकि अहिले नै यो प्रश्नमा घोत्लिनुमा कुनै सान्दर्भिकता छैन ।

नेकपा (एमाले) को नेतृत्व चयन गर्ने महाधिवेशनको मितिसम्म पनि तय भइसकेको छैन । र, कार्यकालकै आधारमा पनि अझै वर्तमान नेतृत्वको समय डेढ वर्ष बाँकी छ । दोश्रो, एमालेका अध्यक्ष केपी शर्मा ओलीले के सोचेका हुन्छन् भन्ने कुरा समकालीन राजनीतिक नेतृत्वलाई तबमात्र थाहा हुन्छ, जब ओलीले आफ्नो योजना कार्यान्वयन गरिसकेका हुन्छन् ।

मूलधारका पार्टीमध्ये बढी जनमतको प्रतिनिधित्व गरिरहेको आजको एमाले भर्खरै ठूलो भड्खालोबाट उठेको पार्टी हो । महाभारतको अभिमन्यु झैं चक्रव्युहमा फसाएर राजनीतिक रूपमा सखाप पार्न हरसम्भव प्रयास गरिएको एमालेलाई सबै चक्रव्युह तोडेर आजको स्थानमा ल्याउने नायक केपी शर्मा ओली हुन् । ओलीले आफ्नो पार्टी एमालेलाई मात्र भड्खालोबाट उतारेनन्, एमालेको पुनःउदयमार्फत् राष्ट्रियताको जगलाई समेत मजबुद बनाए ।

संविधानसभाबाट असम्भव झैँ भइसकेको संविधान निर्माणमा केपी शर्मा ओलीले नेतृत्वदायी भूमिका निभाएर ‘नेपालको संविधान २०७२’ घोषणा गराए । फलस्वरूप प्राप्त लगत्तैको नाकाबन्दीविरुद्ध सम्पूर्ण देशवासीलाई एकताबद्ध बनाएर शोकलाई शक्तिमा बदले । राष्ट्रियताको पक्षमा कठोर जित निकाले ।

विचलित मानसिकतामा पुगिसकेको नेपालीलाई ओलीले स्वप्नशील र देश निर्माणप्रति आशावादी बनाए ।राष्ट्रियताको झण्डालाई सगरमाथाको शिरमा फहराइदिए । छिमेकी मित्रराष्ट्र चीनसँग व्यापार तथा पारवहन सन्धी गरेर भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाए । देशले पटक-पटक भोगेको नाकाबन्दी भविष्यमा कहिल्यै पनि हुन नसक्ने विन्दुमा पुर्‍याए ।

देशको पक्षमा प्राप्त यो सफलताले नेपालमा अस्थिरता चाहने केही तत्वहरूबीच ओली तारो बने । तर, आफू भने देशको ‘हिरो’ बने । त्यसअघि नेपालमा जातीयताको आधारमा संघीयताको ठूलो आँधिबेहेरी सृजना गरिएको थियो ।

अहिले हाम्रो प्रधान आवश्यकता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने हो । र, यसले सुदृढ र एकताबद्ध एमालेको माग गर्दछ । यस्तो बेला ओलीलाई अप्ठ्यारो बनाउने र उनले लिएका दूरगामी योजनालाई प्रभावित बनाउने काममा कम्तीमा एमालेजन लाग्नुहुन्न ।

वास्तवमा राजनीतिक लाभ (स्वार्थ) का लागि नेपाललाई जातीय मुद्दामा अग्रसर गराउने त्यो ठूलो प्रयास भएको थियो । यसले देशलाई जातीय द्वन्द्वमा भड्काउने निश्चित थियो । चुनावमा मत संकलन गर्ने (या भड्किन नदिने) अभिप्रायले देशका ठूला राजनीतिक दलहरू र विभिन्न ‘प्रोजेक्ट’ को आशमा बौद्धिक समुदाय यस एजेण्डामा पछि पछि लागिरहेका थिए । त्यसरी राष्ट्रिय एकतालाई बिथोल्ने प्रयासविरुद्ध ओली सगरमाथा झैं उभिए । अन्ततः देशलाई उनकै लयमा हिँडाउन सफल भए ।

अझै केही अगाडि देशमा दुईथरी सेना थियो । एक अर्काविरुद्ध लडेका सेनाहरूको समानान्तर गतिविधि थियो । जित्न नसकेर सम्झौतामा आएको सेनालाई माथि पार्ने गरी ‘नागरिक सर्वोच्चता’को नाममा राष्ट्रको पक्षमा, अझ भनौं देशको संस्थापनको पक्षमा जहिल्यै पनि निस्वार्थ (जीवन समेत) योगदान गर्ने नेपाली सेनालाई तेजोबध गर्ने प्रयासविरुद्ध ओली सतिसाल झैँ उभिए । उनैको एजेण्डा बमोजिम देशमा रक्तपातविहीन ढंगले ‘नेपाली मोडेल’मा सेना समायोजन प्रक्रिया विधिवत सम्पन्न भयो ।

वाईसीएलको नाममा देशमा हत्या-हिंसाको आडमा भइरहेको लुटपाट–आतंक र भौतिक आक्रमणको डरले सबै ठूला दलका नेता तथा नागरिक समाज मौन बसिरहेको बेला ओलीकै योजना, सक्रियता र प्रत्यक्ष सहयोगमा गठन तथा परिचालन भएको युथ फोर्सले त्यसलाई तह लगायो । रक्षात्मक बरिहेको एमालेले समेत पुनःजीवन पायो ।

यी र यस्तै उदाहरणीय कामका लागि सच्चा देशभक्त नेपालीले ओलीलाई राष्ट्रियताको पहरेदार मानिरहेको अवस्था छ । नेपालमा खस्किंदै गइरहेको कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा र गति दिएकामा उनलाई कम्युनिष्ट आन्दोलनको मियो मान्ने ठूलो जमात तयार भइसक्यो । यो अकाट्य र अपरिवर्तनीय जनमत बुझेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल तत्कालीन नेकपा (माओवादी) सरकारमै रहेर पनि विपक्षी दलका नेता केपी शर्मा ओली नेतृत्वमा चुनावी तालमेल गर्न लुसुक्क आए ।

केपी ओलीकै नेम र फेममा चुनाव जितेका र समाजमा पुनःस्थापित हुन सफल भएका माओवादीका अधिकांश नेताले दुई वर्षकै अन्तरालमा त्यही ओलीविरुद्ध विषवमन मात्र गरेनन्, माधवकुमार नेपाल गुटको सानो त्यान्द्रो समाती पार्टी समेत कब्जा गरेर उनलाई पार्टीको साधारण सदस्यबाट कारवाही गर्ने अवैधानिक निर्णय गर्न पुगे । वास्तवमा ओलीको ओजसँग आत्तिएर/लोभिएर एकताको प्रक्रियामा आएको माओवादी (त्यसका केही नेता) कम्युनिष्ट एकताको नाममा नेपालमा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रको गोटी बनेको कालान्तरमा पुष्टि भयो ।

नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको प्रतिकका रूपमा स्थापित भइसकेका नेता ओलीलाई कुनै हालतमा कमजोर बनाउने काममा कम्तीमा एमालेजन लाग्नु हुन्न । यस्तो परिस्थितिमा नेकपा (एमाले)भित्र भावी अध्यक्ष को हो भन्ने मनसायले आउँदो विधान महाधिवेशनका एजेण्डामा छलफल थालिनु विडम्बनापूर्ण छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कम्युनिष्टलाई नै प्रयोग गरिएको यो वास्तवमा दोश्रो संस्करण थियो । नेकपा (एमाले)ले २०५१ सालको मध्यावधि निर्वाचनमा सबभन्दा ठूलो पार्टी बनी कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बनाइसकेको थियो । सरकारले जनताको पक्षमा युगान्तकारी काम गरी वाहवाही समेत पाईसकेको अवस्था थियो । चुनावबाटै कम्युनिष्टहरूले सरकार बनाउन सकिने र जनपक्षीय काम गर्न सकिने ज्वलन्त उदाहरणविरुद्ध रक्तपातपूर्ण आन्दोलनबाट कम्युनिष्ट शासन स्थापना गर्ने बाटो पक्रेर नेकपा (माओवादी) ले सशस्त्र युद्ध शुरु गर्नु नेपालमा कम्युनिष्ट आन्दोलनलाई विभाजित र कालान्तरमा समाप्त गराउने उद्देश्य बमोजिम चालिएको कदम थियो ।

सो पार्टीले देशमा गर्न सक्ने सबै ताण्डव देखाइसकेपछि पुनः जनताको बहुदलीय जनवादकै बाटोमा (पार्टीको दस्तावेजमा नाम अर्कै भए पनि) फर्कनुले यो कुरा स्वतः पुष्टि गरेको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ओली लगायतका नेताहरूले खेलेको भूमिका यहाँ सविस्तार लगाउनु आवश्यक छैन ।

नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलन ओलीको व्यक्तित्वसँग यसरी अन्योन्यास्रित ढंगले अन्तरघुलन भइसकेको छ कि उनको सफलता र असफलतासँग नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलन निर्भर हुने अवस्था सृजना भइसकेको छ ।

नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको प्रतिरक्षा अझैँ आरामदायी तहमा पुगिसकेको अवस्था छैन । ओली नेपालको प्रधानमन्त्री हुँदा मात्र हैन, नेपालका जो कोही नागरिक प्रधानमन्त्री हुँदा पनि नेपालमा सरकार निर्माण र सञ्चालन पूर्णतया नेपाली दल र जनताको अधिनस्थ विषय बन्ने र नेपालको विकासका एजेण्डा, आन्तरिक व्यवस्थापन तथा कुटनीतिक अभ्यासहरूमा नेपालीहरूको पूर्णतया आत्मनिर्णय गर्न सक्ने परिस्थिति सृजना गर्नुपर्नेछ ।

साथै, ओली अध्यक्ष हुँदा मात्र हैन, एमालेका कोही पनि व्यक्ति अध्यक्ष हुँदा पनि नेपालको कम्युनिष्ट आन्दोलन सुरक्षित र बाह्य प्रभावबाट मुक्त भई नेपाली जनताको माया र समर्थनमा उभिनसक्ने परिस्थिति सृजना गर्नुपर्नेछ ।

माथिका दुई अवस्था सृजना गर्न अझै केही समय (वर्ष) लाग्न सक्छ । त्यतिञ्जेलसम्म नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको प्रतिकका रूपमा स्थापित भइसकेका नेता ओलीलाई कुनै हालतमा कमजोर बनाउने काममा कम्तीमा एमालेजन लाग्नु हुन्न । यस्तो परिस्थितिमा नेकपा (एमाले)भित्र भावी अध्यक्ष को हो भन्ने मनसायले आउँदो विधान महाधिवेशनका एजेण्डामा छलफल थालिनु विडम्बनापूर्ण छ । विधान महाधिवेशनमा छलफल गर्दा नेतृत्वका बारेमा कुनै मनसाय प्रकट गरिनुहुन्न ।

अहिले नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्न चाहने तत्वहरू ओलीलाई कमजोर बनाउन लागिपरेका छन् । यसका लागि ओलीलाई योजनाबद्ध रूपमा आक्रमण गर्ने रणनीतिमा उनीहरू छन् । ओली हामी जस्तै एक मानव हुन्, अरु मानवमा भएजस्तै उनीसँग पनि केही कमजोरी होलान्, छन् । उनका साना साना कमजोरीलाई औंल्याएर शत्रुहरूले जुन आक्रमण गरिरहेका छन्, त्यसमा एमालेजन खरो ढंगले प्रतिरक्षामा उत्रिनु पर्छ । उनका केही मानवीय कमजोरी छन् भने एमालेको कमिटीगत अभ्यासबाट सुधार्न लाग्नुपर्छ । ती कमजोरीलाई देखाएर ओलीलाई बदनीयतपूर्ण ढंगले नेतृत्वबाट हटाउने कुरा कालान्तरमा देश र आन्दोलनका लागि घातक सिद्ध हुन्छ ।

एमालेलाई राष्ट्रिय महाधिवेशन गर्न हतार गर्नुपर्ने आवश्यकता पनि छैन । अरु दलहरू समय घर्केर पनि महाधिवेशन गर्न तयार नभइरहेको अवस्थामा एमालेलाई समय अगावै किन हतारिनु पर्‍यो ? विधानतः डेढ वर्ष बाँकी रहेको राष्ट्रिय महाधिवेशनलाई पार्टी विधान बमोजिम नै एक वर्ष अवधि थपेर ओलीको स्पाती नेतृत्वको एकताबद्ध एमालेले २०८४ सालका सबै निर्वाचनमा सान्दार विजयको माला पहिरिएर ११ औं राष्ट्रिय महाधिवेशन फुर्सदमा गर्ने सुविधा पनि एमालेजनलाई छ ।

ओली यो देशको सर्वकालीन प्रधानमन्त्री वा नेकपा (एमाले) को सर्वकालीन अध्यक्ष बन्ने मनशायले राजनीतिमा आएका होइनन् । उनको अद्भूत क्षमता तथा देश र जनताको पक्षमा चट्टानी अडानका कारण यस्तो परिस्थिति सिर्जना भयो ।

ओली खुल्ला किताब हो, जसको न कुनै व्यक्तिगत जीवन छ, न त कुनै व्यक्तिगत सम्पति । आफ्ना सम्पूर्ण सम्पति, जायजेथा शेष पछि सार्वजनिक सम्पति हुने गरी कानुनी व्यवस्था मिलाइसकेका छन् । उनले राज्यकै लागि राज्य वा अन्यत्रबाट किन सम्पति जोड्नुपर्‍यो ? उनी जतिको निस्वार्थ नेता (नेतामात्र हैन नागरिक पनि) पाउन असम्भव नहोला, तर गाह्रो छ ।

अहिले हाम्रो प्रधान आवश्यकता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने हो । र, यसले सुदृढ र एकताबद्ध एमालेको माग गर्दछ । यस्तो बेला ओलीलाई अप्ठ्यारो बनाउने र उनले लिएका दूरगामी योजनालाई प्रभावित बनाउने काममा कम्तीमा एमालेजन लाग्नुहुन्न ।

पंक्तिकार केपी शर्मा ओलीको प्रतिबद्ध समर्थक मात्र नभई उनको बौद्धिक क्षमता र उन्नत चेतनाको ठूलो फ्यान हो । मानव सभ्यताको अलौकिक इतिहास, नेपाली संस्कृति, संस्कार, सम्पदा, आध्यात्मिक चेतना, सर्वपक्षीय भौतिकवादी ज्ञानको एक भण्डार हो । मानवीयता र ममताको खानी हो । कुनै बालबच्चा वा ज्येष्ठ नागरिक देखिँदा-भेटिँदा उनको आँखा र औंलामा प्रदर्शित हुने ममतामयी भाव अलौकिक छ ।

ओलीको समग्र जीवन एउटा आन्दोलनको श्रृंखला हो । यसबाट बिट मारेर उनले यसअघि जीउन नसकेको/नपाएको व्यक्तिगत र ममतामयी जीवन जीउन पनि पाउनुपर्छ । उनीभित्र भएको मानवीय समवेदना, भावना र ममता प्रस्फुटन हुने उचित वातावरणको व्यवस्थापन गर्नुपर्छ । यति हुँदा हुँदै पनि उनले नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनलाई बिट मारेर हैन, उचित व्यवस्थापन गरेर यो मार्गमा लम्कनुपर्छ । यस व्यवस्थापनका लागि कति समय लाग्ने हो र कुन पात्र (हरू) माथि उनले बिट मार्ने हो, यो उनैलाई नै छोड्न दिऊँ । यसरी मात्रै एकताबद्ध एमाले र त्यसमार्फत समृद्ध नेपालको सपना पुरा गर्न सकिन्छ ।

उसो त एमालेलाई राष्ट्रिय महाधिवेशन गर्न हतार गर्नुपर्ने आवश्यकता पनि छैन । अरु दलहरू समय घर्केर पनि महाधिवेशन गर्न तयार नभइरहेको अवस्थामा एमालेलाई समय अगावै किन हतारिनु पर्‍यो ? विधानतः डेढ वर्ष बाँकी रहेको राष्ट्रिय महाधिवेशनलाई पार्टी विधान बमोजिम नै एक वर्ष अवधि थपेर ओलीको स्पाती नेतृत्वको एकताबद्ध एमालेले २०८४ सालका सबै निर्वाचनमा सान्दार विजयको माला पहिरिएर ११ औं राष्ट्रिय महाधिवेशन फुर्सदमा गर्ने सुविधा पनि एमालेजनलाई छ ।

आज बस्दै गरेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकको ओज अरु बेला भन्दा अधिक छ । सबै सदस्यहरूले देश र जनतालाई मनमा राखेर, आफ्ना निहित एजेण्डालाई कुण्ठित गरेर, उचित विचार अगाडि सार्नेछन् । सबैलाई शुभकामना !

लेखक नेपाल बौद्धिक परिषद्का महासचिव हुन् ।

Comments

2 responses to “एमालेको अबको अध्यक्ष को ?”

  1. Dev kumar ghising Avatar
    Dev kumar ghising

    अति राम्रो कुरा

  2. ksp pyl Avatar
    ksp pyl

    मेरो विचारसँग ठ्याक्कै मिल्यो । एकदम सहि विश्लेषण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *